• ६ जेठ २०८१, आइतबार

बयालपाटा अस्पतालको बजेट रोकिएको छैन : मुख्यमन्त्री शाह

blog

कार्यक्रममा सहभागी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ।

प्रकाशविक्रम शाह

धनगढी, असार २ गते। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अछामको बयालपाटा अस्पतालका लागि बजेट विनियोजन गरिएको बताउनुभएको छ। नमुना अस्पतालका रूपमा सञ्चालित सो अस्पतालमा बजेट छुट्याइएन भनेर सामाजिक सञ्जालमा आक्रोश पोखिएपछि मुख्यमन्त्री शाहको प्रतिक्रिया आएको हो।

शनिबार कञ्चनपुरको बेलौरी नगरपालिकामा थारु जातिमा देखिने सिकलसेल एनिमिया र थालेसिमिया रोगको पहिचान र निदानलाई प्रभावकारी कार्यान्वयन, नियन्त्रणका लागि स्थानीय तहसँगको समन्वयमा निःशुल्क शिविरको उद्घाटनका क्रममा उहाँले विगतमा झैँ बयालपाटा अस्पतालमा बजेट छुट्याइएको बताउनुभयो ।

‘‘प्रदेश सभामा बजेट सार्वजनिक गर्दा केही दुबिधा भएको छ’’,  उहाँले भन्नुभयो, ‘‘बयालपाटा अस्पतालका लागि अघिल्लो वर्ष प्रदेश सरकारले दिएको सुविधा यथावत् राखिएको छ।अघिल्लो वर्ष नौ करोड रुपियाँ सो अस्पतालका लागि छुट्याएको थियो ।’’

अस्पतालको लागि बजेट विनियोजन गर्ने कुरामा सरकार प्रष्ट रहेको भन्दै उहाँले यस्तो बताउनुभएको हो।मुख्यमन्त्री शाहले कुनै कमजोरी भएको भए समाधान गरेर अगाडि बढ्नेसमेत प्रष्ट पार्नुभएको छ।

‘‘म त्यहाँका जनतालाई यो विश्वास दिलाउन चाहन्छु कि बयालपाटा अस्पतालका बारेमा केही दुबिधा देखिएको छ।पहिला प्रदेश सरकारले दिँदै आएको सुविधामा कुनै कटौती हुने छैन।त्यसमा पनि केही कमजोरी भए समाधान गरेर हामी अगाडि बढ्ने छौँ’’, उहाँले भन्नुभयो । अस्पताललाई कुन मोडलमा सञ्चालन गर्ने भन्ने विषयमा दिगो समाधानका लागि एक महिनापछि बृहत् छलफल गर्ने उहाँको भनाइ छ।