प्रिपेड डलर कार्ड लिने अठतीस हजार नाघे
विदेशमा भुक्तानी गर्नुपर्ने अमेरिकी डलर भुक्तानी सहजताका लागि हालसम्म ३८ हजार ६६ जनाले प्रिपेड डलर कार्ड लिएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । २०७७ चैत ८ गते केन्द्रीय बैङ्कले निर्देशन जारी गर्दै ‘क’ र ‘ख’ वर्गका बैङ्क तथा वित्तीय संस्थाले यस्तो कार्ड जारी गर्न अनुमति दिएको थियो । यस्तो कार्डमार्फत वार्षिक पाँच सय अमेरिकी डलरसम्म भुक्तान गर्न सकिन्छ ।
साँघुरिँदै जुट खेती
एक दशकयता तराई क्षेत्रमा प्रमुख नगदे बालीका रूपमा लगाइने जुट खेती क्रमिक रूपमा घट्दै आएको छ । उन्नत जातको बीउ, मल, सिँचाइ र कामदारको अभाव अनि तयारी गर्ने बेलामा पानीको समस्या भएकाले प्रत्येक वर्ष जुट खेती लगाउने क्रम घटेको हो । तयारी जुट बेच्न समस्या र उचित मूल्य नपाउने समस्याले पनि किसान जुट खेतीबाट विमुख हुन थालेका हुन् । कृषि ज्ञान केन्द्र, सुनसरीका प्रमुख नीलकमल सिंहले खेतीका बेला विभिन्न समस्या हुने र उत्पादन भएको जुटले मूल्य नपाउने समस्याले सुनसरीका किसानले जुट खेती गर्न बिस्तारै कम गर्दै आएको बताउनुभयो ।
इन्टरनेट कम्पनीलाई मर्जरको बाटो खुल्दै
अनुमति लिने तर सेवा सञ्चालन नगर्ने इन्टरनेट सेवा प्रदायकलाई व्यवस्थित गर्न नेपाल दूरसञ्चार प्राधिकरणले मर्जरको बाटो खोलिदिने भएको छ । बजारमा थोरै मात्र सेवा प्रदायकको बलियो उपस्थिति रहेको र धेरैले सेवा नै प्रदान गर्न नसकिरहेको अवस्थामा प्राधिकरणले अनुमतिपत्रको अधिकतम उपयोगका लागि यसको कानुनी समाधान सिर्जना गर्न लागेको हो । हालै मात्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पारित गरेको चालू आर्थिक वर्षको प्राधिकरणको वार्षिक कार्यक्रममा मर्जर तथा एक आपसमा गाभिने प्रक्रिया समावेश गरिएको हो । वार्षिक कार्यक्रममा इन्टरनेट सेवा प्रदायकको ‘मर्जर तथा गाभिनेसम्बन्धी कार्य’ गर्ने उल्लेख छ । मन्त्रालयले नै प्रस्ताव गरेको यस कार्यक्रमअन्तर्गत प्राधिकरणले यस वर्ष परामर्शदाताबाट प्रारम्भिक अन्तिम प्रतिवेदन प्राप्त गर्नेछ ।
सी–आस्वामा छुट
नेपाल बैङ्कले धितोपत्र आवेदन गर्दा लाग्ने शुल्क हटाएको छ । ग्राहकले धितोपत्र आवेदनमा तिर्नुपर्ने सी–आस्वा शुल्कमा पूरै छुट पाउने सो बैङ्कले जनाएको छ । हाल नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिदसम्बन्धी सुविधा उपलब्ध गराएबापत बैङ्क तथा वित्तीय संस्थाले बढीमा पाँच रुपियाँ सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ ।
डलर कर्जा ल्याउने सम्झौता
एनएमबी बैङ्क र ब्रिटिस अन्तर्राष्ट्रिय लगानी (बीआईआई) बीच अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउनेबारे सम्झौता भएको छ । सो सम्झौताबमोजिम एनएमबी बैङ्कले बीआईआईबाट दुई करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा पाउने छ । आन्तरिक स्रोतले मात्र हाल बजारको मागलाई धान्न नसकिरहेको परिस्थितिमा उक्त कर्जाले जलस्रोत तथा नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी बढाउन मदत पुग्ने एनएमबी बैङ्कले जनाएको छ ।
