प्रधानमन्त्री देउवासहित कांग्रेस पदाधिकारी राष्ट्रपति निवासमा
प्रधानमन्त्री सभापति शेरबहादुर देउवासहित नेपाली कांग्रेसका पदाधिकारीहरु राष्ट्रपति निवास पुग्नुभएको छ ।
चिर्पटले हिर्काएर ससूराको हत्या
चिर्पटले हिर्काएर बुहारीले ससूराको हत्या गरेकी छन् । हेलम्बु गाउँपालिका–१ गोवागाङकी ८० वर्षीया ससूरा कामीढिण्डु लामालाई बुहारी रीता तामाङले चिर्पटले हिकाएर हत्या गरेकी हुन् ।
राजमार्गका ११ होटल कारबाहीमा
धादिङको पृथ्वी राजमार्गमा सञ्चालित होटल तथा खाजा घरहरूको जिल्ला अनुगमन टोलीले अनुगमन गरेको छ । जिल्ला अनुगमन टोलीले शुक्रबार र शनिबार दुई दिनको अवधीमा १८ वटा होटल तथा खाजा घरहरूको अनुगमन गर्दा उपभोक्ता हित विपरित काम गर्ने ११ होटललाई कारबाही गरिएको घरेलु कार्यालय धादिङले जनाएको छ ।
ढकाललाई थुनामुक्त गर्न पुनः अस्वीकार
विशेष अदालतले ललिता निवास प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई थुनामुक्त गर्न पुनः अस्वीकार गरेको छ । फौजदारी कार्यविधि संहिताको दफा ७८ बमोजिम थुनामुक्तको माग लिएर ढकालले पेस गरेको निवेदनलाई अदालतले अनुमति नदिएको हो । दफा ७८ मा अभियोग प्रमाणित हुँदा हुने अधिकतम कैदको सजायभन्दा बढी अवधि थुनामा राख्न नमिल्ने व्यवस्था छ । ढकालले उक्त व्यवस्था र आफू ज्येष्ठ नागरिकसमेत भएकाले थुनामुक्त पाउँ भनी भदौ ८ गते निवेदन दिनुभएको थियो ।
उपकुलपतिलाई धम्की
“सर नमस्कार ! आजदेखि तपाईं त्रिभुवन विश्वविद्यालय नआउनुस् है । हाम्रो शान्तिपूर्ण आन्दोलन आजदेखि अशान्तिपूर्ण हुँदैछ । नत्र हामी जिम्मेवार हुने छैनौँ,” यो त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटालाई एक विद्यार्थीले मोबाइलमा पठाएको सन्देश हो । आइतबार त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उपकुलपति डा. बाँस्कोटाले आन्दोलनरत विद्यार्थी अमर्यादित बन्दै गएको बताउँदै भन्नुभयो, “हामी पढ्दा दीक्षान्त समारोहमा मात्र उपकुलपतिलाई देख्न पाउँथ्यौँ । त्यति अनुशासित हुन्थ्यौँ । अब त उपकुलपतिलाई म्यासेज पठाएर धम्क्याउन थालियो ।”
निजामती सेवा दिवस मनाइँदै
सरकारले १९औँ निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । निजामती सेवा दिवस मनाउने सन्दर्भमा भदौ १० गतेदेखि नै विभिन्न कार्यक्रम गर्न सुरु गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । भदौ २० गते सिंहदरबार परिसरमा रक्तदान तथा स्वास्थ्य शिविर सञ्चालन गर्ने, २० गते नै गोकर्णेश्वर नगरपालिकाको जगडोलमा रहेको निजामती पार्कसम्बन्धी कार्यविधिको सरोकारवालालाई जानकारी गराउने, सोही पार्कमा वृक्षरोपण गर्ने, विभिन्न ट्रेड युनियनहरूको समन्वयमा खेलकुद कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम तय भएका छन् ।
जबरालाई सोध्ने प्रश्न तयार पारिँदै
महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराउपरको बयानका क्रममा सोधिने प्रश्नावलीको तयारी थालेको छ । समितिले महाभियोग प्रस्तावमा उल्लेखित २१ विषयलाई नै मूल प्रश्न र प्रमाण सङ्कलनका क्रममा आएका विषयलाई समेत समेटेर प्रश्नावलीको मस्यौदा गरिरहेको छ । आइतबारसम्म इमेल र स्वयं उपस्थित भएर करिब दसवटा (व्यक्ति/समूहले) प्रमाण पेस गरेका छन् । ती प्रमाणलाई समेत आधार मानेर समिति सचिवालयले प्रश्नको मस्यौदा गरेको छ । सचिवालयले तयार पारेको प्रश्नावली आधार मानेर नै बयानको प्रक्रिया अघि बढ्नेछ ।
मोबाइलले बढ्यो बालविवाह
हातहातमा मोबाइल फोनको पहुँचले पुथाउत्तरगङ्गा गाउँपालिकामा अझै पनि अधिकांशले भागी बिहे गर्ने गरेका छन् । कानुनले निर्धारण गरेको बिहे गर्ने उमेरमा थुप्रै आमाबाबु बनिसकेका हुन्छन् । गाउँपालिकामा अधिकांशको १३ देखि १७ वर्ष उमेरमै बिहे भइसकेको हुन्छ । सूचना प्रविधिको पहुँचले बालविवाहको प्रवृत्ति झाँगिँदै गएको पाइएको छ । मोबाइल फोन, सामाजिक सञ्जाल आदिले यसलाई सहयोग पुगेको छ । पुथाउत्तरगङ्गा माध्यमिक विद्यालयका शिक्षक अइनश्वर पुनमगरले मोबाइल फोनमा छिटो बिहे गर्ने निर्णयमा विद्यार्थी पुग्ने गरेको बताउँदै थप्नुभयो, “फेसबुक र च्याटमा भेट हुन्छ । भागी बिहे गर्ने योजना बन्छ । त्यसैले स्कुले छोराछोरीलाई मोबाइल किनिदिने चलन हुन्जेल बालविवाह रोकिनेवाला छैन ।”
हरियाली धान खेत
सङ्खुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर ३ र ४ को सिमाना रहेको हरियाली धान खेत फाँट । खेतमै पानीको मुल निस्कने भएकोले यहाँ धान लगायतका कृषिजन्य उत्पादन राम्रो फल्छ । तस्बिर : भविन कार्की रासस
बाबुको हत्या आरोपमा छोरा पक्राउ
रेखीराम रानापाल्पा, भदौँ १२ गते । बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पाल्पाको माथागढी –४, झडेवा नेटामा दाउराको चिर्पटले हानेर छोराले बाबुको हत्या गरेको आरोप सम्बन्धमा छानबिन गर्न प्रहरीले १४ वर्षीय छोरालाई पक्राउ गरेको हो। शनिबार साँझ ६ बजेतिर छोराले रिसको आबेगमा प्रहार गरेको चिर्पटले लागेर ४५ वर्षीय तिलबहादुर दिसाको घटनास्थलमै मृत्यु भएको स्थानीयलाई उद्धृत गर्दै प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो। घटना लगत्तै स्थानीय बासिन्दाले खबर गरेपछि जिल्ला प्रहरी कार्यालयबाट पुगेर प्रहरी टोलीले आइतबारबाट अनुसन्धान थालेको छ। घटनामा संलग्न बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक थापाको भनाइ छ।
बूढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढ्छ : मन्त्री भुसाल
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले बहुउद्देश्यीय बुढीगण्डकी जलविद्युत आयोजनाको काम यही वर्ष बुढीगण्डकी विद्युत उत्पादन कम्पनी बनाएर अघि बढाउने बताउनुभएको छ ।
आयोगद्वारा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनालाई प्रतिवेदन हस्तान्तरण
मधेशी आयोगले हरितालिका तिज, चौरचन (चौठचन्द्र) र जितिया पर्वको अवसरमा संवाद तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । आयोगमा शनिबार भएको कार्यक्रममा मधेशी समुदायको चाडपर्वसम्बन्धी दुई वटा प्रतिवेदन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई बुझाएको हो ।
सुस्ताएको कुश्मालाई उठाउने ‘यान्त्रिक पुल’
