सेवा यथावतको माग गर्दै कलैयामा प्रदर्शन
मालपोत तथा नापी कार्यालय यथावत राख्न माग गर्दै तीन पालिकाका नागरिकले सदरमुकाम कलैयामा बिरोध प्रदर्शन गरेका छन् । महागढीमाई नगरपालिका –९, सुर्वण र देवताल गाउँपालिकाको सेवा सुबिधाको कामकाज सिम्रौनगढ नगरपालिकाबाट सुरु गरेको बिरोधमा स्थानीय नागरिकले सो प्रदर्शन गरेको बताएका छन् ।
सर्वोच्चमा तीन न्यायाधीश सिफारिस
न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। मङ्गलबार बसेको बैठकले रिक्त दुईसहित तीन पदमा सिफारिस गरेको हो। एक स्थानमा भने कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अवकाशपछि पदभार सम्हाल्ने गरी सिफारिस गरिएको परिषद् स्रोतले बतायो। सर्वोच्चमा हाल दुई न्यायाधीशको स्थान रिक्त छ। संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीशसमेत २१ न्यायाधीश सर्वोच्चमा रहनेछन्।
स्थानीय तहको अंग्रेजी मोह : मातृ भाषामा शिक्षा दिन कन्जुस्याइँ
भाषा आयोगले नेपाली भाषालाई पनि मातृभाषाका रूपमा व्याख्या गरेको छ। नेपाली भाषासहित नेपालका सबै भाषा मातृभाषा र राष्ट्रभाषा हुन् भन्ने अर्थमा आयोगले आफ्नो धारणा स्पष्ट गरेको हो। आयोगले मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ। प्रतिवेदनमा नेपाली भाषालाई पनि मातृभाषा हो भनी स्पष्ट व्याख्या गरिएको छ। आयोगका अध्यक्ष डा। लवदेव अवस्थीले भन्नुभयो, “नेपाली भाषा मातृभाषा नहुने कुनै आधार छैन। त्यसैले यसलाई पनि मातृभाषाका रूपमा व्याख्या गरेका हौँ।”
नमुना मतपत्र छाप्न सुरु
निर्वाचन आयोगले मङ्गलबारबाट मतपत्र छाप्न सुरु गरेको छ। आगामी निर्वाचनका लागि आयोगले समानुपातिकतर्फको नमुना मतपत्र छाप्न सुरु गरेको हो। आयोगको आन्तरिक कार्यतालिका बमोजिम भदौ २० गतेदेखि नै मतपत्र छाप्न सुरु हुनुपर्नेमा तयारी नपुग्दा एक दिनपछि मतपत्र छाप्न सुरु भएको हो। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दुई दिनभित्र नमुना मतपत्र छपाइ सकेर समानुपातिकको मतपत्र छाप्न सुरु हुने जानकारी दिनुभयो। पहिलो चरणमा आयोगले निर्वाचन शिक्षा कार्यक्रमका लागि छ लाख मतपत्र छाप्ने छ। आमनिर्वाचनका लागि आवश्यक सबै मतपत्र भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा छापिने आयोगले जनाएको छ। जनक शिक्षा सामग्री केन्द्र स्रोतका अनुसार मङ्गलबार अपराह्न ४ बजेदेखि मतपत्र छाप्न सुरु भएको हो। जनक शिक्षा सामग्रीको दैनिक १२ देखि १५ लाख मतपत्र छाप्ने क्षमता छ। आयोगका प्रवक्ता पौडेलले भन्नुभयो, “नमुना मतपत्र छपाइ सकिएलगत्तै समानुपातिकतर्फको मतपत्र डिजाइन तयार गरेर जनक शिक्षालाई दिइनेछ।”
कार्यकालसम्बन्धी व्यवस्था हटाएर विधेयक पारित
प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकालसम्बन्धी व्यवस्था हटाउँदै प्रतिनिधि सभाले केही नेपाल ऐन संशोधन विधेयक बहुमतले पारित गरेको छ। कार्यकालको अस्पष्टता हटाउन भन्दै सरकारले ल्याएको विधेयकमा समेटिएको उक्त प्रावधान हटाइएको हो। सरकारले विधेयकको व्यवस्था फिर्ता लिएपछि कार्यकाल अब पूर्वाभ्यासकै आधारमा तय हुने भएको छ। कानुनी रूपमा भने कार्यकालको गणना र अन्त्यको रिक्तता नै रहने छ। नेपालको संविधानले कार्यकाल पाँच वर्ष हुने उल्लेख गरे पनि सुरु अन्त्य गणनाका विषयमा कानुनी रिक्तता छ। यसअघि २०७४ मा संसद्को कार्यकाल मनोनयनको अघिल्लो दिनसम्म कायम भएको थियो।
घरदैलोमा पुग्दै निजामती सेवा
निजामती प्रशासन सेवालाई नागरिकको घरदैलोमा पु-याउन प्रभावकारी बनाउने सङ्कल्पसाथ बुधबार १९औँ निजामती सेवा दिवस मनाइँदै छ। यसका लागि सरकारले गत वर्ष नै पाँच वर्षसम्मका लागि ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नारा तय गरेको छ। सो नाराअनुसार निजामती सेवालाई थप व्यवहारमा उतार्ने अभियानसाथ सरकारले हरेक वर्ष प्रतिबद्धता व्यक्त गर्दै आएको छ। सङ्घीयताको कार्यान्वयनसँगै ‘घरघरमा सरकार’ भन्ने प्रतिबद्धता पूरा हुने क्रममा छ। २०१३ भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनलाई सरकारले हरेक वर्ष निजामती सेवा दिवस मनाउँदै आएको छ। निजामती प्रशासनले सेवा प्रवाह गर्दा सेवाग्राहीले चाहेअनुसारको फड्को मार्न नसके पनि दिन प्रतिदिन सुधारको दिशामा गइरहेको आभास गर्न थालिएको छ।
