• २२ असार २०८२, आइतबार

उत्कृष्ट नतिजा ल्याउने ८७ विद्यार्थी सम्मानित

blog

सम्मानित विद्यार्थीहरु । तस्बिर : इमान सिं राना

इमान सिं राना
रामपुर (पाल्पा), असार २२ गते ।
रामपुर नगरपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी र विद्यालय सम्मानित भएको छ । उत्कृष्ट जिपिएसहित उत्तीर्ण ८७ जना विद्यार्थी र १२ विद्यालयलाई नगरपालिकाले सम्मान गरेको हो ।

२०८१ को एसइईमा नगर भित्रका विद्यालय बाट ३.६ जिपिए वा सोभन्दा माथि नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान गरिएको हो । रामपुर नगरपालिकाबाट रामतुलसी माविका अनुजा श्रेष्ठ र विविशा घिमिरेले चार जिपिए नतिजा ल्याउनुभएको थियो । चार जिपिए ल्याउन सफल दुई विद्यार्थीलाई नगद पाँच हजारसहित सम्मान पत्र र ३ दशमलव ६ जिपिए वा सोभन्दा बढी अङ्क ल्याउने ८५ जना विद्यार्थीलाई नगद दुई हजारसहित सम्मानपत्रमार्फत सम्मान गरिएको हो ।

साथै ३ दशमलव ६ वा सोभन्दा बढी जिपिएसहित उत्तीर्ण गराउन सफल १२ विद्यालयलाई नगरपालिकाले सम्मानपत्र प्रदान गरेको छ । रामपुर नगर प्रमुख रमण बहादुर थापा र उपप्रमुख बालकुमारी थापाले सम्मान प्रदान गर्नुभएको हो । सम्मान प्रदान गर्नुहुँदै नगरप्रमुख थापाले एसइईमा उत्कृष्ट नतिजा ल्याएर विद्यार्थीहरुले नगरको गरिमा बढाउन सफल भएको बताउनुभयो ।

मेयरसँग बालबालिका एवम् उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रमको अवसरमा नगरभित्रका ५२ वटा सामुदायिक विद्यालय र १ वटा क्याम्पसका तीन सय ३६ विद्यार्थीलाई मेयर छात्रवृत्ति कार्यक्रममार्फत छात्रवृति प्रदान गरिएको थियो । प्राविधिक धारणका २३ जना विद्यार्थीलाई चार÷चार हजार र अन्य साधारणतर्फका विद्याथीहरुलाई दुई हजार पाँच सयका दरले ११ लाख ९९ हजार चार सय रुपियाँका बराबरको छात्रवृति प्रदान गरिएको नगर शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिनुभयो ।