रङ्गेली समाचारदाता
विराटनगर, भदौ १५ गते । दाल प्रशोधन गरेर बजारमा बिक्रीवितरण गर्ने उद्देश्यसहित मोरङको बुढीगङ्गा–५, हात्तीमुढामा नयाँ उद्योग सञ्चालनमा आएको छ ।
तीनजना लगानीकर्ताको ५० करोड रुपियाँको लगानीमा स्थापना गरिएको जैन फुड्स प्रोसेसिङ प्रालिले दालको प्रशोधन सुरु गरेको हो । नेपाली भान्सामा गुणस्तरीय दाल पु-याउने लक्ष्यसहित मङ्गलबार उद्योगको उत्पादन सार्वजनिक गरिएको छ ।
मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजाल र उद्योगी मोतीलाल दुगडले उद्योगले उत्पादन गरेको उपहार ब्रान्डको दाल बजारका लागि बिक्री खुला गरिएको घोषणा गर्नुभएको हो ।
उद्योगले मुसुरो, चना, मटर, मास र मुग दाल प्रशोधन गरेर बजार पठाउन थालेको सञ्चालक अमितकुमार जैनले जानकारी दिनुभयो ।
उद्योगले प्रतिघण्टा साढे दुई टन दाल प्रशोधन गर्ने बताइएको छ । ५० प्रतिशत कच्चा पदार्थ स्वदेशमै उपलब्ध हुने र बाँकी ५० प्रतिशत आयात गर्नुपर्ने अर्का सञ्चालक चन्दन जैनले जानकारी दिनुभयो ।