नेपाली सांस्कृतिक वैभवलाई विश्वसामु चिनाउन आवश्यक छ : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सांस्कृतिक वैभवलाई विश्वसामु चिनाउन आवश्यक रहेको बताउनुभएको छ ।
बाघको आक्रमणबाट एकको मृत्यु
बाँके र बर्दिया निकुञ्ज वरिपरिका क्षेत्रमा आएर बाघले मानिसमाथि आक्रमण गर्नेक्रम छोडेको छैन । बर्दियामा बाघको आक्रमणबाट स्थानीय झुठारु थारूको मृत्यु भएको छ ।
भक्तपुरको मूपात्र जात्रा आजदेखि
इन्द्रजात्राको अवसरमा मनाइने भक्तपुरको मूपात्र जात्रा आज (सोमबार) साँझदेखि सुरु हुने भएको छ । विभिन्न धार्मिक ग्रन्थका आधारमा तयार पारेको मूपात्र जात्रा भक्तपुरमा तीन दिन मनाइन्छ ।
मुलुकको आर्थिक सूचक चिन्ताजनक अवस्थामा छ : अध्यक्ष गोल्छा
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक सूचकहरु चिन्ताजनक अवस्थामा रहेको बताउनुभएको छ । आइतवार नेपाल उद्योग वाणिज्य महासंघसँग विज्ञापन आचारसंहितासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष गोल्छाले सो बताउनुभएको हो ।
अजिङ्गरको उद्धार
डिभिजन वन कार्यालय तनहुँले आइतबार एक अजिङ्गरलाई उद्धार गरेको छ । पृथ्वी राजमार्ग विस्तार गर्नेक्रममा फेला परेको अजिङ्गरलाई उद्धार गरिएको हो । पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका –१२ घाँसीकुवा नजिक जलविरेमा फेला परेको अजिङ्गरलाई उद्धार गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । कामदारले सो अजिङगर फेला परेपछि डिभिजन वन कार्यालयमा खवर गरेका थिए ।
वरिष्ठ पत्रकार गौतम अस्पताल भर्ना
वरिष्ठ पत्रकार देवेन्द्र गौतम बीएण्डबी अस्पताल भर्ना हुनुभएको छ । नयाँ करेन्ट साप्ताहिकका सम्पादक एवम् प्रकाशक गौतमलाई निमोनिया देखएपछि उहाँले बीएण्डबी अस्पतालको भेन्टिलेटरमा उपचाररत हुनुहुन्छ ।
उपत्यकाको नेवाः संस्कृतिले नेपालको परिचय दिन्छ : प्रमुख साह
महानगरका प्रमुख वालेन्द्र साहले काठमाडौं उपत्यकाको नेवाः सभ्यताले नेपालको परिचय दिने भएकाले यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताउनुभयो ।
जलवायु परिवर्तन राष्ट्रिय परिषद्ले पायो पूर्णता
प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्लाई पूर्णता दिनुभएको छ ।
चाडपर्व लक्षित यातायात सुरक्षामा ट्राफिक प्रहरी
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलक्षित यातायात सुरक्षा असोज १ गतेदेखि लागू हुने जनाएको छ । चाडपर्व प्रत्येक वर्ष आउने भएकाले यात्रु सहजताका लागि ट्राफिक प्रहरी सदैव तयार रहने गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताउनुभयो ।
होमियोप्याथी चिकित्सा प्राथमिकतामा
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले नेपालमा होमियोप्याथी चिकित्सा विकासलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । इन्डो नेपाल होमियोप्याथी सम्मेलनकोे आइतबार उद्घाटन गर्दै स्वास्थ्यमन्त्री खापुङले पछिल्लो समय नसर्ने रोगको प्रकोप बढ्दै गएको बेला होमियोप्याथी उपचार पद्धति सस्तो देखिएकाले यसलाई विकास गर्नुपर्ने बताउनुभयो ।
दलितको प्रतिनिधित्व सुनिश्चितता माग
प्रदेश र सङ्घीय निर्वाचनमा मधेशी दलितको प्रतिनिधित्व सुनिश्चितताको माग गरिएको छ। दलित सरोकार मञ्च नेपालले आइतबार निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाउँदै सो माग गरिएको हो। आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले कानुनले प्रष्ट व्यवस्था नगरेको कारण मधेशी दलितको प्रतिनिधित्व कम भएको बताउनुभयो। उहाँले भन्नुभयो, “समानुपातिकतर्फ १३.८ प्रतिशत आरक्षण कोटामा एउटै जातिलाई सिफारिस गरेमा पनि हामी बदर गर्न सक्दैनौँ।” संविधानमा राज्यका सबै निकायमा दलितलाई समानुपातिक÷समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हकको व्यवस्था छ।