नियुक्तिपत्र प्रदान
उच्चस्तरीय तलब सुविधा आयोगका संयोजक तथा सदस्यलाई नियुक्तिपत्र प्रदान गरिएको छ। अर्थमन्त्री जनार्दन शर्माले मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा आयोगका संयोजक पूर्वमुख्यसचिव लीलामणि पौड्याल तथा सदस्यद्वय पूर्वसचिव विमल वाग्ले र नेपाल राष्ट्र बैङ्कका पूर्वकार्यकारी निर्देशक शिवनाथ पाण्डेलाई नियुक्तिपत्र प्रदान गर्नुभयो। चालू आर्थिक वर्षको बजेटमा राष्ट्रसेवक कर्मचारीको न्यूनतम तलब र सुविधा पुनरवलोकन गर्न तथा श्रमिकको तलब सुविधाको अध्ययन गरी नेपाल सरकारलाई सिफारिस गर्न उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने व्यवस्थाबमोजिम आयोग गठन गरिएको थियो।
पचास करोड लगानीमा दाल प्रशोधन उद्योग
दाल प्रशोधन गरेर बजारमा बिक्रीवितरण गर्ने उद्देश्यसहित मोरङको बुढीगङ्गा–५, हात्तीमुढामा नयाँ उद्योग सञ्चालनमा आएको छ । तीनजना लगानीकर्ताको ५० करोड रुपियाँको लगानीमा स्थापना गरिएको जैन फुड्स प्रोसेसिङ प्रालिले दालको प्रशोधन सुरु गरेको हो । नेपाली भान्सामा गुणस्तरीय दाल पु-याउने लक्ष्यसहित मङ्गलबार उद्योगको उत्पादन सार्वजनिक गरिएको छ ।
लघु बीमा विस्तार गरिँदै
ठूला बीमा कम्पनीले लघु बीमामा जान नमानेपछि नियामक निकाय बीमा समितिले नयाँ लघु बीमा कम्पनी स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ । समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले विद्यमान बीमा कम्पनीले लघु बीमाको लक्ष्य पूरा गर्न नसकेपछि बाध्य भएर लघु बीमा कम्पनीको स्थापना गर्न लागिएको बताउनुभयो । अहिलेका बीमा कम्पनीले समग्र व्यवसायमा दुई प्रतिशत मात्रै लघु बीमा गरेको जानकारी दिँदै अध्यक्ष सिलवालले गरिबी निवारणको एउटा उपकरण लघु बीमा भएको बताउनुभयो । ठूला बीमा कम्पनीलाई मर्जर गराएर क्षमता बढाउने विषय र लघु बीमा कम्पनीको स्थापना नितान्त फरक विषय भएको उहाँले बताउनुभयो ।
लुम्बिनीमा २० वटा औद्योगिक ग्राम बन्दै
लुम्बिनी प्रदेशका २० वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरिएको छ । सङ्घीय सरकारले २०७६ सालदेखि २०७९ सालसम्ममा यस प्रदेशका २० स्थानीय तहमा औद्योगिक क्षेत्र घोषणा गरे पनि अधिकांश स्थानमा अझै औद्योगिक ग्राम निर्माण हुन भने सकेका छैनन् । १०९ स्थानीय तह रहेको लुम्बिनी प्रदेशमा सङ्घीय सरकारले पटक–पटक गरेर २० वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरेको हो । रुपन्देही जिल्लाको सैनामैना नगरपालिका र तिलोत्तमा नगरपालिका, पाल्पाको रामपुर नगरपालिका, तानसेन नगरपालिका र रैनादेवी छहरा गाउँपालिका, नवलपरासीको सुनवल नगरपालिका र बर्दघाट नगरपालिका, दाङको तुलसीपुर उपमहानगरपालिका, बाँकेको खजुरा गाउँपालिका, प्युठानको स्वर्गद्वारी नगरपालिका, कपिलवस्तुको वाणगङ्गा नगरपालिका, अर्घाखाँचीको सन्धीखर्क नगरपालिका, पणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकामा औद्योगिक ग्राम निर्माण गरिने भएको छ ।
