• २५ असोज २०८२, शनिबार

ब्याटिङ, बलिङ र फिल्डिङमा सुधार आवश्यक

blog

काठमाडौँ, असोज २५ गते । नेपाली महिला क्रिकेट टिम तीन महिनापछि टी–२० महिला विश्वकपको ग्लोबल क्वालिफायर पार गरेर इतिहास बनाउने सपना देख्दै छ । नेपाली महिला क्रिकेटले पहिलो पटक टी–२० महिला विश्वकपको ग्लोबल क्वालिफायर खेल्न लागेको हो । थाइल्यान्डमा गत जेठमा भएको एसिया छनोट परेर नेपालले महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा पुगेर इतिहास बनाएको थियो ।

ग्लोबल छनोट प्रतियोगिता नेपालमै हुँदै छ । त्यसैले पनि नेपाली महिला क्रिकेटले पहिलो पटक विश्वकप खेल्ने यथार्थपरक देखिन्छ । सोही विश्वकपमा खेल्ने अभियानस्वरूप नेपाल महिला क्रिकेट टिमको तयारी पनि सुरु भइसकेको छ । यस क्रममा नेपाल मलेसियासँगको पाँच खेलको टी–२० शृङ्खलामा सहभागी भएको थियो । मलेसियालाई उसकै मैदानमा ३–२ ले हराएर नेपालले सकारात्मक सुरुवात पनि गरेको छ ।

त्यसैले नेपाली महिला टिम बिहीबार अबेर राति ट्रफीसहित स्वदेश फर्कंदा सबैले ग्लोबल क्वालिफायरकै विषयमा केन्द्रित भएर प्रतिक्रिया दिए । प्रशिक्षक मनोज कटुवालले मलेसियासँगको शृङ्खला फलदायी भएको बताउनुभयो । यद्यपि उहाँको ध्यान तीन महिनापछि हुने ग्लोबल क्वालिफायरमा छ । उहाँले भन्नुभयो, “विश्वकपको ग्लोबल क्वालिफायर पार गर्नु छ भने क्रिकेटका तीन पक्ष ब्याटिङ, बलिङ र फिल्डिङ तिनै पक्षमा धेरै सुधार गर्नु पर्छ । इन्दु, रुविना र पूजाबाहेक अन्य सबैले ब्याटिङमा सुधार गर्नु पर्छ । बलिङमा पनि म सन्तुष्ट छैन । अतिरिक्त धेरै गयो, लाइन्थ लेन्थमा बलिङमा भएन । फिटनेसमा पनि ध्यान दिनु पर्छ ।” विश्वकपमा पुग्न अब राम्ररी योजना बनाएर अघि बढ्नु जरुरी छ । 

हामीले जित्नेभन्दा हामीलाई जित्ने टिमसँगको शृङ्खला भयो भने राम्रो हुन्छ । भारतमा तयारी गर्ने कुरा भइरहेको छ । सो भ्रमणले पक्कै राम्रो हुने छ । प्रशिक्षक कटुवालले घरेलु मैदानमा खेल्ने भएकाले ग्लोबल क्वालिफायरमा नेपाललाई फाइदा गर्ने बताउनुभयो । उहाँका अनुसार यसअघि नेदरल्यान्ड्स र थाइल्यान्डबिचको त्रिदेशीय शृङ्खलामा घरेलु मैदानमा राम्रो गरेकाले नेपालबाट अपेक्षा गर्न सकिन्छ ।

ग्लोबल छनोटमा नेपाललगायत आयरल्यान्ड, स्कटल्यान्ड, नेदरल्यान्ड्स, थाइल्यान्ड, अमेरिका, जिम्बाब्वे, बङ्गलादेश, नामिबिया र पपुवा न्युगिनी सहभागी छन् । यीमध्ये शीर्ष स्थानमा रहने चार टिम टी–२० महिला विश्वकपको अर्को संस्करणमा चयन हुने छन् ।

नेपालकी कप्तान इन्दु वर्माले पनि मलेसियासँगको शृङ्खलामा फिल्डिङ र फिटनेसमा केही चुकेको बताउनुभयो । “यस्तो कमजोरी ग्लोबल क्वालिफायरमा दोहोरिनु हुँदैन । एसिया छनोटपछि केही खेल थिएन । मलेसिया भ्रमणमा एकै पटक प्रतिस्पर्धात्मक म्याच खेलेका हौँ । त्यसैले मलेसियाको भ्रमण हाम्रा लागि राम्रो भएको छ । ग्लोबल क्वालिफायरका लागि भारत जाने कुरा छ । खेलाडीले एक्सपोजर पाउने छ । 

त्यसैले पनि सुधार आउनेमा म विश्वस्त छु,” उहाँले भन्नुभयो । मलेसियाविरुद्धको खेलमा इन्दु एक हजार रनको कोसेढुङ्गा छुने नेपालका पहिलो खेलाडी पनि बन्नुभएको थियो । उहाँले महिला क्रिकेटमा धेरै अन्तर्राष्ट्रिय खेल नहुने भएकाले यस्तो कोसेढुङ्गालले अरूलाई पनि प्रेरित गर्छ भन्नुभयो ।

छ महिला क्रिकेटर मलेसियाली क्लबमा आबद्ध

नेपालका छ महिला क्रिकेटरले मलेसियामा हुने एमसिए वुमन्स इन्टरस्टेट टी–२० च्याम्पियनसिपमा खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार मलेसियन क्रिकेट सङ्घको आयोजनामा यही अक्टोबर १८ देखि २८ सम्म क्वालालम्पुरमा हुने प्रतियोगितामा सीता रानामगर, कविता जोशी, राजमती ऐरी, रुविना क्षेत्री, पूजा महतो र कविता कुँवरले खेल्नुहुने छ ।

सीता, कविता जोशी र राजमतीले सेलाङ्गर क्रिकेट एसोसिएसन तथा रुविना, पूजा र कविता कुँवर  सरावक क्रिकेट एसोसिएसनमा आबद्ध हुनुभएको हो । सो प्रतियोगिता खेल्नुपर्ने भएकाले केही खेलाडी बिहीबार राति आफ्नो टिमसँग नेपाल फर्केनन् । यसअघि नेपाली महिला टोलीले मलेसियामै सुपर वुमन सिरिजमा पनि सहभागिता जनाएका थिए । सो प्रतियोगितामा नेपालका सबै खेलाडीले पाँच फरक फरक टिमबाट खेलेका थिए ।