बाढीपीडितलाई तत्काल राहत
केन्द्रीय सुरक्षा समितिको बैठकले दार्चुला जिल्लामा गएको बाढी पहिरोमा परी घाइते र विस्थापित भएकालाई उद्धार, राहत र पुनःस्थापना यथाशक्य गर्ने निर्णय गरेको छ। दार्चुलामा तीन दिनअघि बाढी पहिरो गएको थियो। गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आइतबार गृह मन्त्रालयमा बसेको समितिको बैठकले सो निर्णय गरेको हो। विपद्बाट प्रभावितलाई खाद्यान्न सडकबाट पु¥याउन समस्या भएमा हेलिकोप्टरबाट भए पनि यथाशक्य पु-याउने निर्णयसमेत बैठकले गरेको छ।
वर्तमान संसद्को कार्यकाल असोज १ मा सकिँदै
निर्वाचन आयोगले प्रतिनिधि सभाको कार्यकाल समानुपातिक बन्दसूचीको मनोनयनअघिसम्म मात्र कायम रहने वक्तव्यको बेहोरासहितको पत्र सङ्घीय संसद्मा पठाएको छ । सामान्यतया जनप्रतिनिधिमूलक संस्थाले नै कानुनबाट विधायिकाको कार्यकाल निर्धारण गर्नुपर्ने भए पनि आयोगले कार्यकालबारेको पत्र संसद्लाई पठाएको हो । सरकारले यसअघि कार्यकालको सुरुवात र अन्त्यबारे स्पष्ट पार्न भन्दै विधेयक ल्याए पनि पछि हटेको थियो । उक्त विधेयकबारे पनि आयोगले आपत्ति जनाएको थियो ।
खोला कायम गर्न विज्ञहरूको सुझाव
काठमाडौँ महानगरपालिका–६, बूढानीलकण्ठ नगरपालिका–१०, ११ र १२ कपन क्षेत्रस्थित यज्ञमती र चखुँचाखोलालाई पुरानै अवस्थामा फर्काए मात्रै बाढीको दीर्घकालीन समाधान हुने सुझाव जलस्रोत विज्ञहरूले दिनुभएको छ। बाढीमा समस्या सुरु हुनुको कारण अध्ययन गरी दीर्घकालीन समाधानका लागि यज्ञमती र चखुँचाखोलालाई पुरानै अवस्थामा फर्काउनु उचित हुने बताउनुभएको छ। सहरी विकास मन्त्रालयअन्तर्गत काठमाडौँ उपत्यका विकास प्राधिकरणको प्रस्तावित धोबीखोला कोरिडोर कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजनासम्बन्धी छलफलमा पानीको बहाव, खोलाको बाटो र अतिक्रमित क्षेत्रको बस्तीको समग्र अध्ययनमार्फत नयाँ कार्यक्रम निर्माण गर्नुपर्ने उहाँहरूको भनाइ छ।
अख्तियारद्वारा ११ जनाविरुद्ध मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) कर्णाली प्रदेश कार्यालयका तत्कालीन दुई जना कार्यालय प्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। दैलेखको चामुण्डा विन्द्रासैनिक नगरपालिकास्थित चामुण्डा माध्यमिक विद्यालयमा परिषद्बाट तालिम सञ्चालनका लागि निकासा भएको रकममा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरिएको हो। तालिम सञ्चालनका लागि परिषद्बाट निकासा भएको रकम मिलेमतोमा विद्यालयले सञ्चालन नगरी निजी कम्पनीलाई दिइएको, यसरी तालिम सञ्चालनको जिम्मा दिँदा न्यूनतम सर्त पनि पूरा नगरेको आयोगको दाबी छ। मुद्दा दायर गरिएकामा तत्कालीन कार्यालय प्रमुख भीमकान्त लामिछाने, मोहनबहादुर कार्की, लेखा अधिकृत शिवराम रोकाया, दैलेखको चामुण्डा माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक जयप्रसाद तिमल्सिना, विद्यालयका सहलेखापाल नरेशबहादुर शाही, विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष नन्दबहादुर शाही रहेको अख्तियारले जनाएको छ।
ठेक्का प्रक्रिया कानुनसम्मत नभएको ठहर