छ वस्तुको आयात फुकुवा
सरकारले आयात प्रतिबन्ध लगाएका दस वस्तुमध्ये छवटाको प्रतिबन्ध फुकुवा गरेको छ । बाँकी चार वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिएको छ । यसअघि प्रतिबन्ध लगाइएका कुरकुरे, कुरमुरे, लेजजस्ता उत्पादन, चुरोट तथा सुर्तीजन्य वस्तु, हीरा, ३२ इन्चभन्दा माथिका रङ्गीन टेलिभिजन, सबै प्रकार खेलौना र तासको आयात बन्देज खुला भएको हो । यससम्बन्धी सूचना सोमबार राजपत्रमा प्रकाशित भएको छ ।
खराब मौसमका कारण रोकिए पर्यटक
नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न गएका ५६ पर्यटकको टोली लिमीको ताक्चीमा रोकिएको छ । दर्शन गरेर फर्किएको यो टोली खराब मौसमको कारण हेलिकोप्टर उडान नहुँदा ताक्चीमा रोकिको हो । मानसरोवर कैलाशको दर्शन गरेर सोमबार सिमकोट आउनुपर्ने ५६ जना धार्मिक पर्यटक ताक्चीमै रोकिएको ट्रेकर सोसाइटीका प्रबन्धक प्रह्लाद लिम्बूले जानकारी दिनुभयो । ती पर्यटकलाई हेलिकोप्टरबाट सिमकोट ल्याउने कार्यक्रम रहेको भए पनि खराब मौसमका कारण हेलिकोप्टरले उडान भर्न नसकेपछि पर्यटक ताक्चीमै रोकिएका हुन् । त्यस्तै खराब मौसमकै कारण लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न ताक्ची पुगेका ९४ जना पर्यटक पनि रोकिएका छन् । खराब मौसमका कारण यो टोलीले कैलाश दर्शन गर्न सकेको छैन ।
उद्योगलाई समस्या हुने आशङ्का
विराटनगरका उद्योगी व्यवसायीले नेपाल राष्ट्र बैङ्कको चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनले उत्पादनमूलक उद्योग समस्यामा पर्ने बताएका छन् । नेपाल राष्ट्र बैङ्कले २०७९ कात्तिक १ गतेदेखि बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह हुने चालू पुँजी प्रकृतिका कर्जा सम्बन्धमा लागू हुने गरी जारी गरेको ‘चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९’ ले उत्पादनमूलक उद्योग सञ्चालनमा समस्या हुने बताइएको छ ।
एकै जनाले फलाउँदै तीन करोडको स्याउ
मुस्ताङी स्याउको स्वाद धेरैको जिब्रोमा झुन्डिएको छ । हिमालपारिको जिल्ला मुस्ताङमा व्यावसायिक रूपमा स्याउ खेती गरेर स्वादिलो स्याउ घरघरमा पु-याउने थोरै किसानमध्ये घरपझोङ गाउँपालिका–५, ढुम्बाका कर्म गुरुङ अग्रस्थानमा हुनुहुन्छ । उहाँ मुस्ताङमा व्यावसायिक रूपमा स्याउखेती गर्ने पहिलो व्यक्ति मानिनुहुन्छ । मुस्ताङको सदरमुकाम जोमसोम पारिपट्टि रहेको क्षेत्रमा उहाँको मुख्य रूपमा स्याउखेती रहेको भए पनि अन्यत्र सात स्थानमा बगान छ । गत वर्ष उत्पादन राम्रो नभएको अवस्थामा झन्डै दुई करोड रुपियाँको स्याउ बेचेको दाबी गर्ने गुरुङ यस वर्ष तीन करोड रुपियाँको बिक्री हुने अनुमान गर्नुभयो । उहाँले भन्नुभयो, “यस वर्ष स्याउको बोटमा लागेको फल र बजार मूल्यका आधारमा तीन करोड रुपियाँ आउने अपेक्षा गरेको छु ।”
