• २० वैशाख २०८२, शनिबार

थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

blog

लन्डन (बेलायत), वैशाख २० गते । लन्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको शव नेपाली विद्यार्थीको भएको पुष्टि भएको छ । लन्डन मेट्रोपोलिटन प्रहरीले औँठाछाप परीक्षण गर्दा सो शव रुकुम पश्चिम मुसीकोट नगरपालिका–१२ का २० वर्षीय सुशान ओलीको भएको पुष्टि गरेको नेपाली दूतावासका प्रवक्ता एवम् उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिनुभयो ।

गत मङ्गलबार फेला पारेको शव नेपाली  विद्यार्थीको हुनसक्ने आशङ्कामा  लन्डन  प्रहरीले औँठा छाप परीक्षण गर्दा  शव नेपाली  विद्यार्थीको भएको पुष्टि भएको हो । दूतावासले नेपालीको राहदानी विभागबाट  मगाएको औँठाछाप परीक्षण गर्दा शवसँग सो औँठा छाप मिलेको लन्डन प्रहरीलाई उद्धृत गर्दै दुवाडीले जानकारी दिनुभयो ।

प्रहरीले अहिलेसम्मको अनुसन्धानमा ओलीले आत्महत्या गरेको हुनसक्ने आशङ्का गरेको र मृतकका परिवारसँगको समन्वयमा शव व्यवस्थापनको तयारी भएको उहाँको भनाइ छ । हालसम्मको अनुसन्धान र घटनाक्रमबारे परिवारलाई खबर भइसकेको जानकारी दिँदै दुवाडीले रासससँग भन्नुभयो, “प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले मृत्यु शङ्कास्पद नरहेको बताएको छ । बाँकी कुरा थप अनुसन्धानपछि बाहिर आउला ।” 

शव परीक्षण सकिएपछि शव नेपाल लाने वा बेलायतमै अन्तिम संस्कार गर्ने भन्ने विषयमा परिवारसँग समन्यव भइरहेको उहाँले जानकारी दिनुभयो । अप्रिल २१ देखि सम्पर्कविहीन भएपछि ओली अध्ययनरत क्याम्पसका विद्यार्थीले लन्डन प्रहरी र नेपाली दूतावासलाई जानकारी गराएका थिए । रासस