प्रवीण कुमार शर्मा
रौतहट, मङ्सिर ९ गते । रौतहटको वृन्दावन नगरपालिका–९, भुसाहामा एक महिलाको शव फेला परेको छ । वृन्दावन–९, भुसाहाका शेख आदिलकी २५ वर्षीया श्रीमती तरीमा खातुनलाई सोमबार राति हत्या गरेर आफ्नै घरको भुस राख्ने स्थानमा खाडल खनी गाडेको अवस्थामा प्रहरीले फेला पारेको छ ।
मङ्गलबार बिहान घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली घटनास्थल पुग्दा खातुनको शव पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीका अनुसार खातुनको दाहिने खुट्टामा गहिरो चोट लागेको र टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अनुमान गरिएको छ । घटनास्थलबाट प्रहरीले एक चक्कु समेत बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मृतकका श्रीमान् शेख आदिल वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा हुनुहुन्छ ।
घटनापछि खातुनका ससुरा शेख अलि मोहम्मदसहित घरका सबै सदस्य खातुनकी डेढ वर्षीय छोरा मोहम्मद आरिफलाई लिएर फरार रहेको प्रहरीले जनाएको छ ।
खातुनको शव पोस्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ । फरार परिवारजनको खोजी तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।