धर्बेन्द्र झा
जनकपुरधाम, बैशाख २० गते । नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष एवम पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा (एमाले) जननिर्वाचित शासन सत्ताको पक्षमा रहेको बताउनुभएको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा शनिबारदेखि सुरु भएको एमाले धनुषाको जिल्ला अधिबेशनको उद्घाटनमा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले लोकतन्त्रमा अनिर्वाचित शासन सत्ता र वशं परम्परामा अधारित शासन सत्ता एमालेलाई कहिले पनि स्विकार नहुने बताउनुभयो ।
देश संकटमा रहेको बेलामा एमालेले नेपाली काँग्रेससँग सहकार्य गर्दैआएको इतिहास रहेको भन्दै यतिवेला पनि सरकार परिवर्तन भएर देशमा अस्थिरता भएपछि स्थायित्व दिनका लागि एमालेले नेपाली काँग्रेससँग सहकार्य गरेको बताउनुभयो ।
उहाँले २००७ सालमा राणा विरुद्ध काँग्रेससँग सहकार्य गरेको एमालेले २०१५ सालमा काँग्रेससँग प्रतिस्पर्धा गरेको बताउनुभयो । २०१७ सालमा पञ्चायती व्यवस्थाको विरुद्ध र २०४७ सालमा राजाको विरुद्धमा र २०७२ सालमा संविधान जारी गर्ने वेला काँग्रेस र एमाले विचमा सहकार्य भएको भन्दै काँगे्रस सँगको सहकार्य र प्रतिस्पर्धा दुवै कुरालाई अघि बढाउनु पर्ने अवस्था रहेको बताउनुभयो ।
कार्यक्रममा एमालेका सचिव एवम पूर्व उपप्रधानमन्त्री रघुविर महासेठले संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि विभिन्न क्षेत्रमा विकासका कामले गति लिएको भन्दै एमाले मधेशमैत्री र विकासमैत्री पार्टी रहेको बताउनुभयो ।
छसय भन्दा बढी प्रतिनिधि सहभागी रहेको अधिबेशनको बन्दसत्र आइतबार बिहान ८ वजेबाट हुनेछ । पाँच पदाअधिकारीसहित १३५ जनाको जिल्ला कार्यसमितिका लागि सुरुमा सहमतिको लागि प्रयास गरिने र सहमति नभए निर्वाचन प्रक्रियँबाट नेतृत्व चायन हुने बताइएको छ ।