• ८ वैशाख २०८२, सोमबार

निजी विद्यालयको बस सञ्चालनमा रोक

blog

कोकिला भण्डारी
धनकुटा, वैशाख ८ गते  ।
सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालिकाले पालिकाभित्र निजी विद्यालयका सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

महालक्ष्मी नगरपालिकाका अध्यक्ष ध्रुवराज रायाले सोमबार सूचना जारी गर्दै अन्य पालिकाहरूका निजी विद्यालयहरूले सवारीसाधन प्रयोग गरी महालक्ष्मी नगरपालिका भित्रका विद्यार्थीहरू लैजान नपाउने उल्लेख गर्नुभएको छ । यस नगरपालिकाले पालिकाभित्रका सबै निजी विद्यालय बन्द गरिसकेको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न महालक्ष्मी नगरपालिका भित्रका निजी विद्यालय बन्द गरिएको पालिकाले जनाएको छ । पालिकाभित्र रहेका सार्वजनिक विद्यालयहरूको शैक्षिक सुधारका लागि भन्दै पालिकाको सडक प्रयोग गरी अन्य पालिकामा रहेका निजी विद्यालयले समेत विद्यालयका सवारी साधानहरू सञ्चालन गर्न नपाउने निर्णय गरिएसँगै बस सञ्चालनमा रोक लगाइएको हो  ।

हाल महालक्ष्मी नगरपालिकासँग सीमा जोडिएको छथरजोरपाटी गाउँपालिका, पाख्रिबास नगरपालिका र तेह्रथुमको लालीगुराँस नगरपालिकाका निजी विद्यालयहरूले स्कुल बसमार्फत सो क्षेत्रका विद्यार्थीहरू ल्याउने गरेका छन् । जसका कारण महालक्ष्मी नगरपालिकाभित्र रहेका सरकारी विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदै गएको छ । यसलाई रोक्न पालिकाले यस्तो कदम चालेको नगर प्रमुख रायाले बताउनुभयो ।

‘‘अन्य पालिकामा रहेका निजी विद्यालयले हुँदै शैक्षिक सत्र २०८२ मा महालक्ष्मी नगरपालिकाभन्दा अन्य गाउँपालिका तथा नगरपालिकाका निजी विद्यालयहरूका स्कुल बसहरू यस पालिकाभित्र प्रवेश गरी बालबालिकाहरू निजी विद्यालय लाने गरेको जनगुनासो प्राप्त भएकाले यो सूचना प्रकाशन भएको मितिबाट महालक्ष्मी नगरपालिकाको क्षेत्राधिकार भित्र कुनै पनि निजी विद्यालयका स्कुल बस अर्थात् विद्यालयका सवारी साधनहरू प्रवेशका लागि पूर्णरूपमा रोक लगाइएको प्रकाशित सूचनामा उल्लेख छ ।