• १३ साउन २०८१, आइतबार

मल पक्राउ गर्नेक्रममा किसान र प्रहरीबीच विवाद

blog

सशस्त्रले मल पक्राउ गरेपछि विवाद हुँदै । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, असार ४ गते । भारतबाट ल्याउँदै गरेको रासायनिक मल पक्राउ गर्नेक्रममा कैलालीमा किसान र सशस्त्र प्रहरीबीच विवाद भएको छ । सोमबार किसानले ल्याउँदै गरेको मल सशस्त्र प्रहरीले पक्राउ गरेपछि भजनी नगरपालिका –५ पगियापसारमा विवाद भएको हो । 

रोपाइँ सुरु भइसक्दा यहाँ मल नपाएपछि भजनी नगरपालिकाका किसान मल लिन भारत पुगेका थिए । वडा १, २ र ५ का १२ जना किसानले धानखेतीका लागि ल्याउँदै गरेको ४३ बोरा रासायनिक मल सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । 

कालापाताल र गुलरियाघाट बीओपीबाट खटेको सशस्त्र प्रहरीको टोलीले किसानले ल्याउँदै गरेको मल कौवाखेरा र डाक्टरघाटबाट नियन्त्रणमा लिएको भजनी नगरपालिकाका प्रवक्ता एवम् वडा ३ का वडा अध्यक्ष विक्रम चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ मल नपाएपछि आफ्नो प्रयोगका लागि किसानले भारतबाट मल ल्याउँँदैगर्दा सशस्त्र प्रहरीले पक्राउ गरेको छ । 

सशस्त्र प्रहरीले मल पक्राउ गरेपछि किसानले आन्दोलन सुरु गरेका छन् । सशस्त्र प्रहरी र किसानबीच मल खोसाखोस भएको थियो । प्रशासनले भने तस्करी गरेर ल्याउँदै गरेको मल पक्राउ गरेको दाबी गरेको छ । 

यसैबीच, किसानले आन्दोलन थालेपछि सशस्त्रले पक्राउ गरेको मल स्थानीय सरकारको समन्वयमा नवदुर्गा आधारभूत विद्यालय पगियापसारमा स्टोर गरिएको छ । सबैसँग छलफल र कागज गरेर मल स्टोर गरिएको प्रवक्ता चौधरीले बताउनुभयो । प्रशासनसँग सहमति  गरेर मङ्गलबार सम्बन्धित किसानलाई वितरण गर्ने उहाँले बताउनुभयो । सहमति नभएमा सो मल लिलाम गरिने जनाइएको छ । 

खेतीपातीको बेला भए पनि रासायनिक मलको चरम अभाव छ । यहाँ मल नपाएपछि सीमावर्ती क्षेत्रका किसान बाध्य भएर भारतबाट रासायनिक मल ल्याइ खेतमा प्रयोग गर्ने गरेको बताएका छन् ।