• ६ जेठ २०८१, आइतबार

खडेरीसँगै बाढीको चिन्ता

blog

अमरगढी समाचारदाता

डडेलधुरा, असार ४ गते । भित्री मधेशको चुरे क्षेत्रमा वर्षा नभएको दुई महिना भयो। चैत महिनाको तेस्रो सातापछि हालसम्म वर्षा भएको छैन। वर्षा नहुँदा चुरेका खोलानाला सबै सुक्न थालेका छन्। चुरे क्षेत्रमा बसोवास भएका आलिताल गाउँपालिका–६ र ७ नम्बर वडाका दर्जन बढी गाउँमा खानेपानीको हाहाकार मच्चिएको छ। खोलानालासमेत सुक्दा रोपाइँ गर्ने समयमा खेत बाँझै छन्। 

सिँचाइको व्यवस्था भएका गाउँमा रोपाइँ गर्न राखिएको धानको बेर्नासमेत सुक्न थालेका छन्। खोलामा नै पानी सुक्न थालेपछि सिँचाइ सुविधा भएका गाउँमासमेत बेर्ना सुक्न थालेका हुन्।

खडेरी भएका बेला वर्षा भए बाढी पहिरोले गाउँ, खेत नै बगाउने चिन्तामा स्थानीय छन्। आलिताल गाउँपालिका–७ को डायणी गाउँको तीनतिर खोला छ। एकातिर भने चुरे पहाड रहेको छ। ३२ परिवार रहेको डायणी गाउँमा सिँचाइको भने व्यवस्था गरिएको छ।

गत आर्थिक वर्षमा मात्रै ३० लाख रुपियाँ लागतमा गाउँमा पक्की नहर बनाएर सिँचाइ सुविधा पु-याइएको थियो। स्थानीय कृषकलाई वर्षाको अभावमा रोपाइँ गर्न नपाएको चिन्ता एकातिर छ भने अब वर्षा हुँदा बाढी, पहिरोले खेतबारीसँगै गाउँ नै बगाउने, पुर्ने चिन्ता पनि बढेको छ। करिब ४०० रोपनी जमिन रहेको डायणी गाउँमा तटबन्ध नहुँदा बर्सात्मा चुरेका खहरे खोलाले गाउँ, खेत नै बगाउने गरेको छ। 

बाढी नियन्त्रण गर्न ग्याबिन जालीको पर्खाललाई बर्सेनि खोलाले बगाउँदै लगेको स्थानीय पदमबहादुर साउदले बताउनुभयो। चेकड्याम बनाउन सके दीर्घकालीन हुन सक्ने उहाँले बताउनुभयो तर तारजाली नै सरोकारवाला निकायले दिन नसक्दा चेकड्याम बनाउन नसकेको उहाँले गुनासो गर्नुभयो। 

अहिले वर्षा नभएर मकैबाली सुक्न थालेको छ। धानको बेर्ना राख्न पाएका छैनौँ। उहाँले भन्नुभयो, “अब बर्षा भए खोलाको बाढीले बगाउने र पहिरोले पुर्ने चिन्ता छ। डायणीलगायत वडा नम्बर ७ का खुसार्नीजला, बलौचा, खिन्नेभाडी, ओवासहितका दर्जन बढी गाउँमा बाढी, पहिरोले बर्सेनि क्षति हुने गरेको उहाँले बताउनुभयो।” 

पन्तुरा खोलाको उद्गम स्थल कोइराली र भालु खोला भएकाले यसले परशुराम नगरपालिका–६ को सिमलखेतलगायतका गाउँमासमेत क्षति हुने गरेको उहाँले बताउनुभयो। 

डायणी गाउँमा तटबन्धको आवश्यकता छ। स्थानीय कर्णबहादुर साउदले भन्नुभयो, “यो वर्ष तटबन्ध हुन सकेन भने यो बस्ती नै धरापमा छ। स्थानीय प्रदेश र सङ्घीय सरकार मिलेर तटबन्ध लगाउने कार्य अघि बढ्नुपर्ने उहाँको माग छ। तटबन्ध लगाउन सके स्थानीय खुसी हुने उहाँले बताउनुभयो।” 

गाउँपालिका अध्यक्ष शेरसिंह मालल डायणी, खुसार्नीजला, किन्नेभाडी, बलौचाम, ओवालगायतका गाउँमा बाढी, पहिरो रोकथाम नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश र सङ्घीय सरकार समक्ष आग्रह गरिएको बताउनुभयो। 

प्रदेश सरकारसँग तटबन्धका लागि बजेट माग गरे पनि सुनुवाइ हुन नसकेको उहाँले बताउनुभयो। भौतिक पूर्वाधार विकास मन्त्रालयबाट अर्थ मन्त्रालयमा पेस भए पनि अर्थबाट तटबन्धका लागि बजेट निकासा हुन नसकेको र नयाँ बजेटमा समेत समावेश नगरिँदा स्थानीय निरास भएको उहाँको भनाइ छ।