सतहत्तरै जिल्लामा बहुक्षेत्रीय पोषण कार्यक्रम
बहुक्षेत्रीय पोषण योजना ७७ वटै जिल्लामा सञ्चालन गरिने भएको छ । कुपोषणको समस्या न्यूनीकरण गर्न सरकारले बहुुक्षेत्रीय पोषण योजना कार्यक्रम सन् २०१३ देखि सञ्चालनमा ल्याएको थियो । मातृ तथा बाल्य अवस्थामा हुने कुपोषणलाई दु्रत गतिमा न्यूनीकरण गर्न सरकारले बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनमा ल्याएको हो । पहिलो चरणमा ३० जिल्लामा सञ्चालन गरिएको यो कार्यक्रम दोस्रो चरण (सन् २०१८ देखि २०२२ सम्म)मा ७२ जिल्लामा सञ्चालन भएको थियो । कार्यक्रमको तेस्रो चरण सन् २०२३ देखि सुरु गरिने राष्ट्रिय योजना आयोगले जनाएको छ । दिगो विकास लक्ष्यसँग जोडेर बहुक्षेत्रीय पोषण योजना सन् २०३० सम्म सञ्चालन गरिनेछ । यस कार्यक्रमले स्वास्थ्य, कृषि, पशु स्वास्थ्य खानेपानी, स्थानीय शासन, महिला बालिकाका क्षेत्रमा काम गर्दै आएको छ ।
तरकारीको मूल्य बढ्यो
तीजको मुखमा दैनिक उपभोग्य तरकारीको भाउ महँगिएको छ । तीजमा ताजा हरियो तरकारीको माग बढेको तर उत्पादन घटेकाले तरकारीको मूल्य वृद्धि भएको हो । गत सातासम्म प्रतिकेजी ७०–७५ रुपियाँ थोक र ९० रुपियाँ खुुद्रा मूल्य रहेको स्थानीय काउली तीजसम्म आइपुुग्दा थोकमा १३० रुपियाँ र खुद्रामा दोब्बरभन्दा बढीले महँगिएको छ । देशकै ठूलो तरकारी बजार कालीमाटीमा थोकमा प्रतिकेजी स्थानीय काउली १२० रुपियाँसम्म कारोबार भएको छ भने त्यही बजारमा खुद्रामा १८० रुपियाँ प्रतिकेजीमा किनबेच भइरहेको छ । सो बजारमा एक साताअघि स्थानीय काँक्रो प्रतिकेजी ७०–७५ रुपियाँमा बिक्री भएकामा अहिले बढेर थोकमै १४० रुपियाँ पुगेको छ । खुद्रामा त प्रतिकेजी दुई सय रुपियाँ पुगेको छ । चाडपर्वमा बढी माग हुने काउली, च्याउ, तामा, गाँजर, घिउ सिमी, काँक्रोलगायतका तरकारीको मूल्य वृद्धि भएको छ । उत्पादन स्थलमै महँगो भएकाले काठमाडौँसम्म आइपुग्दा यसको मूल्य अझै बढेको व्यापारी बताउँछन् ।
बन्यो विमानस्थल आएन जहाज
गुल्मीको सिमीचौरमा विमानस्थल निर्माण भएको पाँच वर्षभन्दा बढी भइसकेको छ तर अहिलेसम्म विमान सेवा सञ्चालन हुनसकेको छैन । ३३ करोड रुपियाँभन्दा बढी लगानी गरेर निर्माण सम्पन्न गरिएको यो विमानस्थलमा निर्माण भएका पूर्वाधार बिग्रिने अवस्थामा पुगेका छन् । स्थानीय बासिन्दा भने कहिले जहाज आउँछ भनेर प्रतीक्षा गरेर बसेका छन् । सम्पूर्ण पूर्वाधार तयार भएर रङरोगन गरिसकिएको यो विमानस्थल घुम्न आउने बढेका छन् ।
