• ८ मंसिर २०८१, शनिबार

साँघुरिँदै जुट खेती

blog

जयकृष्ण यादव

इनरुवा, भदौ १६ गते । एक दशकयता तराई क्षेत्रमा प्रमुख नगदे बालीका रूपमा लगाइने जुट खेती क्रमिक रूपमा घट्दै आएको छ । उन्नत जातको बीउ, मल, सिँचाइ र कामदारको अभाव अनि तयारी गर्ने बेलामा पानीको समस्या भएकाले प्रत्येक वर्ष जुट खेती लगाउने क्रम घटेको हो । तयारी जुट बेच्न समस्या र उचित मूल्य नपाउने समस्याले पनि किसान जुट खेतीबाट विमुख हुन थालेका हुन् ।

कृषि ज्ञान केन्द्र, सुनसरीका प्रमुख नीलकमल सिंहले खेतीका बेला विभिन्न समस्या हुने र उत्पादन भएको जुटले मूल्य नपाउने समस्याले सुनसरीका किसानले जुट खेती गर्न बिस्तारै कम गर्दै आएको बताउनुभयो । 

यस जिल्लामा आव २०६०/६१ मा चार हजार हेक्टर क्षेत्रफलमा जुट खेती गरिएकामा अहिले एक हजार ३५२ हेक्टरमा सीमित भएको छ । धानबाली लगाउने क्रम बढेको र तरकारी बालीमा आकर्षण बढेकाले पनि जुट खेती घटेको प्रमुख सिंहले बताउनुभयो । 

कुनै बेला जुटखेतीका लागि उर्वर मानिने यस क्षेत्रमा हालका वर्षहरूमा यसको खेती घट्दै गएको छ । यस जिल्लाको दक्षिणवर्ती/सीमावर्ती क्षेत्र नरसिंह भोक्राहा गाउँपालिका, हरिनगर गाउँपालिकाको गौतमपुर, रामनगर भुटाहा, घुस्की, वसन्तपुर, कोसी गाउँपालिकाको पश्चिम कुशाहा, लौकही, श्रीपुर र हरिपुर क्षेत्रमा जुट खेती अहिले आधाभन्दा कम भइसकेको ज्ञान केन्द्रले जनाएको छ । 

त्यसैगरी देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्ज, मध्यहर्षाही, राजगञ्ज सिनुवारी, साहेबगञ्ज, इनरुवा नगरपालिकाको बबिया र जल्पापुरलगायतका क्षेत्रका किसानले लगाउँदै आएका जुट (पटुवा) यस वर्ष आधाभन्दा कम छ । थोरै जग्गामा जुट खेती भए पनि मजदुरको अभावमा अहिलेसम्म जुट खेतमै सुक्ने अवस्था आएको स्थानीय किसान वीरेन्द्र यादवले बताउनुभयो । 

विगतमा प्रमुख नगदेबालीका रूपमा खेती हुने जुट अहिले वार्षिक दुई हजार २८ मेट्रिक टन जुट उत्पादन भइरहेका ज्ञान केन्द्रका सूचना अधिकारी योगेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो ।

जुट खेती कम हुन थालेपछि जुट उद्योगलाई कच्चा पदार्थको कमी हुन थालेको छ । यी उद्योग बङ्गलादेश, भारतलगायतबाट जुट आयात गर्छन् । एकताका कच्चा जुट निकासी गर्दै आएको नेपालले कच्चा जुटमा परनिर्भर भएको छ ।