मकवानपुर समाचारदाता
मकवानपुर, जेठ ३ गते । बागमती प्रदेश सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा कृषि समितिले बागमती प्रदेश सरकारलाई सरकारी लगानीका योजनाको अवस्था र प्रगतिबारे विवरण पेस गर्न निर्देशन दिएको छ ।
समितिको प्रदेश सभा सचिवालयमा बसेको बैठकले समिति अन्तर्गतका स्वास्थ्य, सामाजिक, कृषि तथा पशुपन्छी विकासलगायतका मन्त्रालय र अन्तर्गतका निकायलाई प्रगति पेस गर्न निर्देशन दिएको हो । कार्यान्वयन भएका प्रमुख आयोजना, परियोजना, कार्यक्रमको अवस्था, लगानी रकम, सम्पन्न भए÷नभएको, प्रतिफलको अवस्था जानकारी गराउन भनेको छ ।
समितिबाट यसअघि भएका निर्देशनहरू, सुझाव तथा निर्णय कार्यान्वयनको अवस्थाको अवस्थाबारे बैठकमा समीक्षा गरेको छ । समितिका सचिव प्रकाश चापागाईंले यसअघि दिएका निर्देशन कार्यान्वयनमा देखिएका बाधा व्यवधानका विषयमा छलफल भएको बताउनुभयो । समस्या देखिएका सम्बन्धित आयोजनाको सम्बन्धमा स्पष्ट कारण, समाधानका उपाय र अपनाइएका प्रयाससमेत समितिसमक्ष पेस गर्न भनिएको छ । समितिले प्रदेश सरकारका मन्त्रालय र निकायबाट कार्यान्वयनमा रहेका विभिन्न कार्यक्रम र योजनाको तीनसम्म स्थलगत अनुगमन गर्ने भएको छ ।