• १३ साउन २०८१, आइतबार

कृषि एम्बुलेन्स सञ्चालनमा

blog

बडिमालिका नगरपालिका नगरप्रमुख कृषि एम्बुलेन्स उद्घाटन गर्दै । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, असार ५ गते । बाजुराको बडिमालिका नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । बाजुरामा यसअघि यातायातको सुविधा नहुँदा अधिकांश कृषकले उत्पादन गरेको तरकारी उनीहरूकै बारीमै सड्ने गर्थ्यो ।

कृषकले गाउँमा उत्पादन गरेका विभिन्न तरकारी उनीहरूको बारीबाट नै बजारसम्म पुर्‍याउनका लागि बडिमालिका नगरपालिकाले ढुवानी अनुदान सहित कृषि एम्बुलेन्स सञ्चालन गरेको हो । यसअघि गाउँमा उत्पादन गरेको तरकारीले बजार नपाउँदा कृषि गर्न मन नलागेको तर अहिले बारीबाट तरकारी बजारसम्म लैजाने गरी कृषि एम्बुलेन्सको व्यवस्था हुँदा खुसी बढेको बाजुराका किसान बताउँछन्।

बाजुराको बडिमालिका नगरपालिका रजालीका प्रेम रोकायाले यसअघि यातायातको सुविधा नहुँदा गाउँमा उत्पादन गरेका तरकारी बोकेर ल्याउनुपर्ने तर अब बारीबाट नै ढुवानी अनुदानमा एम्बुलेन्सले तरकारी बजारसम्म लैजाने भएपछि निकै खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “बडिमालिका नगरपालिकाले सञ्चालन गरेको यो कृषि एम्बुलेन्स सेवाले आफूलाई कृषि क्षेत्रमा लाग्नका लागि थप टेवा पुगेको छ ।”

कृषकको आयआर्जनमा वृद्धि गर्न कृषि क्षेत्रलाई व्यवस्थित गर्ने गरी गाउँमा विभिन्न कृषि कार्यक्रम समेत सञ्चालन गर्दै आएको बडिमालिका नगरपालिका नगर प्रमुख अम्मर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय, प्रदेश र सङ्घीय सरकारले कार्यक्रमका नाममा कृषकहरूलाई परिचय पत्र कृषि पेन्सन कार्ड दिने कुरा गरेपनि ती सबै अहिलेसम्म कार्यान्वयन भएको छैन ।” 

पछिल्लो समय बाजुराका अधिकांश कृषक कृषिबाट नै जीविकोपार्जन गर्ने गरी कृषि कर्ममा लागेका छन् । उनीहरूले बारीमा राम्रो तरकारी समेत फलाउँदै आएको भएपनि त्यो तरकारी बजारसम्म पहुँच नपुगेको उहाँको भनाइ छ । त्यसैले ती कृषकले उत्पादन गरेका तरकारी बजारसम्म लैजानका लागि नगरपालिकाले विभिन्न पहल अगाडी बढाएको हो। 

योसँगै अहिले मार्तडीमा तरकारी व्यवस्थापन गर्नेगरी कोल्ड स्टोर समेत बनाउने तयारी छ । बाजुरामा कृषिलाई व्यवस्थित गर्नका लागि यो एउटै पालिकाले मात्र सम्भव हुँदैन । यसका लागि यो आर्थिक वर्षमा अन्य पालिकासँग समेत समन्वय गर्दै जाने योजना छ ।

“बाजुरामा उत्पादन गरेको स्थानीय अर्ग्यानिक छिमेकी जिल्लाको साँफे बगर बयालगडा मङ्गलसेन लगायतका बजारसम्म लैजाने गरी अछामका केही स्थानीय तहसँग समेत समन्वय गर्दै जानेछौँ । यो वर्षदेखि कृषि एम्बुलेन्स सञ्चालन कार्यविधि ल्याउँदै छौँ । यसलाई नगरदेखि प्रत्येक वडा स्तरमा लग्छौँ । यसका लागि पहिलो पटक अनुदान भएपनि पछिल्लो पटक कृषकको पचास प्रतिशत र नगरपालिकाको पचास प्रतिशतले तरकारी ढुवानी गर्ने योजना रहेको छ”, नगर प्रमुख अम्मर खड्काले भन्नुभयो ।

यो वर्षदेखि नगरपालिकाका प्रत्येक वडामा प्रत्येक कृषकले केही न केही उत्पादन गर्नका लागि उत्प्रेरित गर्दै बाजुरामा उत्पादन हुने पुरानो रैथाले बालीलाई समेत संरक्षण गर्ने कार्यविधि नै बनाउने तयारी रहेको प्रमुख खड्काले बताउनुभयो ।