काठमाडौँ, असार २४ गते । एसिया कपमा नजिक पुगेर पनि नतिजा निकाल्न नसकेको पीडाले पछिसम्म पिरोलिरहन्छ जस्तो लाग्छ, नेपाली महिला फुटबल टिमकी नयाँ कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले नेपाल फर्केपछि प्रतिक्रिया दिनुभयो । साम्बाले भने जस्तै नेपाल एसियन महिला कपको सँघारमै पुगेर असफल बनेको थियो । फाइनलमा परिमार्जित अन्तिम खेलमा शनिबार घरेलु टोली उज्बेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि नेपालको आगामी वर्ष मार्चमा अस्ट्रेलियामा हुने महिला एसियन कपमा खेल्ने सपना चकनाचुर भएको थियो । सोही हारको पीडासहित नेपाली महिला टोली सोमबार स्वदेश फर्केको हो । यसअघि नेपालले लाओसलाई ९–० र श्रीलङ्कालाई ८–० ले पराजित गरेको थियो । साम्बाले लाओसविरुद्ध चार, श्रीलङ्काविरुद्ध तीन र उज्बेकिस्तानविरुद्ध दुई गोल गर्नुभएको थियो ।
यद्यपि एसियन कपमा खेल्ने अभियान असफल हुँदा साम्बाका साथै नेपाली टोलीकै सानदार प्रदर्शन छायामा प¥यो । यस पटक साम्बालाई पहिलो पटक राष्ट्रिय टिमको नेतृत्व गर्ने जिम्मेवारी दिइएको थियो । साम्बा प्रत्येक खेलमा एक उदाहरणीय र प्रेरणादायी कप्तानका रूपमा प्रस्तुत पनि हुनुभयो ।
“निकै नजिक पुगेर पनि टाढा पुगेको क्षण छ । हाम्रा लागि यो जस्तो ठुलो प्रतियोगिता थिएन । ठुलो अवसर थियो । छनोट हुन सकेनौँ तर हामीले यस अवसरलाई सही सदुपयोग ग¥यौँ जस्तो लाग्छ । यस प्रतियोगिताले नेपाली फुटबल कता जान्छ भन्ने तस्बिर स्पष्ट देखाएको छ,” साम्बाले भन्नुभयो ।
सुरुमा अत्तालियौँ
उज्बेकिस्तान जस्ता बलियो टिमलाई उसकै मैदान र समर्थकबिच सानदार पुनरागमनसहित ३–३ ले रोकेपछि नेपाल फुटबलको स्तर अब माथि उठिसकेको छ भन्नेतर्फ साम्बाले सङ्केत गर्नुभएको हो । सो निर्णायक खेललाई साम्बाले यसरी सम्झनुभयो, “अन्तिम खेलको सुरुको १० मिनेट हामी समालिन सकेनौँ । त्यसैले फटाफट दुई गोल बेहो¥यौँ । त्यसपछि अर्को एक गोल खाएपछि पूवार्धमै तीन गोल बेहो¥यौँ तर हामीलाई प्रशिक्षक, कोचिङ स्टाफ र बेन्चले निकै ‘मोटिभेट’ ग¥यौँ । त्यसपछि हामी उच्च मनोबलमा खेल्यौँ । खेललाई पेनाल्टी सुटआउटसम्म लग्यौँ ।”
प्रशिक्षकलाई संरक्षण गर्नु पर्छ
नेपाल सुरुमै दुई गोलले पछाडि परेपछि उज्बेकिस्तान जस्तो टोलीसँग तीन डिफेन्ससहित आक्रामक फुटबल खेलेको थियो । साम्बाले पनि यस रणनीतिका लागि प्रशिक्षक प्याट्रिक डी वाइल्डको प्रशंसा गर्नुभयो । एट्याकिङ फुटबल खेलेर ३–१ ले पछाडि परेर पनि पुनरागमन ग¥यौँ । हो पेनाल्टीमा चुक्यौँ तर यसले हाम्रो अन्तिम समयसम्म हार नमान्ने ‘फाइटिङ स्पिरिट’ देखिएको छ ।