विश्व बैंकले १२ अर्ब ७५ करोड बराबरको सहुलियतपूर्ण ऋण दिने
विश्व बैंकले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रीड) का लागि करिब १२ अर्ब ७५ करोड रुपियाँ (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।
बुटवल सिमेन्ट उद्योग बन्द
पश्चिम नवलपरासीको सुनवल नगरपालिका–९, काशीपुरमा सञ्चालनमा रहेको बुटवल सिमेन्ट मिल्स प्रालि बन्द भएको छ । २०५६ सालमा स्थापना भई क्लिङ्कर र सिमेन्ट उत्पादन गर्दै आएको यो उद्योगका सबै उत्पादन गत साउन २१ गतेदेखि पूर्ण रूपमा बन्द भएको उद्योगका प्रबन्धक लीलाप्रसाद पाण्डेले जानकारी दिनुभयो । कोभिड–१९ महामारीको समयमा बन्द भएको उद्योग महामारी कम भएपछि सञ्चालन भएको थियो तर अहिले उद्योगलाई चाहिने कच्चा पदार्थको मूल्यमा भएको वृद्धि, विद्युत् अभाव, उत्पादित सामानको न्यून मूल्यलगायत उद्योगका समस्यामा सरकारको बेवास्ताले उद्योग बन्द हुन पुगेको उद्योगका प्रबन्धक पाण्डेले बताउनुभयो ।
विद्युत् उत्पादन बढाउन खुकुलो मापदण्ड
अब बन्ने जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बर्सातमै अझै बढी हुन सक्ने गरी प्रवद्र्धकलाई अवसर दिइने भएको छ । आयोजनाको उत्पादन क्षमता निर्धारणका लागि कार्यान्वयन गर्दै आएको डिजाइन डिस्चार्जको क्यु क्राइटेरिया खुकुलो बनाइने भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालको जलस्रोतको उच्चतम सदुपयोग गर्ने गरी आयोजनाको क्षमता विस्तार गर्न यस्तो व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो । “विगतमा विद्युत्को बजार छैन भन्दै कडा मापदण्ड राखिएको थियो होला तर अहिले अवस्था त्यस्तो छैन । क्षेत्रीय बजारमा बिजुली बेच्ने र स्वदेशमै पनि खपत विस्तार गर्न सक्ने अवस्था बनेको छ,” मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो ।
जनशक्ति अभाव हुँदै गएकामा चिन्ता
उद्योगलाई आवश्यक दक्ष श्रमशक्तिको अभावमा उत्पादनमा प्रत्यक्ष असर परेको र मुलुकभित्रै रोजगारीको अवसरसमेत गुम्दै गएकोतर्फ सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । उद्योगलाई आवश्यक पर्ने जनशक्ति उत्पादनमा सरकारसँग सहकार्य गर्न तत्पर रहेको भन्दै उद्योगी व्यवसायीले यसका लागि वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, प्रदेश १ सहित विभिन्न पाँचवटा उद्योगी तथा व्यावसायिक सङ्घसंस्थाको सहकार्यमा आइतबार विराटनगरमा आयोजित श्रम बजार सूचना कार्यशालामा सहभागीले युवाको श्रम दक्षता वृद्धि गर्दै नेपालमै काम गर्ने वातावरण बनाउन जरुरी रहेको औँल्याएका हुन् ।
गुणस्तर सुधारको खोजी
