• १३ साउन २०८१, आइतबार

चार हजारलाई बिनाधितो कर्जा

blog

गोदावरी समाचारदाता

गोदावरी (कैलाली), भदौ १६ गते । सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश स्वरोजगार कोषले चालू आर्थिक वर्षमा चार हजार युवालाई उद्योग व्यवसाय सुरु गर्न सहुलियत ब्याजदरमा कर्जा दिने भएको छ । 

कोषका अनुसार ‘सरकारको मुख्य ध्यान : घरघरमा स्वरोजगार अभियान’अन्तर्गत पाँच सय जनालाई सीपमूलक तालिम तथा चार हजारलाई सहकारीमार्फत सहुलियत ब्याजदरमा कर्जा प्रवाह गरिन लागेको हो । 

स्वदेशमै स्वरोजगारमूलक क्रियाकलापमा संलग्न गराउन, उद्यमशीलता विकास गर्न एवं पुँजीको अभावमा बेरोजगार बस्नुपर्ने बाध्यता हटाउन बिनाधितो न्यून ब्याजदरमा ऋण प्रवाह गर्न लागेको र स्वरोजगार विकास कोषमा एक अर्ब रुपियाँ छुट्याइएको कोषका कार्यकारी निर्देशक चुडामणि तिमिल्सेनाले जानकारी दिनुभयो । यससम्बन्धी सूचना जारी भइसकेकाले अबको केही दिनभित्रै कार्यक्रम सुरु गरिने उहाँले बताउनुभयो । 

सहकारी संस्थाका लागि वार्षिक ब्याजदर १ प्रतिशतमा पुँजी उपलब्ध गराइने व्यवस्था कार्यविधिमा रहेको छ । सहकारी संस्थाले अधिकतम ४ प्रतिशतसम्म जोडेर लक्षित व्यक्ति तथा समूहसँग ब्याजदर कायम गर्न पाउने व्यवस्था रहेको तिमिल्सेनाले बताउनुभयो । 

स्वरोजगार कार्यक्रमअन्तर्गत कोषका लक्षित समूह बढी भएका तर बैङ्क तथा वित्तीय संस्था र अन्य संस्थाको पहुँच कम रहेको हिमाली, पहाडी र तराईका जिल्लाका गाउँपालिका, नगरपालिका र स्थानीय तहमा प्रदान गर्ने गरी प्राथमिकता दिइएको कार्यकारी निर्देशक तिमिल्सेनाले जानकारी दिनुभयो ।

कोषका अध्यक्षसमेत रहनुभएका आर्थिक मामिलामन्त्री प्रकाश रावलले लामो छलफलपछि कार्यविधि बनाएर प्रदेश सरकारले स्वरोजगार कोषको कार्यक्रम अगाडि बढाउन सफल भएको भन्दै कार्यक्रमले बैङ्क र वित्तीय संस्थाको पहुँचमा नभएका दुर्गम क्षेत्रका नागरिक र वैदेशिक रोजगारबाट फर्किएका सीप भएका युवा लाभान्वित हुने बताउनुभयो ।