• १३ साउन २०८१, आइतबार

प्राध्यापक र कर्मचारीलाई अनिवार्य अवकाश

blog

रमेश विश्वकर्मा

गुल्मी, भदौ २६ गते। गुल्मीमा प्राध्यापक र कर्मचारीलाई अनिवार्य अवकाश गराइएको छ। जिल्लाको रेसुंगा बहुमुखी क्याम्पसमा वर्षेनी आर्थिक दायित्व बढ्दै गएपछि प्राध्यापक र कर्मचारीलाई अनिवार्य अवकाश गराइएको हो। 

क्याम्पसले प्राध्यापक र कर्मचारी गरेर नौ जनालाई अनिवार्य अवकाश दिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीले जानकारी दिनुभयो। उहाँका अनुसार सञ्चालक समितिको बैठकले सात प्राध्यापक र दुईजना कर्मचारीलाई अवकाश दिएको हो। 

समितिले सह–प्राध्यापक चन्द्रकान्त पन्थी, उप–प्रध्यापकहरु ढुण्डीराज पोखरेल, अशोक कुमार पाण्डे, विष्णुकान्त पन्थी, लक्षमण रिजाल, पदम प्रसाद पाण्डे र गोविन्द गौतमलाई अवकाश दिएको हो। 

त्यस्तै, कर्मचारीमध्ये स्टोरमा कार्यरत पिताम्बर मरासिनी र पुस्तकालयमा कार्यरत लोकनाथ गौतमलाई पनि अवकाश दिइएको छ। अवकाश पाएकामध्ये उप–प्रध्यापक रिजाल, पाण्डे र गौतमले भने स्वेच्छिक अवकाश लिन चाहानु भएको थिएन्। क्याम्पसले आर्थिक संकटकाल लगाएर स्वेच्छिक अवकाशको आशय पत्र माग गरेको थियो। जसमा १३ जनाले स्वेच्छिक अवकाश लिन चाहेका थिए। तर, सञ्चालक समितको बैठकले आर्थिक दायित्व नबढ्ने गरि नौ जनालाई मात्र अवकाश दिएको हो। 

क्याम्पस सञ्चालक समितिका अध्यक्ष भलामीका अनुसार त्रिभुवन विश्वविद्यालयको नियमानुसार दश जनाभन्दा कम विद्यार्थी भएमा कक्षा चलाउन नपाइने भएकोले विद्यार्थी सङ्ख्या कम भएका कक्षाका प्रध्यापकलाई अवकाश दिइएको हो। 

अवकाश पाएकालाई आर्थिक वर्षको असार मसान्तसम्म किस्ताबन्दीमा रकम उपलब्ध गराइने छ। क्याम्पसमा अहिले एक करोड ५८ लाखभन्दा बढी रकम प्राध्यापक र कर्मचारीलाई दिन बाँकी छ।