• १२ असार २०८१, बुधबार

राजमार्गका ११ होटल कारबाहीमा

blog

मुरारी अधिकारी

धादिङ, भदौ १३ गते । धादिङको पृथ्वी राजमार्गमा सञ्चालित होटल तथा खाजा घरहरूको जिल्ला अनुगमन टोलीले अनुगमन गरेको छ । जिल्ला अनुगमन टोलीले शुक्रबार र शनिबार दुई दिनको अवधीमा १८ वटा होटल तथा खाजा घरहरूको अनुगमन गर्दा उपभोक्ता हित विपरित काम गर्ने ११ होटेललाई कारबाही गरिएको घरेलु कार्यालय धादिङले जनाएको छ । 

जिल्लाका विभिन्न स्थानमा अखाद्य बस्तुको बिक्री भएको, तोकिएको मूल्यभन्दा बढी रकम लिएको र सरसफाइमा ध्यान नदिएको सूचनाको आधारमा प्रशासन, घरेलु लगायतका सम्बन्धित निकायहरूले बजार अनुगमनलाई तीव्रता दिएको हो । 

गल्छी गाउँपालिका –७, भल्टारमा रहेको जुनतारा रेष्टुरेन्ट एण्ड लज र न्यु लुम्बिनी होटेललाई १०–१० हजार रुपियाँका दरले जरिवाना गराइएको छ । यस्तै थाक्रे गाउँपालिका –२ मा रहेको न्यु काष्ठमण्डप होटेललाई १५ हजार र होटल हिराचन एण्ड रेष्टुरेन्टलाई ५ हजार, धुनिबेशी न.पा – ८ खानिखोलामा रहेको आर.पी. कोल्ड स्टोर एण्ड खाजा घरलाई २० हजार, मच्छिन्द्र स्टाफ होटेललाई ५ हजार रुपियाँ जरिवाना तिराइएको छ ।

बेनी घाट रोराङ गा.पा.– ३ सलाङघाटमा रहेको सफल होटेललाई १० हजार, बेनी घाट रोराङ गा.पा.– ७ खटौली मा रहेको नेपाल माइक्रो खाना एण्ड खाजा घरलाई १० हजार, बेनी घाट रोराङ गा.पा.–७ खोष्टे मा रहेको– युनिक हाइवे होटेललाई १० हजार, बेनी घाट रोराङ गा.पा.– ५ विशालटारमा रहेको बुढिगण्डकी हाइवे रेष्टुरेन्टलाई ५ हजार र बेनी घाट रोराङ गा.पा.–३ सलाङघाटमा रहेको चितवन स्टाफ होटेललाई २० हजार जरिवाना गरिएको घरेलु कार्यालय धादिङले जनाएको छ ।

अनुगमनको क्रममा करिब १२ हजार ८ सय रुपियाँ बराबरको म्याद गुज्रेका, सडेगलेका सामग्रीहरु नष्ट समेत गरेको छ । कारबाहीमा परेका होटलहरुले निर्धारित मूल्यभन्दा बढी रकम लिएको, सरसफाइमा ध्यान नदिएको पाइएकाले जरिवाना तिराइएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको हो । 

उपभोक्तालाई सचेत बन्न र गुनासो गर्ने बानी बसाल्न जिल्ला अनुगमन टोलीले आग्रह पनि गरेको छ । अनुगमनलाई निरन्तरता दिइने र अनुगमन कार्य निर्धक्क साथ गर्न कर्मचारीलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताउनुभयो ।