• ८ मंसिर २०८१, शनिबार

छ हजार बढीमा डेंगु पुष्टि

मेवाका पात र जथाभावी औषधि प्रयोग नगर्न चिकित्सकको सुझाव

blog

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा बेड अभाव भएपछि अस्पतालको खाली ठाउँमा राखिएका अस्थायी बेडमा उपचार गराउँदै डेंगुका बिरामी । तस्बिर : सुजन गुरुङ

काठमाडौं, भदौ २१ गते। पछिल्लो समय देशभर डेंगुका बिरामी बढ्दै गएका छन्। डेंगु फैलिएसँगै यसको उपचारमा बारेमा जनमानसमा अनेकौँ भ्रम फैलिँदै गएका छन्। 

डेंगु रोग निको हुन्छ भन्दै विभिन्न एन्टिवायोटिक र दुखाइ कम गर्ने औषधि सेवन गर्ने बिरामी पनि बढ्दै गएका छन्। त्यसैगरी, डेंगु सङ्क्रमणले रगतमा घटेको प्लेटलेट्स बढाउन भन्दै डेंगुका बिरामीले आफूखुसी मेवाको पात खाने प्रवृत्ति पनि बढेको छ। 

कोरोना महामारीका बेला गुर्जोको जथाभावी सेवनले मानिसहरुको स्वास्थ्यमा असर परेको थियो। अहिले पनि डेंगु सङ्क्रमण निको पार्ने भन्दै मेवाको पातको दुरुपयोग हुन थालेपछि चिकित्सक चिन्तित बनेका छन्। 

सरुवा रोग विशेषज्ञ डा. जनक कोइरालाले जथाभावी औषधि र मेवाको पात खानाले डेंगुका बिरामीमा थप समस्या बढ्दै गएको बताउनुभयो। मेवाको पातले डेंगुका बिरामीलाई फाइदा गर्नेबारे कुनै प्रमाणित भइनसकेकाले जथाभावी मेवाको पात नखान उहाँको सुझाव छ। 

त्यसैगरी, जथाभावी किनेर दुखाई कम गर्ने औषधि खाँदा बिरामीमा बान्ता हुने, रक्तश्राव हुने जस्ता समस्या बढ्दै गएको जानकारी पनि डा. कोइराला दिनुभयो। 

डा. कोइरालाका अनुसार डेंगु एउटा भाइरस हो।  यसलाई मार्ने अहिलेसम्म कुनै औषधि बनेको छैन। डेंगुको सङ्क्रमणको उपचार भनेकै यसका लक्षणको उपचार गर्नु नै हो। 

 आफुखुसी औषधि नखान आग्रह 

मानिसले आफुखुसी औषधि किनेर खाँदा स्वास्थ्यमा थप जटिलता निम्तिएको भन्दै जथाभावी दुखाइ कम गर्ने औषधि किनेर नखान डा. कोरालाको सुझाव छ। 

उहाँ भन्नुहुन्छ, “फेलेक्सन जस्तै अन्य जिउ दुख्दा खाने औषधि खाँदा रगतमा हुने प्लेटलेट्स भन्ने प्रदार्थ कम हुन्छ। प्लेटलेट्सले रगत जमाएर रक्तश्राव हुन दिदैन त्यस्ता औषधिले रगत जम्न घटाउने हुँदा थप जटिलता थप्छ।”

धेरै जनामा यसका लक्षण आफै निको हुँदै जान्छन्। टाउको दुख्ने, ज्वरो जस्ता लक्षण देखिँदा पारा सिटामोल खान सकिन्छ। त्योबाहेक अन्य दुखाई कम गर्ने औषधिले डेंगुका बिरामीमा थप जटिलता उत्पन्न गर्छ।

त्यो भन्दा बढी लक्षण जस्तै बिरामीलाई लगातार पेट दुख्ने, बान्ता हुने, जीउ सुनिने, गिजाबाट रगत आउने, बेचैनी वा छटपटी हुने जस्ता जटिल समस्या देखिए चिकित्सकको सल्लाह लिएर उपचार गर्न डा. कोइरालाको सुझाव छ। 

