नवराज कट्टेल
विराटनगर, भदौ १४ गते । विराटनगरका उद्योगी व्यवसायीले नेपाल राष्ट्र बैङ्कको चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनले उत्पादनमूलक उद्योग समस्यामा पर्ने बताएका छन् ।
नेपाल राष्ट्र बैङ्कले २०७९ कात्तिक १ गतेदेखि बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह हुने चालू पुँजी प्रकृतिका कर्जा सम्बन्धमा लागू हुने गरी जारी गरेको ‘चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९’ ले उत्पादनमूलक उद्योग सञ्चालनमा समस्या हुने बताइएको छ ।
उद्योग सङ्गठनले आयोजना गरेको सो कार्यक्रममा सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलले नेपाल राष्ट्र बैङ्कले कर्जा प्रयोगलाई सूक्ष्म निगरानीमा राखी पुँजी पलायन गर्नेलाई कारबाहीको दायरामा ल्याउनु सान्दर्भिक भएको बताउनुभयो तर उत्पादनमूलक क्षेत्रको हकमा चालू पुँजी कर्जाको सीमा तोकिँदा ती उद्योग सञ्चालनमा अवरोध नहुने व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
वर्षमा एक पटक सिजनमा वर्षभरिलाई चाहिने कच्चा पदार्थ खरिद गरी भण्डारण गर्ने प्रकृतिका उद्योगलाई कर्जा सीमा तोकिएमा बन्द गर्नुपर्ने अवस्था सिर्जना हुने बताउँदै उहाँले कच्चा पदार्थ आयात गर्ने उद्योगको हकमा वस्तु उत्पादन, भण्डारण, बिक्री र बजारबाट पैसा आउन करिब छ महिना चालू पुँजी होल्ड हुने बताउनुभयो ।
“मार्गदर्शन कार्यान्वयनबाट उद्योग व्यवसाय सञ्चालनमा कठिनाइ हुने हो कि भन्ने आशङ्का छ । अन्तर्राष्ट्रिय बजारमा भएको कच्चा पदार्थ, इन्धनको मूल्य वृद्धि, ब्याजदरको वृद्धिलगायतले उद्योगको लजिस्टिक खर्चमा वृद्धि भइरहेको छ ।
यस्तो अवस्थामा अनुमानित वित्तीय विवरण र चालू पुँजीको वास्तविक आवश्यकताबीच सीमा निर्धारणमा एकरूपता कायम गर्न असहज हुन्छ,” अध्यक्ष प्याकुरेलले भन्नुभयो ।
नेपाल राष्ट्र बैङ्क, प्रादेशिक कार्यालय विराटनगरका निर्देशक मीना पाण्डेले वर्तमान मार्गदर्शनबाट कुनै प्रकारको अप्ठ्यारो सिर्जना नहुने उहाँले स्पष्ट पार्नुभयो ।
राष्ट्र बैङ्कले जारी गरेको चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ ले दीर्घकालीन कर्जा प्रवाहलाई सहज र पारदर्शी बनाउने उहाँको दाबी थियो ।
नेपाल बैङ्कर्स एसोसिएसन प्रदेश १ का अध्यक्ष विवेक निरौलाले यो मार्गदर्शनले दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने भएकाले उद्योगी व्यवसायी आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो ।
कार्यक्रममा सङ्गठनका पूर्वअध्यक्ष शिवशङ्कर अग्रवाल, एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान)का प्रदेश अध्यक्ष मनोज अधिकारी, सङ्गठनका उपाध्यक्ष राजकुमार गोल्छा, नन्दकिशोर राठी, कार्यसमिति सदस्य सञ्जय अग्रवाल, तारानाथ निरौला, सुदीप घिमिरे, उद्योगी व्यवसायीलगायत बैङ्कर्स एसोसिएसन र आइक्यानका प्रतिनिधिको सहभागिता रहेको थियो ।