काठमाडौँ, वैशाख ८ गते । सहिद स्मारक ‘बी’ डिभिजन लिग खेलिरहेको सरस्वती क्लबले धिरेन्द्रबहादुर शाहलाई लिगमा लगाइएको प्रतिबन्ध आधारहिन रहेको र यसले खेलाडीको खेल्न पाउने अधिकारमाथि हनन भएको जनाएको छ ।
क्लबले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी श्री टुसाल युवा क्लब र एन्फाको लापर्बाहीका कारण खेलाडीको खेल्ने अधिकार र क्लबको भविष्यमा समेत खतरा निम्त्याएको समेत उल्लेख गरेको छ ।
क्लबका अध्यक्ष उत्तमराज भण्डारीले क्लबले लिगका खेलाडी दर्ता गर्नुपर्ने सबै प्रक्रिया पूरा गरी, सबै कागजात रुजु गरी एन्फाले स्विकृत गरेपछि मात्र खेलाडीलाई मैदान उतारिएको बनाउनुभयो । उहाँले दुई खेलमा गोल गर्दै जिताएका खेलाडीलाई अनावश्यक रूपमा विवादको सिर्जना गरेर खेल्न नदिएका कारण न्यायका लागि बाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको पनि बताउनुभयो ।
सरस्वतीले धिरेन्द्र र टुसालबीचको सम्झौता २०८० सालमै सकिएको पनि जनाएको छ । उक्त सम्झौतामा उल्लेख भएको २० प्रतिशत पहिलो किस्ता अहिलेसम्म नदिएको/नपाएको हुदाँ उक्त करार स्वतः निष्कृय हुने कानुनी व्यवस्था हुदाँहुदै क्लबले दाबी गरेको र एन्फाले स्विकार गरेको, एन्फाले दर्ता प्रक्रिया हुँदा करारमा रहेका खेलाडी सूची उपलब्ध गराउन पत्रचार गरेकोमा टुसालबाट कुनै प्रतिक्रिया नआएको, ५० जनासम्म खेलाडी प्रतियोगिता अगाडि पनि दर्ता गर्न पाइने सुविधा हुँदा पनि खेलाडीको नाम दर्ता नगरेको, टुसालले धिरेन्द्रलाई आफ्नो क्लबबाट पनि नखेलाउने र अन्य क्लबबाट पनि खेल्न नदिने नियत राखेर विवदा सिर्जना गरेको जस्ता आरोप पनि लगाएको छ ।
खेलाडीको विषयलाई लिएर एन्फाले भोटको राजनीति गरेकोसमेत क्लबका अध्यक्ष भण्डारीले बताउनुभयो । खेलाडी धिरेन्द्रले टुसालले आफुले पाउनु पर्ने रकम नदिएको र अघिल्लो वर्षनै सम्झौता सकिएको अवस्थामा खेलकोबिचमै खेल्न छाड्न बाध्य पारिँदा मानरिक रुपमा तनाव भएको बताउनुभयो ।
उहाँले फुटबल खेल्न पाउने खेलाडीको अधिकारमाथि न्याय दिन सबैमा आग्रह समेत गर्नुभयो । सरस्वती क्लबले एउटा खेलाडीमाथि अत्याचार भएकोले न्याय नपाउन्जेल न्यायको ढोका ढक्ढक्याई रहने समेत जनाएको छ ।