एक सयजना मध्ये पाँच जनामा देखिने भए पनि निकै घातक हुने हुँदा हेलचेक्राइँ नगर्न चिकित्सकको सुझाव छ। 

डेंगु सङ्क्रमण भएको बेलामा एन्टिवायोटिक औषधिको प्रयोग नगर्न डा.कोइरालाको आग्रह छ। सामान्य लक्षण देखिएर ज्वरो आएमा सिटामोल खाने, झोलिलो प्रदार्थ प्रशस्त मात्र खाने गर्नुपर्छ। 

शुक्रराज ट्रपिकल अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा. विमल चालिसेले डेंगुका बेला प्लेटलेट्स घट्ने भए पनि सङ्क्रमण निको हुँदै जाँदा प्लेटलेट्स पनि सामान्य बन्दै जाने भएकाले जथाभावी दुखाइ कम गर्ने औषधि र मेवाको पात नखान सुझाव दिनुहुन्छ।

 मेवाको पात जथाभावी नखानुस : डा. ज्ञवाली

नेपाल आयुर्वेद चिकित्सक संघका निवर्तमान अध्यक्ष डा. प्रकाश ज्ञवालीले मेवाको पातले रगतमा घटेको प्लेटलेट्स बढाए पनि जथाभावी मेवाको पात नखान सुझाव दिनुहुन्छ। 

  उहाँ भन्नुभयो, “मेवाको पातले रगतमा घटेको प्लेटलेट्स बढाउने रिर्सचले पनि देखाएको छ।  तर, जथाभावी खाँदा यसले नकारात्मक असर गर्छ। कुनै पनि औषधि खाँदा त्यसको मात्रा हुन्छ, मात्रा अनुसार खाएमा स्वास्थ्यमा सुधार आउँछ, यदि मात्रा अनुसार खाइएन भने शरीरमा नकारात्मक असर गर्छ।”

 चिकित्सकीय निगरानीबिना खाँदा भने फाइदा हुनुको साटो उल्टै बेफाइदा गराउने डा. ज्ञवालीको भनाइ छ। यसरी जथाभावी खाँदा पेट बाउँडिने तथा उल्टी हुने समस्याका साथै पछि गएर कलेजो तथा पेटमा समस्या ल्याउन सक्ने उहाँ बताउनुहुन्छ। 

उहाँ भन्नुहुन्छ,“मेवाको पातको जथाभावी सेवनले बान्ता हुने, पेट काटने, पेट दुख्ने, पेट बाउँडिने जस्तो समस्या देखिने र पछि गएर कलेजो तथा पेटमा समस्या आउन सक्छ।”  मेवाको पातको पनि सिरप र ट्याब्लेटमा प्रशोधित गरेर औषधिको रुपमा पनि आएको छ। यतिकै मेवाको पात खानुभन्दा चिकित्सकको सल्लाहमा औषधि खाना उहाँको सुझाव छ।

छ हजार बढीमा डेंगुपुष्टि 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ७५ जिल्लामा पुसदेखि अहिलेसम्म छ हजार २०७ जनामा डेंगु पुष्टि भएको छ। बागमती प्रदेशमा सबै भन्दा बढी चार हजार ६४७, प्रदेश १ मा २४८, मधेश प्रदेशमा १०२, गण्डकी प्रदेशमा १२२, लुम्बिनी प्रदेशमा ९०४, कर्णाली प्रदेशमा ४३ र सुदूरपश्चिम प्रदेशमा १४१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। 

ललितपुरमा दुई हजार २६३, काठमाडौंमा एक हजार २२९, मकवानपुरमा ६४१, रुपन्देहीमा ५२१, भक्तपुरमा १२६, धादिङमा ११७, तेह्रथुममा १००, सिन्धुलीमा ७०, काभे्रमा ६८ गुल्मीमा ६७ गरी १० जिल्लामा पाँच हजार २०२ जनामा डेंगु पुष्टि भएको छ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।