साँफेबगर समाचारदाता
अछाम, असार २४ गते । अछामको साँफेबगर–७ स्थित सञ्चालनमा रहेको बयालपाटा अस्पतालको सञ्चालन र व्यवस्थापन सुदूरपश्चिम प्रदेश सरकारले गर्ने भएको छ । आगामी भदौ १ गतेबाट अस्पतालको सञ्चालन र व्यवस्थापन प्रदेश सरकारले गर्ने भएको हो । यसअघि न्याय हेल्थ नेपाल नामक गैरसरकारी संस्थाको व्यवस्थापन र सञ्चालनमा रहेको अस्पतालको अब प्रदेश सरकारले गर्ने भएको हो ।
आइतबार प्रदेशको अस्थायी राजधानी धनगढीस्थित सामाजिक विकास मन्त्रालयमा द्विपक्षीय हस्तान्तरण र ग्रहणसम्बन्धी सम्झौता भएपछि मन्त्रालयको सहकार्यमा न्याय हेल्थले सञ्चालन गरिरहेको ५० शøयाको बयालपाटा अस्पताल अब प्रदेश सरकारले आफैँ गर्ने भएको हो । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रमको बुँदा नम्बर ६७ र बजेट वक्तव्यको बुँदा नम्बर १४५ मा बयालपाटा अस्पताल प्रदेश सरकारको मातहतमा ल्याई सञ्चालन गर्ने र सो का लागि बजेट विनियोजन गर्ने उल्लेख गरिएको थियो ।
बजेट वक्तव्यमा साउन १ देखि बयालपाटा अस्पताल आफ्नोमातहत सञ्चालन गर्ने घोषणा गरेको प्रदेश सरकारले आवश्यक तयारी नभएको भन्दै एक महिना थप व्यवस्थापन गरेर दिन न्याय हेल्थ नेपाललाई आग्रह गरेको थियो । सामाजिक विकास मन्त्रालयको आग्रहपछि न्याय हेल्थ नेपालको टिमले एक महिनाको कर्मचारीको तलब मन्त्रालयमार्फत नै कर्मचारीलाई दिने गरेर सहयोग गर्ने बताए पनि मन्त्रालयले रकम लिने कानुनी व्यवस्था नभएका कारण न्याय हेल्थलाई नै थप एक महिना अस्पताल सञ्चालन गरिदिन आग्रह गरेको थियो ।
अस्पतालले स्थापनादेखि नै सम्पूर्ण सेवा, सुविधा, औषधी, शल्यक्रिया र बिरामीका लागि खाना समेत निःशुल्क उपलब्ध गराउने देशकै एक मात्र नमुना अस्पताल हो । अस्पतालले बर्सेनि सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक लाखभन्दा बढी नागरिकलाई निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । अस्पतालले हालसम्म १५ लाखभन्दा बढी नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिसकेको छ । अस्पताललाई प्रदेश सरकारमातहतको ५० शय्याको प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गर्ने गरेर स्वामित्व हस्तान्तरण र ग्रहणसम्बन्धी १७ बुँदे सम्झौता भएको सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले जानकारी दिनुभयो ।
अस्पताल प्रदेश सरकारमातहत आइसकेपछि गठन आदेशलगायतका अन्य प्रक्रियाको काम लगत्तै सुरुवात गर्ने मन्त्री खड्काले बताउनुभयो । बयालपाटा अस्पतालको गुणस्तरीय स्वास्थ्य सेवामा कुनै पनि कमी आउन नदिने विषयमा आफू प्रतिबद्ध रहेको मन्त्री खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “यो केवल प्रशासनिक हस्तान्तरण होइन, प्रदेश सरकारको स्वास्थ्य प्रणाली बलियो बनाउने दिशामा ऐतिहासिक कदम हो । सुदूरपश्चिमका नागरिकको स्वास्थ्यमा अब राज्यले प्रत्यक्ष जिम्मेवारी लिने समय आएको छ ।” प्रदेश सरकारले बयालपाटा अस्पतालको स्वामित्व ग्रहणसँगै त्यसको पूर्वाधार, जनशक्ति, सेवा गुणस्तर र संस्थागत उत्तरदायित्वलाई अझ स्पष्ट रूपले नीतिगत संरचनामा बाँध्ने तयारी गरेको छ । मन्त्री खड्काले त्यसका लागि आवश्यक मानवस्रोत, सेवा निरन्तरता तथा स्थानीय समन्वयलाई प्राथमिकतामा राखिने बताउनुभयो ।