नेपाली चियाको बजार यतिबेला अन्योलमा छ । नेपाली चियाको मुख्य बजार भारतले चिया आयातमा कडाइ गर्ने भएपछि चिया उत्पादक चिन्तित बनेका छन् । अहिले नेपाली चिया उत्पादक वैकल्पिक बजारसँगै गुणस्तर सुधारको खोजीमा लागि परेका छन् । भारतले चिया आयातमा व्यवधान ल्याउने भएपछि नेपाली चिया उद्योगी यतिबेला गुणस्तर सुधार गरेर तेस्रो देश निर्यात गर्ने सोचमा छन् ।
लाप्चाबाट कैलाश दर्शन गर्ने बढे
यस वर्षको पहिलो विदेशी पर्यटकको समूहले नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गरेको छ । हुम्लाको सदरमुकाम सिमकोट आइपुगेको चौथो दिन पर्यटकले मानसरोवर कैलाशको दर्शन गरेको हो । ट्रेकर सोसाइटीका प्रबन्धक प्रह्लाद लिम्बूले विभिन्न मुलुकका ५६ जनाको टोलीले लाप्चाबाट शनिबार दिउँसो मानसरोवर कैलाशको दर्शन गरेको बताउनुभयो ।
गौतम बुद्ध विमानस्थलबाट कार्गो सुरु
व्यावसायिक रूपमा सञ्चालनमा आएको तीन महिनापछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो सेवा सुरु भएको छ । शुक्रबार पहिलोपटक काठमाडौँको हिमालेक्स ट्रेडर्सले राइजिङ स्टार कार्गो प्रालिमार्फत कार्गो विदेश पठाउन सुरु गरेको हो । हाल कुवेतको जजिरा एयरले साताको तीनवटा उडान गर्दै आएको भैरहवा विमानस्थलमा यात्रु जहाजबाटै कार्गो पठाउन सुरु भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बताउनुभयो । काठमाडौँबाट ट्रकमार्फत भैरहवा पु-याइएको एक हजार तीन सय किलो हस्तकला र ऊनजन्य सामान निकासी गरिएको सो विमानस्थलका भन्सार प्रमुख टीकाराम गैरेले बताउनुभयो । उक्त कार्गो कुवेत ट्रान्जिट भएर शनिबार बिहान ७ बजेको उडानमार्फत फ्रान्स पठाइएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भन्सार महसुल, भूमिस्थ सेवालगायतका छुट सुविधाले गर्दा भैरहवाबाट भाडादरसमेत सस्तो छ । यसले यो विमानस्थलमा आकर्षण बढाउन र विदेशी मुद्रा आर्जनमा सहयोग पु¥याउने विश्वास छ । हाललाई यात्रु उडानमार्फत नै कार्गो निकासी सुरु भएको हो
तीजले बढायो सुनको कारोबार
चाडपर्व नजिकिएसँगै बजारमा सुनचाँदीको कारोबार बढ्न थालेको छ । काठमाडौँको नयाँ सडकका पसलमा अहिले गहना किन्ने ग्राहकको भीड लाग्ने थालेको छ । महिलाको चाड तीजको चहलपहल बढेको र दशैँ, तिहार, छठजस्ता ठूला चाडपर्व नजिकिएकाले नयाँ सुनका गहनाको कारोबारमा उलेख्य वृद्धि भएको व्यवसायीले बताएका छन् । गत जेठ, असार र साउन महिनामा बिक्री न्यून रहेकामा भदौ महिनादेखि कारोबार दोब्बरले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो । महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले भदौ महिनासँगै चाडपर्व सुरु भएकाले सुनचाँदीको कारोबार दिनप्रतिदिन बढ्दै गएको बताउनुभयो । यसअघि दैनिक १० किलोग्रामको हाराहारीमा सुन बिक्री भइरहेकामा अहिले दैनिक २५ किलोग्रामसम्म सुन बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो । “भदौ लागेसँगै चाडबाड पनि नजिकिन थालेकाले बजारमा सुनको माग बढ्न थालेको हो,” शाक्यले भन्नुभयो ।