कप्तान साम्बाका अनुसार सुरुमा उज्बेकिस्तानको मौसमसँग अभ्यस्त हुन कठिन भए पनि प्रत्येक खेलमा नेपालले सुधारात्मक खेल खेलेको छ । साम्बा यसको श्रेय प्रशिक्षक वाइल्डलाई नै दिनुहुन्छ । प्रशिक्षक वाइल्डले नेपालको कमान समालेको तीन हप्तामै यस्तो नतिजा दिनु ठुलो कुरा जस्तो लाग्छ । उहाँले जस्तोसुकै टिम होस् डराएर खेल्नु हुँदैन, नेपाली टिममा क्षमता छ र त्यो क्षमता बाहिर ल्याउनु पर्छ भन्नुभयो । विगतमा अन्तर्राष्ट्रिय खेल खेल्न जाँदा एउटा डर हुन्थ्यो । त्यो डर हटाउनुभएको छ । तयारी, विश्रामलगायत सबै पक्षको राम्रो हिसाबकिताब राख्नुहुन्छ । टोलीलाई सङ्गठित बनाएर राखिएको छ । उहाँ नेपालले पाएका विदेशी प्रो लाइसेन्स कोच हुनुहुन्छ । प्रशिक्षक वाइल्डबाट खेलाडीले मात्र होइन कोचिङ स्टाफले पनि धेरै कुरा सिकेको हुनु पर्छ । उहाँ जस्तो प्रशिक्षकलाई एन्फाले संरक्षण गर्नु पर्छ । यस्तो हुन सकेमा नेपाली महिला फुटबलको भविष्य अझ उजागर देखेको छु ।
कप्तानको जिम्मेवारीमा खुसी
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी एघारौँ कप्तान बनेपछि साम्बाले खुसी व्यक्त गर्नुभएको छ । १०÷११ वर्ष राष्ट्रिय टिमबाट खेलिसकेपछि पाएको कप्तान पदले खुसी छु तर सुरुमा चुनौती थियो । विवाद आउँदा मलाई छुट्टै दबाब पनि प¥यो । अहिले टोली एकजुट छ । हामीले जसरी खेल्यौँ र जुन नतिजा दियौँ, त्यसैले पनि यो कुरा प्रमाणित गर्छ । आफ्नो फरक भूमिकामा अलि दबाब पनि लिएँ, साम्बा भन्नुहुन्छ । सात वर्ष टोलीको नेतृत्व गर्नुभएकी एन्जिला तुम्बापो सुब्बाको स्थानमा साम्बालाई कप्तान बनाइएको थियो तर लाओसविरुद्धको पहिलो खेलमा एन्फाले सार्वजनिक गरेको प्लेइङ एघारमा कप्तानमा रेनुका नगरकोटीको नाम थियो तर मैदानमा आउँदा साम्बाको पाखुरामा आर्म ब्यान्ड थियो । साम्बालाई नयाँ कप्तान बनाउनमा पनि प्रशिक्षक वाइल्डकै ठुलो हात रहेको बताइएको छ ।
विभागीय टिमलाई श्रेय
कप्तान साम्बालाई लाग्छ, नेपालमा महिला फुटबलको क्रेज मात्र होइन सो टिमसँग भरोसा र अपेक्षा पनि छ । उहाँका अनुसार त्यसैले पनि मोफसलमा महिला गोल्डकप प्रतियोगिता बढ्दो छ तर एन्फाले घरेलु शीर्ष लिग अहिले पनि व्यवस्थित गर्न नसकेकोमा भने साम्बाको दुःखेसो छ । उहाँलाई लाग्छ विभागीय टिमले राष्ट्रिय महिला टिम धानेको छ । विभागी टिम नभएको भए राष्ट्रिय महिला टिमको अस्तित्व रहँदैनथ्यो । साम्बा भन्नुहुन्छ, “प्रतियोगिता नहुँदा पनि विभागीय टोलीले फुटबल खेल्ने वातावरण बनाई राख्यो । त्यसैले अब एन्फाले पनि नयाँ योजना बनाउन जरुरी छ । महिला फुटबलको छदेखि आठ महिनाका लिग हुनु पर्छ । अझ पे्रmन्चाइ लिग हुने हो भने आगामी दुई वर्षमै नयाँ पुस्ताले अझ राम्रो नतिजा निकाल्ने छ ।”