अर्जुन काफ्ले
स्याङ्जा, मङ्सिर १० गते । फेदीखोला गाउँपालिकामा एकैपटक दुई नयाँ झोलुङ्गे पुल निर्माण गरिएको छ । फेदीखोला गाउँपालिका –२ का लामाचौर–स्थानचौर र लामाचौर–चनौटे जोड्ने दुई झोलुङ्गे पुल निर्माण भएका हुन् ।
नेपाल सरकारको क्षेत्रगत झोलुङ्गे पुल कार्यक्रमअन्तर्गत फेदीखोला गाउँपालिकाले अन्धा अन्धी सामुदायिक विकास केन्द्र स्याङ्गजाको सामाजिक र प्राविधिक सहयोग तथा उपभोक्ता समितिको नेतृत्वमा पुल निर्माणमा भएको हो ।
लामाचौर–चनौटे जोड्ने ९० मिटरको ७५ लाख ४३ हजार एक सय ७० रुपियाँ ३४ पैसा र लामाचौर–स्थानचौर जोड्ने ३२ मिटरको ट्रस पुल ३३ लाख ४८ हजार २०५ रुपियाँ ६३ पैसाको लागतमा निर्माण गरिएको हो ।
पुलहरुमा सङ्घीय सरकारको ८५ प्रतिशत, पालिकाको १३ प्रतिशत र उपभोक्ताको दुई प्रतिशत श्रमदानमा पुल बनेको हो । लामाचौर–चनौटे पुलबाट एक हजार २६ जना र लामाचौर–स्थानचौरबाट ७७० जना जनसङ्ख्या लाभान्वित भएको अन्धा अन्धी सामुदायिक विकास केन्द्रका कार्यालय प्रमुख एक नारायण सापकोटाले बताउनुभयो ।
स्थानीय विकासमा जनसहभागितालाई मुख्य आधार बनाएर पुल निर्माण गरेको बताउदै गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीलेकेवल संरचना निर्माणको प्रतिवद्धता पूरा भएको दिन मात्र होइन, स्थानीयको आशा र अपेक्षा पूरा भएको बताउनुभयो ।
एक जुटता भए विकटता निकटतामा रुपान्तरण हुने बताउदै सुवेदीले गाउँपालिकामा दुबै पुल बनेसँगै स्थानीयलाई आवत जावतमा सहज भएको बताउनुभयो ।
पुलहरूको नियमित अनुगमन र मर्मतका लागि पालिकाले लामाचौर–स्थानचौर ट्रस पुलका लागि गंगाप्रसाद गौतम संयोजकत्वमा पाँच सदस्यीय समिति र लामाचौर–चनौटे सस्पेन्सन बृजका लागि इमानसिंह गोदार संयोजकत्वमा सात सदस्यीय समिति बनाएको छ ।