• ७ जेठ २०८१, सोमबार

अक्सफोर्ड विश्वविद्यालयद्वारा प्राडा सुवेदीलाई महाविद्यावारिधि प्रदान

blog

महाविद्यावारिधि प्राप्त प्राडा सुवेदी (बायाँ) ।

लन्डन, भदौ २६ गते ।  विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले अन्तर्राष्ट्रिय कानुनका ज्ञाता प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीलाई प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान गरेको छ ।

प्राचीन शेल्दोनिअन थिएटरमा शनिबार आयोजित दीक्षान्त समारोहमा डा.सुवेदीलाई सो उपाधि प्रदान गरिएको हो ।

अक्सफोर्ड विश्वविद्यालयले अन्तर्राष्ट्रिय कानुन र मानव अधिकारको क्षेत्रमा असाधारण बौद्धिक योगदान दिएको भन्दै प्राध्यापक सुवेदीलाई तीन वर्षअघि महाविद्यावारिधि प्रदान गर्ने घोषणा गरे पनि कोभिडका कारण हुन नसकेको दीक्षान्त समारोह अहिले भएको थियो । विरलै प्रदान गरिने अक्सफोर्डको यो उपाधि धेरै शताब्दी अघि स्थापना भएको हो।

अक्सफोर्डको कानुन संकायका डीन प्राध्यापक आन डेभिसले सुवेदीलाई दीक्षान्त समारोहमा प्रस्तुत गर्नु भएको थियो भने अक्सफोर्डका उपकुलपतिले महाविद्यावारिधि उपाधि प्रदान गर्नुभयो । राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई सन् १९०८ मा  बेलायत भ्रमणको समयमा अक्सफोर्डले मानार्थ महाविद्यावारिधि प्रदान गरेको थियो।

झन्डै ११४ वर्षपछि उक्त उपाधि पाउने प्रा. सुवेदी पहिलो नेपाली हुनुहुन्छ । प्रा. सुवेदी उक्त विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो नेपाली पनि हुनुहुन्छ ।

समारोहको अधिकांश भाग प्राचीन ल्याटिन भाषामा सञ्चालन भएको थियो र सुवेदी पनि ल्याटिनमै दीक्षित हुनु भएको हो । दीक्षान्त समारोहपछि प्रा. सुवेदीले अध्ययन गरेको अक्सफोर्डको एकसेटर कलेजका प्राचार्य सर रिक ट्रेनरले सुवेदीको सम्मानमा एक दिवाभोज आयोजना पनि गर्नुभयो ।

(लण्डनबाट पत्रकार करुण अर्यालको सहयोगमा)