पर्वतका गाउँगाउँमा मोटरबाटो पुगेको छ। उपभोग्य वस्तु सहजै गाउँमा पाइन थालेको छ। स्थानीय सरकार आएपछि प्रशासनिक कामका लागि गाउँबाट सदरमुकाम कुश्मा धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ। यहाँको व्यापार व्यवसाय फष्टाएको छ। व्यवसायी विभिन्न विकल्प खोज्दै छन्।
व्रत बसेर अटवारी पर्व मनाउँदै थारु समुदाय
तराईका भूमिपुत्र थारु समुदायमा अट्वारी पर्वको रौनक छाएको छ । यो समुदायले दुई दिनसम्म मनाउने अट्वारी पर्व आजदेखि सुरु भएको हो । पश्चिम कञ्चनपुरदेखि कैलाली, बर्दिया, बाँके, सुर्खेत, दाङका थारु समुदायका मानिसले यो पर्व धुमधामसँग मनाउने गर्छन् । पुरुष, महिला, युवायुवतीले आधा दिनसम्म निराहार व्रत बसेर अट्वारी पर्व मनाउने गरिएको पाइन्छ ।
योगमाया आयुर्वेद विश्वविद्यालयकाे जग्गा खरिद सुरु
‘योगमाया आयुर्वेद विश्वविद्यालय’ निर्माणका लागि दुई सय रोपनीभन्दा बढी जग्गा प्राप्त भएको छ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ ढुङ्गाविसौना र षडानन्द नगरपालिका–६ बट्टार क्षेत्रबाट दुई सय रोपनी नौ आना तीन पैसा दुई दाम जग्गा विश्वविद्यालयको नाममा स्थानीयले पास गरिदिएका छन् ।
मन्त्री छँदा आफ्नै खेत सिँचाइ
गण्डकी प्रदेशका पूर्वमन्त्री रामशरण बस्नेतले सरकारी स्रोतबाट आफ्नै खेतमा सिँचाइ योजना बनाउनुभएको छ। गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री रहेका बेला बस्नेतले सिरानचोक गाउँपालिका–५ जरेबरमा रहेको खेतमा भूमिगत डिप ट्युबवेल सिँचाइ आयोजना निर्माण गराउनुभएको हो। “अहिले बस्नेतलगायतले आफ्नो खेतमा मात्र पानी प्रयोग गर्नुभएको छ। हामीलाई दिने कुरा छ तर दिनुभएको छैन,” स्थानीय सुरेश बानियाँले भन्नुभयो। बस्नेतको जग्गामा बनेको उक्त आयोजनाको पानी प्रयोग गरी बस्नेतका एक आफन्तले भने माछा पालेका छन्। अन्यले पानी प्रयोग गर्न पाएका छैनन्। “हाम्रो खेत माथि छ। हामीलाई कुलो पनि छैन बरु अलि माथि बनाइदिएको भए सबैलाई हुन्थ्यो,” अर्का स्थानीय मीनबहादुर तामाङले भन्नुभयो, “यो आफ्नै लागि मात्र बनाएकोजस्तो देखिन्छ।”
थारू समुदायद्वारा अटवारी पर्व मनाइँदै
पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । सो पर्व उनीहरुका लागि तीजजस्तै हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने र आज बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा रहेको छ ।
विश्वविद्यालय लथालिङ्ग
काठमाडौँ, भदौ १२ गते । उपकुलपति र रजिष्ट्रारको द्वन्द्वका कारण नेपाल खुला विश्वविद्यालय लथालिङ्ग बनेको छ। नेपाली कांग्रेसको सिफारिसमा प्रा.डा. शिलु मानन्धर विश्वविद्यालयको उपकुलपति र नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को सिफारिसमा गोविन्दसिंह विष्ट रजिष्ट्रार नियुक्त हुनुभएको थियो। दुई फरक पार्टीको सिफारिसमा नियुक्त भएकै कारण अहिले उहाँहरूबीचको कार्यशैलीमा एकरूपता देखिएको छैन। जसको असर विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा आर्थिक क्रियाकलापमा देखिएको छ। स्थापना भएको छ वर्षको अवधिमै विश्वविद्यालय यो अवस्थामा पुग्नुलाई उपकुलपति र रजिष्ट्रार एक अर्कालाई आरोप लगाउँदै पन्छिने