• ६ साउन २०८२, मङ्गलबार

कर कार्यालय गौरद्वारा ४८ करोड १० लाख राजस्व सङ्कलन

blog

करदाता सेवा कार्यालय गौर रौतहट । तस्बिर : प्रवीणकुमार शर्मा

प्रवीणकुमार शर्मा 
चन्द्रपुर (रौतहट), साउन ६ गते ।
करदाता सेवा कार्यालय गौरले आर्थिक वर्ष २०८१/०८२ मा ४८  करोड १० लाख रुपियाँ राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा कार्यालयलाइ ५४ करोड लक्ष्य दिइएको करदाता सेवा लार्यालय गौरका कर अधिकृत रेशम तामाङले जानकारी दिनुभयो ।

नागरिकलाई करप्रति सकारात्मक बनाउने, स्थानीय तहहरुसँग समन्वय र करदाता शिक्षा सञ्चालन, अग्रिम आयकरका लागि म्यासेज, फोन र सूचना गरेका कारण कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा लक्ष्यको ८८ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको कर अधिकृत तामाङ्गले बताउनुभयो ।

कर अधिकृत तामाङका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा आयकरतर्फ ३३ करोड ७८ लाख २९  हजार दुई सय तीन रुपियाँ, मूल्य अभिवृद्धिकरतर्फ १३ करोड ३१ लाख ३५ हजार तीन सय ८४   रुपियाँ, अन्त शुल्कतर्फ ९४  लाख ६४ हजार नौ सय ७८  रुपियाँ र ब्याज १५ लाख ९० हजार आठ सय ९८ रुपियाँ राजस्व सङ्कलन भएको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा कार्यालयको लक्ष्य ५८ करोड रहेकोमा जम्मा ४१ करोड राजस्व सङ्कलन भएको थियो  ।

कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा ९ वटा करदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको कर अधिकृत तामाङले जानकारी दिनुभयो । कार्यालयको कार्यक्षेत्र रौतहटका १८ मध्ये ११ वटा स्थानीय तह छन् ।

करदाता सेवा कार्यालय गौरमा आयकरतर्फ १२ हजार एक सय ६७, मुअकर तर्फ दुई हजार ९२, अन्तःशुल्क तर्फ ६ सय ५१ तथा व्यक्तिगत प्यानतर्फ २५ हजार चार सय सात करदाता रहेको कर अधिकृत तामाङले जानकारी दिनुभयो ।

त्यस्तै, करदाता सेवा कार्यालय चन्द्रपुरले आर्थिक वर्ष २०८१/०८२ मा ३९ करोड ५६ लाख राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा करदाता सेवा कार्यालय चन्द्रपुरलाई  ५० करोडको लक्ष्य दिइएको थियो ।