• ६ साउन २०८२, मङ्गलबार

सर्पदंशको समस्या बढ्दो

blog

नवलपुर समाचारदाता

नवलपुर, साउन ६ गते । नवलपुरमा सर्पदंशका बिरामीको सङ्ख्या बढिरहेका छन् । शनिबार एकै दिन सर्पले डसेर तीन जना बिरामी परेका छन् । प्रजाति नखुलेको सर्पले घरभित्रै डस्दा विनयीत्रिवेणी गाउँपालिका–२, तल्लो ज्यामिरेका आठ वर्षीय देवीका मगर बिरामी हुनुभएको छ । 

विनयीत्रिवेणी–४ सर्दीका अमृता दर्लामीलाई पनि घरमै छिरेर सर्पले डसेर बिरामी बनाएको प्रहरीले जनाएको छ । विनयीत्रिवेणी–१ का २२ वर्षीय सीता गाहालाई कुवामा पानी लिन जाँदा सर्पले डसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो । 

सर्पले डसेर बिरामी परेका सबैको प्रादेशिक अस्पताल डन्डामा उपचार भइरहेको नेपालले जानकारी दिनुभयो । प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रमेशप्रसाद आचार्यका अनुसार अस्पतालमा दैनिक पाँच÷छ जनासम्म सर्पदंशका बिरामी आउने गरेका छन् । सर्पले डसेर गम्भीर भएकालाई थप उपचारका लागि चितवन रेफर गर्ने गरेको र सामान्य अवस्थाका बिरामीलाई अस्पतालमै उपचार गर्ने गरेको उहाँले बताउनुभयो ।