मन्त्री खड्काले १७ वर्षदेखि निरन्तर निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा दिँदै न्याय हेल्थले यस क्षेत्रका जनताका लागि नबिर्सने गुण लगाएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । प्रचलित कानुनका आधारमा रही बयालपाटा अस्पताललाई सञ्चालन गरिने मन्त्रालयका सचिव डा. हेमराज रेग्मीले बताउनुभयो । उहाँले बयालपाटा अस्पताललाई नमुना अस्पतालकै रूपमा सञ्चालन गर्न प्रदेशले प्रयत्न गर्ने विश्वास व्यक्त गर्नुभयो ।
न्याय हेल्थ नेपालका अध्यक्ष कुन्दन दीक्षितले बयालपाटा अस्पतालका कर्मचारीको लगनशीलता र मेहनतले गुणस्तरीय स्वास्थ्य सेवा दिन सफल भएको बताउनुभयो । अस्पतालले प्रदान गर्दै आएका सेवा, सुविधा र उपचारलाई निरन्तरता दिन प्रदेश सरकारसँग आग्रह गर्दै आगामी दिनमा पनि अस्पताल प्रदेशले चलाएको हो कि न्याय हेल्थले नै हो भन्ने फरक नपर्ने गरेर सञ्चालन गर्न आग्रह गर्नुभयो । त्यहाँ १७ वर्षदेखि कार्यरत कर्मचारीलाई प्राथमिकतामा राखेर अघि बढ्न पनि उहाँले सुझाव दिनुभयो । बयालपाटा अस्पतालको उत्कृष्ट सेवाले अस्पतालले विभिन्न अवार्डसमेत प्राप्त गरेको कुरालाई स्मरण गर्दै न्याय हेल्थ नेपालका महासचिव डा. एसपी कलौनीले अस्पतालमा कार्यरत कर्मचारीको लगनशीलता, मेहनत र इमानदारिताले नै यहाँसम्म आइपुगेको बताउनुभयो ।
आगामी दिनमा समेत स्वास्थ्य सेवामा पहुँच नभएका त्यस क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा दिनका लागि हस्तान्तरण र ग्रहणको प्रव्रिmयामा प्रदेश सरकारले गम्भीर बन्नुपर्ने उहाँले बताउनुभयो । बयालपाटा अस्पताल सरोकार समितिका संयोजक तथा साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्रबहादुर कुँवरले जसरी बयालपाटा योभन्दा अघि राम्रोसँग चलिरहेको थियो, त्यसरी नै कुनै पनि सेवा सुविधा कमी नहुने गरेर सञ्चालन हुनुपर्ने माग गर्नुभयो । उहाँले बयालपाटा अस्पताल सञ्चालनका लागि आवश्यक सहयोग गर्न स्थानीय सरकार तत्पर रहेको बताउनुभयो । अस्पताल सञ्चालनको विधि, प्रक्रिया र मोडेल टुङ्गो नलागे पनि बयालपाटा अस्पताल भदौ १ गतेदेखि ५० शय्या अस्पतालका रूपमा सरकारी चिकित्सक र सरकारको दरबन्दीमा कार्यरत स्वास्थ्यका कर्मचारीमार्फत सञ्चालन हुने जनाइएको छ । प्रदेश सरकारले अस्पताल सञ्चालन सुरु गर्दा सुरुवातमा कर्मचारी भर्ना गर्दा १७ वर्षदेखि हालसम्म काम गरिरहेका बयालपाटा अस्पतालका कर्मचारीलाई नै विशेष प्राथमिकतामा राखेर सेवा दिनुपर्ने अडान कर्मचारीले राखेका छन् ।