• १३ साउन २०८१, आइतबार

गुल्मीमा कांग्रेसबाट ५६ जनाको नाम सिफारिस

blog

बीपी स्मृति भवन तम्घास । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 

गुल्मी, भदौ २० गते । गुल्मीमा नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारका नाम सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको बैठकबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ ५६ जनाको नाम सिफारिस गरेको हो । 

दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा कांग्रेसको तर्फबाट आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकमा उम्मेदवारहरुको नाम सिफारिस गरेको सो दलले जनाएको छ । प्रतनिधिसभा क्षेत्रीय कार्यसमिति र प्रदेशसभा क्षेत्रीय कार्यसमितिबाट आएका उम्मेदवारका नाम लुम्बिनी प्रदेश कार्य समितिमा सिपmारिस गरिएको पार्टी सभापति खिलध्वज पन्थीले जानकारी दिनुभयो । सभापति पन्थीका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि १३ जना उम्मेदवार छन् । प्रतिनिधि सभा क्षेत्र नं.–१ मा प्रत्यक्षतर्फ ४ जना र समानुपातिकतर्फ ३ जना इच्छुक उम्मेदवारको नाम सिफारिस गरिएको छ । 

कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य डा. चन्द्र भण्डारीको नाम सिफारिस गरिएको छ । क्षेत्रीय सभापति पारिश्वर ढकाल, केन्द्रीय नीति अनुसन्धान प्रशक्षिण प्रतिष्ठानका पूर्व सदस्य योगराज कँडेल शर्मा र पूर्व महासमिति सदस्य भरतबहादुर बस्नेतको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको छ । समानुपातिकतर्फ पूर्व सांसद एवम् महाधिवेशन प्रतिनिधि झकबहादुर पुन, महासमिति सदस्य भगवती काफ्ले भण्डारी र सांसद एवम् महासमिति सदस्य सुवर्ण ज्वारचनको नाम सिफारिस गरिएको छ । 

प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा प्रत्यक्ष र समानुपातिकतर्फ तीन–तीन जनाको नाम सिफारिस गरिएको छ । कांग्रेसका केन्द्रीय सदस्य चन्द्रबहादुर केसीको नाम सिफारिस गरिएको छ । त्यस्तै, महासमिति सदस्य डा. दामोदर भुसाल र महाधिवेशन प्रतिनिधि त्रैलोक्यप्रताप सेनको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको सो दलले जनाएको छ ।

समानुपातिकतर्फ लुम्बिनी प्रदेश सदस्य कल्पना घिमिरे, नेपाल सांस्कृतिक संघ केन्द्रीय सदस्य गायत्री थापा, प्राध्यापक कृष्णबहादुर कुँवरको नाम सिफारिस भएको छ । प्रदेशसभा निर्वाचनका लागि जिल्लाबाट कांग्रेसको तर्फबाट प्रत्यक्ष र समानुपातिकमा ४३ जना उम्मेदवारको नाम सिफारिस भएको पार्टी सचिव भगतसिंह खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा प्रत्यक्षतर्फ १९ जना र समानुपातिकतर्फ २४ जना उम्मेदवार बन्न इच्छुक भएको हुँदा सबैको नाम लुम्बिनी प्रदेश कार्य समितिमा सिफारिस गरिएको छ । 

प्रदेशसभा क्षेत्र नं.–१ (क) मा प्रत्यक्षतर्फ ४ जना र समानुपातिकतर्फ ७ जना गरी ११ जनाको नाम सिफारिस भएको छ । प्रत्यक्षतर्फ महाधिवेशन प्रतिनिधि पृथबहादुर फौदार, प्रदेशसभा क्षेत्रीय सभापति सन्तोष गौतम, महासमिति सदस्य अमृत ज्ञवाली र महाधिवेशन प्रतिनिधि तुल्सीराम पाण्डेको नाम सिफारिस भएको छ । 

जिल्ला कार्यसमिति सचिव जगदीशप्रसाद भट्टराई, महाधिवेशन प्रतिनिधि विष्णुप्रसाद बलाल, पूर्व महाधिवेशन प्रतिनिधि रमेशकुमार भण्डारी, जिल्ला कार्यसमिति सदस्य निर्मला सुवेदी, क्षेत्रीय प्रतिनिधि आरती परियार, महाधिवेशन प्रतिनिधि भगवती अर्याल र जिल्ला कार्यसमिति सदस्य गंगादेवी भण्डारीको नाम समानुपातिकतर्फ सिफारिस गरिएको सो दलले जनाएको छ ।