मेवाका पात र जथाभावी औषधि प्रयोग नगर्न चिकित्सकको सुझाव
पछिल्लो समय देशभर डेंगुका बिरामी बढ्दै गएका छन्। डेंगु फैलिएसँगै यसको उपचारमा बारेमा जनमानसमा अनेकौँ भ्रम फैलिँदै गएका छन्।
नेपालीसहित सबै मातृभाषा राष्ट्रिय भाषा : अध्यक्ष अवस्थी
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार भाषा आयोग ऐन, २०७४ बमोजिम अध्यक्ष अवस्थीले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गर्नुभएको हो ।
डेङ्गु नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह
राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई डेङ्गु नियन्त्रणमा प्रभावकारी कदम चाल्न आग्रह गरेको छ ।
प्रधानमन्त्री देउवासँग भारतीय सेनाध्यक्ष पाण्डेको शिष्टाचार भेट
प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले शिष्टाचार भेट गर्नुभएको छ । रक्षामन्त्री समेत रहनुभएको प्रधानमन्त्री देउवासँग मङ्गलबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भारतीय सेनाध्यक्ष पाण्डेले शिष्टाचार भेट गर्नुभएको हो ।
कुर्थादेखि बिजलपुरासम्म रेल गुडाउने तयारी
जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । रेलमार्गको ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले आगामी बिहीबार रेल सञ्चालनको परीक्षण गर्ने नेपाल रेल्वे कम्पनीले तयारी गरेको छ ।
कात्तिक ९ गतेदेखि म्यादी प्रहरी कार्यक्षेत्रमा
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सुरक्षाका लागि आगामी कात्तिक ९ गतेदेखि म्यादी प्रहरी कार्य क्षेत्रमा खटिने भएका छन् । निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी छनोटसम्बन्धी कार्यविधि गृह मन्त्रालयद्वारा स्वीकृत भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
राजदूत नियुक्तिले पायो पूर्णता
सरकारले विभिन्न १८ वटा मुलुकका लागि नेपाली राजदूत नियुक्त गरेको छ। पछिल्लो समय एकैपटक रिक्त रहेका २० वटा देशका राजदूतावासमध्ये १८ वटा मुलुकमा राजदूत नियुक्त गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार अब मलेसियाका लागि राजदूत सिफारिस हुनुभएका डिल्लीराज पोखरेल र म्यानमारका लागि राजदूत सिफारिस हुनुभएका हरिश्चन्द्र घिमिरेको मात्र पदस्थापन हुन बाँकी रहेको हो। उहाँहरूको प्रक्रिया पनि अन्तिम चरणमा रहेको छ।
प्रतिनिधि सभाको कार्यकाल थपको व्यवस्था स्थगन, कांग्रेसकै तीनथरी संशोधन
प्रतिनिधि सभाको कार्यकालको विषयमा सत्तारूढ दलभित्रै फरक मत देखिएको छ । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र कार्यकालबारे फरक फरक मत देखिएको हो । कार्यकालको व्यवस्था कानुनी रूपमा गर्न सरकारले ल्याएको केही नेपाल ऐन संशोधन विधेयकमा कांग्रेसका तीनथरी संशोधन दर्ता भएका छन् ।
सशक्तीकरणको माध्यमबाट मानव बेचबिखन अन्त्य
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आर्थिक, सामाजिक सशक्तीकरणको माध्यमबाट मानव बेचबिखन अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो। सो मन्त्रालयद्वारा मानव बेचबिखनविरुद्धको सोह्रौँ राष्ट्रिय दिवसको सन्दर्भमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा उहाँले यस्तो कुरा बताउनुभएको हो। मानव बेचबिखनमा पर्ने विशेष कारणमा रोजगारीको कमीले आर्थिक उपार्जनका लागि भारतको बाटो हुँदै विदेशमा जाने प्रवृत्तिले मानव बेचबिखनको जोखिम बढेको उहाँले बताउनुभयो। मन्त्री रेग्मीले विदेश तथा स्वदेशमै पनि रोजगारीको खोजीमा मनोरञ्जनको क्षेत्रमा काम गर्दा प्रभावित भएकालाई मन्त्रालयले उद्धार गरिरहेको बताउँदै राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत स्थानीय स्तरमै उद्यमको विकास गर्ने अभियान चलिरहेको बताउनुभयो।
आगामी निर्वाचनमा १० हजार ८८८ मतदान स्थल
