• १२ असार २०८१, बुधबार

खाल्डाखुल्डी पुर्ने काम सुरू गर्ने गरी तयारी

खाल्डाखुल्डीरहित सडकमा गाडी गुड्छ फिलिलि...

blog

काठमाडौं, भदौ १३ गते । चाडपर्वको सिजन सुरू भएसँगै सडक विभागले देशभरका मुख्य सडकको खाल्डाखुल्डी पुर्ने भएको छ । अन्य समयमा भन्दा चाडपर्वको बेला धेरै मानिसले आवतजावत गर्ने भएकाले सडक विभागले मुख्य राजमार्गका खाल्डाखुल्डी पुर्ने योजना बनाएको हो ।

विभागका महानिर्देशक अर्जुनजङ्ग थापाका अनुसार वर्षाका कारण देशभरका मुख्य सडकमा खाल्डाखुल्डी बनेकाले यात्रुको सुविधाका लागि दशैँ अघि नै मर्मतसम्भार गर्ने योजना बनाइएको हो । उहाँका अनुसार राजमार्गहरूमा पटके मर्मत गरिनेछ । दशैँ अघि धेरै गाडी चल्नुपर्ने भएकाले सडकलाई खाल्डाखुल्डीरहित 'पटल फ्री'  बनाउने योजना रहेको उहाँको भनाइ छ ।


‘भदौ तेस्रो सातादेखि देशभरका डिभिजनमार्फत खाल्डाखुल्डी पुर्ने काम सुरू गर्ने गरी तयारी गरिएको छ,’ उहाँले भन्नुभयो, ‘अझै पानी परिरहेकाले धेरै काम गर्न सकेका छैनौँ, दशैँ अघि यात्रा गर्नेलाई सहज होस् भनेर सडक पटल फ्री बनाउने छौं ।’ महानिर्देशक खड्काका अनुसार देशभरका डिभिजनहरूले सडक मर्मतको काम गर्नेछन् ।

देशभर ३३ वटा डिभिजन कार्यालय छन् । यी डिभिजनले ८० वटा राजमार्गको नेटवर्कको मर्मतसम्भारको काम गर्नेछन् । यी सडक अन्तर्गत पर्ने आठ हजार किलोमिटर सडकको मर्मतसम्भार गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । पटके निर्माणका लागि एक अर्ब रुपियाँ छुट्याइएको छ ।

अहिले निर्माणाधीन अवस्थामा रहेका सडकहरुको भने जिम्मा लिएको ठेकेदारले नै निर्माण गर्नेछन् । पोखरा डिभिजनका अनुसार हरेक ८/१० किलोमिटर दूरीमा मेसिन र कर्मचारी तैनाथ गरी सडक मर्मत गरिनेछ ।

सुर्खेत डिभिजनले सुदूरपश्चिम र कर्णाली प्रदेशको मर्मतसम्भार हेर्ने गरेको छ । पोखरा डिभिजनले गण्डकी र लुम्बिनी प्रदेशको मर्मतसम्भारको जिम्मा पाएको छ । दमक र हेटौंडा डिभिजनले मधेस प्रदेश र १ नम्बर प्रदेशको सडक मर्मतसम्भार गर्नेछ । काठमाडौं डिभिजनले बागमती प्रदेशको मर्मतसम्भारको जिम्मा पाएको छ ।


भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग २१८ हेभी इक्यूपमेन्टहरू छन् । एक्स्लाभेटर, लोडर, टिपर, ट्रक, रक ब्रेकर, डम्पर, रोडबेड टेलरलगायतका उपकरण  छन् । ती उपकरणको प्रयोग गरेर सडकका खाल्डाखुल्डी पुर्ने योजना छ ।

यान्त्रिक कार्यालयका नाै वटा डिभिजन छन् । यी सबै डिभिजनमा इन्जिनियर र सब–इन्जिनियर हुन्छन् । इन्धन आपूर्ति डिभिजन कार्यालयबाट आपूर्ति गरिन्छ । कुनै मेसिन बिग्रेको भए यस्ता स्टान्ड वाई राखिएका उपकरणहरूसँग परिवर्तन गरी प्रयोग गरिने गरेको विभागका महानिर्देशक खड्काले बताउनुभयो ।

सडक मर्मतसम्भार गर्न सरकारसँग ४२ वटा लोडर, जेसीभी टाइपको ब्याक होल्ड लोडर ३२ वटा, एस्काभेटर २५ वटा, ट्रिपर ३५ वटा, रोडबेड टेलरहरू १२ वटा हेभी उपकरण छन् ।    

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।