• ६ जेठ २०८३, बुधबार

डुडियाघाट पक्की पुल उद्घाटन, आवतजावत सहज हुने

blog

बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखरा र काठेखोला गाउँपालिका–४ तङ्ग्राम जोड्ने डुडियाघाट पक्की पुल उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीत शेरचन । तस्बिरः नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट), जेठ ६ गते ।
बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखरा र काठेखोला गाउँपालिका–४ तङ्ग्राम जोड्ने डुडियाघाटमा निर्माण सम्पन्न पक्की पुल उद्घाटन गरिएको छ । पुलको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीत शेरचनले गर्नुभएको हो ।

उद्घाटनपछि बोल्दै मन्त्री शेरचनले प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठाउनेहरूलाई विकासले नै जवाफ दिएको बताउनुभयो ।

“काठेखोलामा तीन वटा पक्की पुल प्रदेश सरकारले निर्माण गरेको छ । सङ्घीय सरकारले बनाउन नसक्ने होइन, तर सङ्घीयताको मर्मअनुसार विकास भइरहेको छ । प्रदेशको काम छैन भन्नेहरूलाई विकासले जवाफ दिइरहेको छ,” मन्त्री शेरचनले भन्नुभयो ।

बागलुङको काठेखोला गाउँपालिकाभित्र बाह्रै मास सवारीसाधन सञ्चालन गर्ने योजनाअनुसार डुडियाखोलाको डुडियाघाटमा पक्की पुल निर्माण गरिएको हो ।

गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत तीन करोड ६२ लाख २२ हजार रुपियाँ खर्चेर पुल निर्माण सम्पन्न गरिएको हो । ठेक्का पाएको बीएमए निर्माण सेवाले २०८० कात्तिक १७ गते सम्झौता गरी २०८२ वैशाखसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो । तर निर्माण कम्पनीले सम्झौताभन्दा करिब एक वर्ष ढिलो गरी निर्माण कार्य सम्पन्न गरेको छ ।

उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले काठेखोलामा विकास निर्माणले गति लिएको बताउनुभयो । उहाँले सडक कालोपत्रे, पुल निर्माणलगायतका काम निरन्तर भइरहेको जानकारी दिनुभयो ।

आरसीसीटी बिम प्रकारको उक्त पुल ८ दशमलव ४० मिटर चौडाइ र २० मिटर लम्बाइको रहेको निर्माण व्यवसायी विमलेश आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पुल निर्माण सम्पन्न भई हस्तान्तरणको प्रक्रियामा पुगेको छ ।

गत वर्षमै सम्पन्न गर्नुपर्ने पुलको ढलान कार्य पहिल्यै सकिए पनि दुवैतर्फको सडक निर्माण बाँकी रहनु तथा भुक्तानीमा ढिलाइ भएकाले पुल निर्माण एक वर्षपछि मात्रै सम्पन्न भएको आचार्यले बताउनुभयो ।

पुल निर्माणपछि काठेखोला गाउँपालिकाका तङ्ग्राम, धम्जा तथा ताराखोला गाउँपालिका पुग्ने छोटो सडक बाह्रैमास सञ्चालनमा आउने भएको छ ।

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले गण्डकी प्रदेश सरकारले गाउँपालिकाभित्र तीन स्थानमा पक्की पुल निर्माण गरेपछि वर्षायाममा यातायात अवरुद्ध नहुने बताउनुभयो ।

उहाँका अनुसार रेश जाने सडकअन्तर्गत रेशस्थित एक्लेखेत, लामाबगर खोला र डुडियाघाटमा पक्की पुल बनेपछि गाउँपालिकाका सबै वडामा बाह्रैमास सवारीसाधन सञ्चालन हुने भएको छ ।

गण्डकी प्रदेश सरकारको करिब १२ करोड रुपैयाँ लगानीमा यी तीन पुल निर्माण सम्पन्न भएका हुन् ।

“प्रदेश सरकारले पक्की पुल निर्माणमा सहयोग गरेपछि काठेखोलामा बाह्रैमास सवारीसाधन सञ्चालन सम्भव भएको छ । दुई वर्षअघि रेश र तीन वर्षअघि लामाबगरमा पुल बनेपछि सहज भएको थियो । अहिले डुडियाघाटको पुल पनि सम्पन्न भएको छ,” अध्यक्ष थापाले भन्नुभयो, “पहिले बर्खामा यातायात ठप्पजस्तै हुन्थ्यो, अब सहज भएको छ । अब गाउँपालिकाको ध्यान सडक स्तरोन्नतिमा केन्द्रित हुन्छ ।”

गाउँपालिकाको वडा नम्बर–६ बिहुँ र वडा नम्बर–२ भीमापोखरा जोड्ने लामाबगरमा तीन वर्षअघि ३० मिटर लामो पक्की पुल तीन करोड ३१ लाख रुपैयाँ लागतमा निर्माण गरिएको थियो । त्यस्तै, दुई वर्षअघि रेश जाने सडकको एक्लेखेतमा २५ मिटर लामो पक्की पुल पाँच करोड रुपैयाँ लागतमा निर्माण गरिएको थियो ।