काठमाडौँ, वैशाख २० गते । सरकार र आन्दोलनरत आवासीय चिकित्सकबिच सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल मेडिकल एसोसिएसनबीच आज मन्त्रालयमा चार बुँदे सहमति भएको हो ।
सहमतिपत्रमा मन्त्रालयका तर्फबाट डा भीमप्रसाद सापकोटा र एसोसिएसनका तर्फबाट महासचिव सञ्जिव तिवारीले हस्ताक्षर गर्नुभएको छ । सहमति गरेसँगै आवासीय चिकित्सकले गर्दै आएको आन्दोलन फिर्ता भएको छ ।
सहमतिअनुसार चिकित्सा शिक्षा आयोगको बैठकले गत माघ २५ गते गरेको निर्णयबमोजिम निजी मेडिकल कलेजमा चिकित्सा शिक्षा, स्नातकोत्तर तहमा अध्ययन गर्ने सबै आवासीय चिकित्सकलाई सार्वजनिक शिक्षण संस्थाले दिएसरह (स्वास्थ्य सेवाको आठौँ तह) निर्वाह भत्ता तत्काल उपलब्ध गराउन सरोकारवालालाई निकायलाई निर्देशन दिने, आवासीय चिकित्सकको बिदा, ड्युटी समय, अतिरिक्त सुविधालगायत विषयमा मन्त्रालयले कार्यदल गठन गरी १५ कार्यदिनभित्र प्रतिवेदन पेस गर्ने सहमति भएको छ ।
यस्तै, चिकित्सा शिक्षा आयोगको १८ औँ बैठकको निर्णयबमोजिम आयोगले सबै विद्यार्थीको एकीकृत रूपमा ‘म्याचिङ’ तथा भर्ना हुन पाउनेगरी व्यवस्था मिलाउन मन्त्रालयले समन्वय गर्ने र चिकित्सकहरू नियमित कार्यमा फर्कने सहमति भएको छ । छलफलमा स्वास्थ्यमन्त्री प्रदीप पौडेल पनि सहभागी हुनु भएको राससले जनाएको छ ।
आन्दोलन स्थगित
यसैबीच, नेपाल चिकित्सक संघले एक महिनादेखि चलिरहेको निजी मेडिकल कलेका आवासीय चिकित्सकको आन्दोलन स्थगित गर्ने निर्णय गरेको छ।
संघले शनिबार विज्ञप्ति निकाल्दै एक महिनादेखि चलिरहेको निजी मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलन स्थगित गर्ने निर्णय गरेको जानकारी दिएको हो।
संघले आवासीय चिकित्सकसँग शनिबार गरेको छलफलको आधारमा यस्तो निर्णय गरेको हो। मन्त्रालयले आन्दोलनरत चिकित्सका अन्य मागलाई सम्बोधन गर्न कार्यदल गठन गरेपछि परिस्थितिलाई मध्यनजर गर्दै अन्दोलनका कार्यक्रम स्थगित गरेको संघका महासचिव डा। सन्जिब तिवारीले जानकारी दिनुभयो।