निर्वाचन आयोगले आगामी चुनावका लागि १० हजार ८८८ मतदान स्थल कायम गरेको छ । स्थानीय चुनावमा १० हजार ७५६ मतदान स्थल रहेका थिए । आयोगले मतदान स्थलको पुनरवलोकन गर्दा गत स्थानीय चुनावको भन्दा आगामी चुनावमा नयाँ १३२ मतदान स्थल थपिएका छन् । आयोगले पुनरवलोकन गर्दा गत स्थानीय निर्वाचनका बेला निर्धारण भएका ४०१ मतदान स्थललाई हटाई नयाँ मतदान स्थल निर्धारण गरेको छ । खुला चउर, मन्दिर तथा व्यक्तिगत जग्गामा निर्धारण गरिएका त्यस्ता मतदान स्थललाई हटाई नयाँ कायम गरिएको आयोगले जनाएको छ ।
नागरिकता विधेयक प्रमाणीकरणका लागि पठाइयो
सङ्घीय संसद्ले नेपाल नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा सोमबार पठाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि साउन २९ गते फिर्ता भएको विधेयक दुवै सदनबाट पारित गरेर पुनः प्रमाणीकरणका लागि पठाइएको हो । विधेयक सोमबार नै सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि पठाइएको सापकोटाको सचिवालयले जनाएको छ । पहिलो पटक साउन १५ गते विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको थियो । उक्त विधेयकमा भएका केही व्यवस्थामा पुनर्विचारका लागि भन्दै राष्ट्रपति भण्डारीले फिर्ता गर्नुभएको थियो ।
महिला उम्मेदवार बढाउन पैरवी
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि राजनीतिक दलहरू उम्मेदवार छनोटमा जुटिरहँदा महिला अधिकारकर्मी भने दलहरूले महिला उम्मेदवारलाई बढी टिकट प्रदान गराउन पैरवी गर्दै छन् । उनीहरूले संविधानमा व्यवस्था गरिएको समावेशीको अवधारणा सही तरिकाले कार्यान्वयन हुन नसक्दा राजनीतिक दलहरूले त्यसको दुरुपयोग गरिरहेको पनि गुनासो गरेका छन्। समावेशीका नाउँमा राम्रालाई भन्दा हाम्रालाई अवसर दिने प्रवृत्ति परिवर्तन हुनुपर्ने उनीहरूको भनाइ छ।
भिजिट भिसा प्रकरण : अध्यागमन प्रमुख मन्त्रालय तानिए
गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख पुष्पराम शाहीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रालयले कारागार व्यवस्था विभागका महानिर्देशक वासुदेव पौडेललाई त्रिवि अन्तर्राष्ट्रिय अध्यागमन कार्यालय प्रमुखको जिम्मेवारीमा खटाएको छ। तर गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विमानस्थलस्थित कार्यालयका प्रमुख परिवर्तन नियमित प्रक्रियाअनुरूप भएको बताउनुभयो। पोखरेलले नक्कली कागजपत्र प्रयोग गरी अध्यागमनबाट खाडी मुलुक पठाउने गरेकोबारे आन्तरिक छानबिन भइरहेको बताउनुभयो।
कमाउने छोराको हात काटियो, परिवारमा बिचल्ली
रोजगारी खोज्न भारतको कश्मिर पुगेका बैतडीका २५ वर्षीय हिमाल बिष्टको काम गर्नेबेलामा मेशिनमा अल्झेर दायाँ हात काटिएपछि उहाँको परिवारमा विचल्ली भएको छ । आर्थिक समस्याले उपचारमा समेत समस्या भएको छ ।
‘आदिवासी मुद्दामा समाजलाई पुनः जागृत गर्नुपर्छ’
आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले आदिवासी माग मुद्दाको सवालमा समुदायलाई पुनरजाग्रित गर्नेबेला आएको बताउनुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) द्वारा सोमबार यहाँ आयोजित अन्तर संवाद कार्यक्रममा अध्यक्ष थापामगरले सो कुरा बताउनुभएको हो ।
मनोनयनपछि बहाल रहनेगरी कानून संशोधन उचित होइन
उम्मेदवारले मनोनयनपछि पनि पदमा बहाल रहनेगरी कानून संशोधन गर्नु उपयुक्त नहुने स्पष्ट पारेको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले सोमबार आयोगको तर्फबाट विज्ञप्ति जारी गर्नुहुँदै सो कुरा स्पष्ट पार्नुभएको हो ।
नेता थापाको नाम प्युठानबाट सिफारिस
मंसीर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटव्यूरो सदस्य सूर्य थापाको एकल नाम सिफारिस भएको छ । एमाले जिल्ला कमिटीको आज बसेको बैठकले जिल्ला इन्चार्ज समेत रहनुभएका थापाको नाम सर्वसम्मत सिफारिस गरेको हो ।
गुल्मीमा कांग्रेसबाट ५६ जनाको नाम सिफारिस
गुल्मीमा नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारका नाम सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको बैठकबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ ५६ जनाको नाम सिफारिस गरेको हो ।