गर्नुभएको छ। विश्वविद्यालयका महत्वपूर्ण निकाय अहिले पदाधिकारीविहीन छ। सामाजिक शिक्षा तथा प्रविधि र व्यवस्थापन तथा कानुन सङ्काय गत वर्षको भदौदेखि डिनविहीन छ। त्यस्तै विज्ञान, स्वास्थ्य र प्रविधि सङ्कायका डिन पनि गत पुसदेखि रिक्त छ। उपकुलपति डा. मानन्धर यसअघि व्यवस्थापन तथा कानुन सङ्कायको डिन हुनुहुन्थ्यो। डिनको हैसियतमा उहाँको कार्यकाल गत भदौमा सकिएको थियो। उहाँ गत माघमा उपकुलपति नियुक्त हुनुभएको थियो। उहाँ नियुक्त हुनुअघि उपकुलपति पद पनि नौ महिनादेखि रिक्त थियो। त्यस्तै गत पुसमा विष्ट रजिष्ट्रार नियुक्त हुनुअघि उक्त पद पनि नौ महिना रिक्त थियो। अहिले विश्वविद्यालयको वेबसाइटमा तीनवटै सङ्कायमा पूर्वडिनको हैसियतमा तीन जनाको सन्देश राखिएको छ। वेबसाइटको माथिल्लो भागमा उपकुलपतिको हैसियतमा मानन्धरको सन्देश लेखिएको छ भने तल्लो भागमा पनि उहाँकै सन्देश सामाजिकशास्त्र तथा शिक्षा सङ्कायको पूर्वडिनको हैसियतमा राखिएको छ। परम्परागत शैक्षिक प्रणालीबाट उच्च शिक्षा लिन कठिन हुनेलाई अवसर दिलाउने उद्देश्यसहित सरकारले २०७३ सालमा नेपाल खुला विश्वविद्यालय स्थापना गरेको थियो तर अन्य विश्वविद्यालयमा जस्तै यहाँ पनि दलीय भागबन्डाबाट पदाधिकारी नियुक्त गर्ने चलन छ। विश्वविद्यालयमा प्राज्ञिक परिषद् गठन नभएको पनि सात महिना भइसकेको छ। विश्वविद्यालय मातहतका विषय समितिहरू पनि कार्यकाल सकिएर निष्क्रिय बनेका छन्। विश्वविद्यालयमा अहिले प्राज्ञिक परिषद् पनि छैन। प्राज्ञिक परिषद्ले विश्वविद्यालयको पाठ्यक्रम निर्धारण, पाठ्यभार हस्तान्तरण (क्रेडिट ट्रान्सफर), पाठ्यभार सञ्चय (क्रेडिट एक्युमुलेसन)सम्बन्धी आवश्यक काम गर्ने गराउने व्यवस्था नेपाल खुला विश्वविद्यालय ऐनमा उल्लेख छ। त्यस्तै विश्वविद्यालयद्वारा सञ्चालित शैक्षिक कार्यक्रममा भर्नाको योग्यता तथा आधार, सङ्काय परिवर्तन विधि, सिकाइ मूल्याङ्कन विधि र परीक्षाको किसिम निर्धारणलगायत काम पनि प्राज्ञिक परिषद्ले नै गर्छ।स्थापनाको सात वर्षमा नै विश्वविद्यालय यो अवस्थामा पुग्नुको मूल कारण दलीय भागबण्डामा पदाधिकारी नियुक्ति नै भएको शिक्षाविद् केदारभक्त माथेमाले बताउनुभयो। राजनीतिक भागबन्डा मिलाउन नसकेकै कारण यी समिति गठन हुन नसकेको यस क्षेत्रका जानकारको भनाइ छ। विश्वविद्यालयको ऐनमा कार्यकारी परिषद्ले डिन नियुक्त गर्ने व्यवस्था छ। कार्यकारी परिषद्मा उपकुलपति, रजिष्ट्रारका साथै सभाका महिला सदस्यबाट एक जना, शिक्षकमध्येबाट एक जना र उपकुलपतिले तोकेको डिन एक जना हुनुपर्ने व्यवस्था छ। आफूले रिक्त रहेको स्थानमा नियुक्तिका लागि प्रयास गरे पनि आन्तरिक किचलोका कारण समस्या भएको बताउँदै उपकुलपति मानन्धरले भन्नुभयो, “हामी दुई पदाधिकारी दुई फरक पार्टीको सिफारिसमा नियुक्त भयौँ। अहिले विश्वविद्यालयमा देखिएको समस्याको कारण यही नै हो।”रजिष्ट्रार विष्टले भने विश्वविद्यालयमा नियुक्ति तथा अन्य काममा कार्यकारी भूमिकामा रहनुभएका उपकुलपतिको भूमिका रहने बताउनुभयो। “डिन तथा अन्य अधिकारी नियुक्तिमा किन ढिलाइ भयो भन्ने विषयमा उपकुलपतिले जवाफ दिनुपर्छ,” उहाँले भन्नुभयो।
दरबार बन्दै, फल्स सिलिङ छैन
बेलायती शैलीको फल्स सिलिङ बजारमा उपलब्ध हुन नसक्दा केशरमहलको पुनर्निर्माणकर्ताका लागि निकै समस्याको विषय बनेको छ। धातुको बुट्टेदार फल्स सिलिङ राख्ने चलन राणाकालमा भित्रिएको थियो। केशरमहल पुनर्निर्माण कम्पनीले ९० प्रतिशत पुरानो फल्स सिलिङ काम लाग्ने र १० प्रतिशत नयाँ व्यवस्थापन गर्नुपर्ने अनुमान गरेको थियो। ठेकेदार कम्पनी जेडसीजीआई–खानी जेभीका परियोजना व्यवस्थापक नरकान्त सापकोटाले केशरमहलमा प्रयोग भएका फल्स सिलिङ मुस्किलले १० प्रतिशतमात्र पुनः प्रयोगमा आउन सक्ने बताउँदै भन्नुभयो, “बाहिरबाट हेर्दा नयाँजस्तो देखिए पनि भित्र खियाले काम नलाग्ने अवस्थामा पुगेका रहेछन्। ती प्रयोग गर्न सकिँदैन।”
मतपत्र छाप्ने कागज किन्न समस्या
आगामी निर्वाचनमा मतपत्र छाप्न प्रयोग हुने कागज खरिद निर्वाचन आयोगका लागि झन्झटिलो बन्दै गएको छ। मतपत्र छाप्ने कागज समयमै आपूर्ति अनिश्चित भएपछि निर्वाचन कार्यतालिकामै असर पर्न सक्ने सम्भावना बढेको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कागजको आपूर्तिलाई लिएर आयोगमाथि दबाब रहेको बताउनुभयो। आयोगले मतपत्र छाप्न प्रयोग हुने कागज आपूर्तिका लागि भदौ १ गते बोलपत्र आह्वान गरेको थियो। तर न्यूनतम मूल्यसँग मेल खानेगरी कुनै आपूर्तिकर्ताले प्रस्ताव पेस नगर्दा आयोगले उक्त बोलपत्र रद्द गरेको छ। आयोगले ८५० मेट्रिक टन कागज खरिद गर्न लागेको हो।
शिक्षकको कुटाइले विद्यार्थीको कानको जाली फुटयो
पश्चिम नवलपरासी सदरमुकाम परासीस्थित एक निजी विद्यालयमा शिक्षकको कुटाइबाट विद्यार्थीको कानको जाली फुटेको छ । दिएको गृहकार्य नगरेको भन्दै रामग्राम नगरपालिका –४ बैरिहवास्थित एक निजी विद्यालय हिलेरियस चिल्डे«न एकेडमीका शिक्षक आलम सिद्धकीले कुट्दा विद्यार्थीको जाली फुटेको हो ।
मुगुका किसानलाई स्याउ टिप्न चटारो
मुगुको छायाँनाथ रारा नगरपालिका–५ ताल्चाकी विस्नमाया रोकायाको परिवारलाई यतिवेला आफ्नो बगैँचामा फलेको स्याउ टिप्न भ्याइनभ्याई छ । यस्तै वडा नं ४ का हरिबहादुर भाम पनि स्याउ टिप्नमै व्यस्त हुनुहुन्छ । रोकाया र भाम मात्र होइन गाउँका सबैलाई स्याउ टिप्न चटारो छ ।
डेढसय वर्ष पुरानो जीर्ण पुलमा स्थानीयको त्रासपूर्ण यात्रा
नेपाल–भारत जोड्ने अन्तर्राष्ट्रिय सीमानाका झुलाघाटमा पक्की पुल नहुँदा दुई देशका नागरिक डेढ सय वर्ष पुरानो जीर्ण झोलुङ्गे पुलबाट आवतजावत गर्दैआएका छन् । पटक पटक जीर्णपुल मर्मत गरिए पनि पुल कतिखेर भाँचिने हो स्थानीयमा त्रास छ । करिब डेढसय वर्षअघि ईस्टइण्डिया कम्पनीले बनाएको पुल जीर्ण भएकाले पुल तर्दा त्रसित भएर आवतजावत गर्नुपरेको झुलाघाटका स्थानीय जयसिंह भाटले बताउनुभयो ।
सुन्दर र स्वच्छ सहरको विकासबाटै व्यवस्थित सहरीकरण सम्भव : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले सुन्दर र स्वच्छ सहरको विकासबाटै व्यवस्थित सहरीकरण सम्भव हुने बताउनुभएको छ । उहाँले नेपालमा सहर योजनाबद्ध र व्यवस्थित बन्न नसक्दा विभिन्न खालका विपद्को सामना गर्नुपरेको उल्लेख गर्नुभयो ।