सङ्घीय संसद्अन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाडौँ–तराई÷मधेश द्रुतमार्ग आयोजनाको ठेक्का प्रक्रिया सार्वजनिक खरिद ऐनबमोजिम नभएको ठहर गरेको छ। सिंहदरबारस्थित समितिको कार्यकक्षमा आइतबार बसेको समितिको बैठकले ठेक्का व्यवस्थापन कार्यमा संलग्न आयोजना प्रमुखलगायत जिम्मेवार पदाधिकारीलाई कानुनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयलाई निर्देशन पनि दिएको छ। समितिका सभापति कल्याणीकुमारी खड्काका अनुसार आगामी दिनमा यस्ता कमीकमजोरी नदोहोरिने गरी आयोजनाको काम अगाडि बढाउनसमेत समितिले निर्देशन दिएको छ। मुलुकको राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत सो आयोजना निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएको छ।
‘राजीनामा दिए महाभियोग फिर्ताको प्रस्ताव आयो’
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले राजीनामा दिए महाभियोग प्रस्ताव फिर्ता लिने प्रस्ताव आएको दाबी गर्नुभएको छ। महाभियोग सिफारिस समितिमा जवाफ दिँदै जबराले दीपककुमार कार्कीलाई केही समय प्रधानन्यायाधीश बनाउन सहमत भए महाभियोग फिर्ताको प्रस्ताव आएको जिकिर गर्नुभएको हो। उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सल्लाहमा प्रस्ताव लिएर आएको भन्दै कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय (डिना) ले प्रस्ताव गरेको दाबी गर्नुभएको हो। आफ्नो भनाइबारे उपाध्यायसँग थप बुझ्न पनि जबराले समितिलाई आग्रह गर्नुभयो।
प्राध्यापक र कर्मचारीलाई अनिवार्य अवकाश
गुल्मीमा प्राध्यापक र कर्मचारीलाई अनिवार्य अवकाश गराइएको छ। जिल्लाको रेसुंगा बहुमुखी क्याम्पसमा वर्षेनी आर्थिक दायित्व बढ्दै गएपछि प्राध्यापक र कर्मचारीलाई अनिवार्य अवकाश गराइएको हो।
बन्दसूची संशोधन गरी पेश गर्न दललाई एक साताको समय
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले बुझाएको उम्मेदवारको बन्दसूची संशोधन गर्न सात दिनको समय दिने निर्णय गरेको छ । निर्वाचन आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेद्वारा आज आइतबार जारी विज्ञप्तिमा सो निर्णय भएको जनाइएको हो ।
अक्सफोर्ड विश्वविद्यालयद्वारा प्राडा सुवेदीलाई महाविद्यावारिधि प्रदान
विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले अन्तर्राष्ट्रिय कानुनका ज्ञाता प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीलाई प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान गरेको छ ।
अध्यक्ष ली झान्शुले सोमबारदेखि नेपालको भ्रमण गर्नुहुने
सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शुले भोलि सोमबारदेखि नेपालको औपचारिक भ्रमण गर्ने हुनुभएको छ ।
जनता आवास कार्यक्रमबाट बनेका घर मान्छे नबस्दै जीर्ण
जनता आवास कार्यक्रमबाट निर्माण भएका घरहरु सेवाग्राही नबस्दै जीर्ण भएका छन् । डिजाइन इष्टिमेटअनुुसार निर्माण भएका घरमा सेवाग्राहीले बस्न नमान्दा घरहरु जीर्ण बनेका हुन् ।
पाँच दलीय गठबन्धनबीच सिट बाँडफाँट : सहमति प्रयास जारी
सत्ता साझेदार पाँच दलीय गठबन्धनबीच सिट बाँडफाँटको गृहकार्य सुरु भएको एक महिनाभन्दा बढी हुँदा पनि सहमतिको औपचारिक घोषणा हुन सकेको छैन। नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्षनेताबीच छलफल जारी रहे पनि सहमति जुट्न नसकेको हो।
सचिव पौड्याल भारत जानुहुने
परराष्ट्र सचिव भरतराज पौड्याल विदेश सचिवस्तरीय बैठकमा सहभागी हुन भारत भ्रमणमा जानुहुने भएको छ। भारतका विदेश सचिव विनयमोहन क्वात्राको मैत्रीपूर्ण निमन्त्रणामा सचिव पौड्याल भारत भ्रमणमा जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उहाँ यही भदौ २८ र २९ गते भारत भ्रमणमा रहनुहुने जनाइएको छ। भ्रमणका क्रममा दुई देशका विदेश सचिवबीच द्विपक्षीय बैठक हुनेछ। सो अवसरमा नेपाल–भारतबीच भएका सहकार्य र साझेदारीका विभिन्न पक्षमा छलफल हुनेछ।