गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २० गते । विख्यात कलाकार चार्ली च्याप्लिन जब स्टेजमा उत्रिन्थे, दर्शकलाई हँसाउँथे र त्यसपछि नेपथ्यको एउटा कुनामा गएर रुन्थे । दर्शकलाई हास्य कलाकार कहिल्यै रुदैनन् जस्तो लाग्छ तर दुःख र संवेदनाका क्षणमा जो पनि रुन्छन् । नेपाली हास्य कलाकारले पर्दामा दर्शक हँसाए पनि उनीहरूसँग रोएको क्षण पनि छ ।
कलाकार दीपकराज गिरी कलाकारितामा सङ्घर्ष गर्ने व्रmममा धेरै रोएको बताउनुहुन्छ । उहाँका अनुसार रेडियो नेपालमा २०५ किरा नामक प्रहसन गरेका कारण रेडियोको जागिरबाट हात धुुनु प¥यो । जागिरबाट हटाएको पत्र पाएको १० मिनेट नबित्दै हजुरआमाको निधन भएको खबर आयो । खुब रोएँ, उहाँले भन्नुभयो, “मोटरसाइकल दुर्घटनामा भाइको निधन मेरो जीवनको सबैभन्दा दुःखद क्षण थियो । यस्ता क्षणमा धेरै रोएको छु ।”
कलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’ आफू रोएको क्षण यसरी सम्झिँदै भन्नुहुन्छ, “सर्लाहीको पिपरभित्ताबाट २०५३ सालमा काठमाडाँै घुम्न आएको थिएँ । आएको दिन गोल्फुटारमा साथीकोमा बसेँ । दुई दिनपछि धरहरा र चिडियाघर हेर्न गएँ । चिडियाघर हेर्न जाँदा उतै हराएछु । कहाँ जाने, कता जाने, थाहा छैन । रात परिसकेको थियो । आफूसँग धेरै पैसा पनि थिएन । अहिले जस्तो मोबाइलको सुविधा पनि थिएन । रातभरि गाडी रोक्ने ठाउँमा रोएर बसँे ।”
कलाकार जितु नेपालले पनि रोएको क्षण सम्झिँदै भन्नुभयो, “२०६० सालतिर बुवा असाध्यै बिरामी हुनुहुन्थ्यो । म पोखरामा फिल्म ‘दुई किनारा’ को छायाङ्कनमा थिएँ । बुवालाई निकै चापेको छ, छिटो आउनु प¥यो” भनेर घरबाट फोन आयो । त्यसपछि आफू पोखराबाट काम सकेर काठमाडौँ आएँ । घर आइपुग्दा त उहाँ बितिसक्नुभएको थियो । म धेरै रोएँ ।” कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ भन्नुहुन्छ, “काठमाडौँ आउने अघिल्लो दिन बुवाले एक हजार सात सय रुपियाँ दिँदै ‘दुई हजार पनि पु-याउन सकिनँ’ भन्दै आँसु झार्नुभयो । त्यसपछि काठमाडौँ आएको पहिलो रात म खुब रोएको थिएँ ।”
हास्य कलाकारको जीवनमा सधैँ हाँसो मात्र हुँदैन । उनीहरूले हाँसोसँगै दुःख पनि बोकेर हिँडेका हुन्छन् । यहाँ जोकोहीलाई पनि लाग्न सक्छ कि हास्य कलाकारको अनुहारमा दुःख कहिले झल्किँदैन तर मानिस हो चाहे त्यो हास्य कलाकार होस् या अन्य कोही सबैको जीवनमा दुःखपीडा अवश्य हुन्छ ।