विपत् उत्थानशील पूर्वाधार निर्माण जरुरी : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले मौसम परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपत्तिसँग जुध्नका लागि भौतिक पूर्वाधारको क्षेत्रमा लागेकाहरूले विशेष सर्तकता अपनाउनु जरुरी भएको बताउनुभएको छ । राजधानीमा बुधबार एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीको छाता सङ्गठन इफाप्काको ४६ औँ सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले भौतिक पूर्वाधारको विकाससँगै यससँग सम्बन्धित अन्य पक्षलाई पनि ध्यान दिनुपर्ने बताउनुभएको हो ।
कारोबारमा पारदर्शिताका लागि साइबर सुरक्षामा जोड
अब भुक्तानी सेवामा रहेका वालेट कम्पनीका सञ्चालकले आर्थिक कारोबार र पारदर्शितामा जोड दिँदै साइबर सुरक्षामा कडाइ गर्ने भएका छन् । नेपाल राष्ट्र बैङ्कले भुक्तानी सेवामा रहेका वालेट कम्पनीलाई कडाइ गर्दै भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८० जारी गरेको छ । वालेट कम्पनीका सञ्चालकको आर्थिक कारोबार र पारदर्शितामा जोड दिँदै साइबर सुरक्षामा कडाइ गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । वालेट कम्पनीहरूको प्राविधिक पक्षलाई थप सुरक्षित बनाउन पनि विभिन्न व्यवस्था गरिएको छ ।
सहुलियत पसलको कारोबार वृद्धि
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालन गरेको चाडपर्वलक्षित सहुलियत मूल्य पसलको कारोबार गत वर्षभन्दा यो वर्ष दोब्बरले बढेको छ । असोज २१ देखि मङ्सिर ३ सम्म सञ्चालनमा रहेको सुपथ मूल्य पसलमा कर्पोरेसनले गत वर्ष दुई करोड ६५ लाख कारोबार गरेकामा यस वर्ष गत वर्षभन्दा पाँच करोड सात लाख बढी कारोबार गरेको हो ।
बिदेसिएका साढे चार लाख श्रमिक सामाजिक सुरक्षा कोषमा
वैदेशिक रोजगारीमा गएका साढे चार लाखभन्दा बढी श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध भएका छन् । आठ महिनाअघि सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्धता गराउने योजना कार्यान्वयनमा ल्याएपछि सो सङ्ख्यामा श्रमिक आबद्ध भएका हुन् । यो सङ्ख्या चैत ८ देखि मङ्सिर ५ सम्मको हो । कोषका अनुसार यसरी कोषको योजनामा आबद्ध भएर वैदेशिक रोजगारीमा जाने श्रमिकबाट हालसम्म करिब ९१ करोड ३२ लाख योगदान रकम कोषमा जम्मा भएको छ । कोषका प्रवक्ता विवेक पन्थीले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका, विदेशमा रोजगार र स्वरोजगार रहेका श्रमिकको उक्त योजनामा उत्साहजनक सहभागिता भएको बताउनुभयो ।
सडक बत्तीको महसुल उठाउन ताकिता
नेपाल विद्युत् प्राधिकरणले सडक बत्ती बक्यौता महसुल उठाउन स्थानीय निकाय तथा सरोकारवालालाई सातदिने अल्टिमेटम दिएको छ । प्राधिकरणले बुधबार सार्वजनिक सूचना जारी गर्दै एक साताभित्र बक्यौता महसुल नबुझाए लाइन काटिने जनाएको छ । प्राधिकरणले लामो प्रयासका बाबजुद यस्तो महसुल उठाउन नसकेपछि रकम शोधभर्नाका लागि सङ्घीय सरकार अन्तर्गत अर्थ मन्त्रालयलाई आग्रह गरेको थियो तर अर्थ मन्त्रालयले सडक बत्तीबापतको भुक्तानीको जिम्मा सम्बन्धित स्थानीय तहकै हुने र उनीहरूमार्फत नै असुल गर्न पत्राचार गरेपछि प्राधिकरणले पछिल्लो पहल थालेको हो । प्राधिकरणले गत असोज २१ गते यस्तो महसुलसम्बन्धी विस्तृत विवरण सार्वजनिक गरेको थियो ।
पहिलो चौमासिकमा कामपाको राजस्व करिब तीन अर्ब
काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा रू दुई अर्ब ९२ करोड ९६ लाख नौ हजार राजस्व असुल गरेको छ ।
काठमाडौँबाट नेपालगन्ज उडेको बुद्ध एअरको जहाज अवतरण नगरी काठमाडौँ फर्कियो
काठमाडौँबाट नेपालगन्जका लागि उडेको बुद्ध एअरको एटिआर विमान मौसम खराबीका कारण अवतरण नगरी पुनः काठमाडौँ फर्किएको छ ।
अर्थतन्त्र चलायमान बनाउन निर्माण व्यवसायीको भूमिका महत्त्वपूर्ण: राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि निर्माण व्यवसायीहरूको महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ । ४६ औँ इफाप्का सम्मेलनको उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति पौडेलले हरेक मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारले महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो ।
फूलकोबीको भाउ नपाउँदा चिन्तित
फूलकोबी (काउली) ले मूल्य नपाउँदा सर्लाहीका किसान चिन्तित भएका छन् । उत्पादनको मुख्य समयमा कोबीको मूल्य नपाउँदा जिल्लामा तरकारी खेती गर्ने किसान मारमा परेका हुन् । यहाँका किसानले फूलकोबी अहिले मुस्किलले प्रतिकिलो १५ देखि २० रुपियाँमा बिक्री गरिरहेका छन् ।
अर्थतन्त्र सुधार्न सरकार प्रतिबद्ध
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको अर्थतन्त्र दबाबमै रहेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा नेपालको अर्थतन्त्रको विद्यमान समस्या र त्यसको निराकरणका लागि प्रधानमन्त्री स्वयंले बोलाउनुभएको सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उहाँले दबाबमा रहेको अर्थतन्त्र सुधार सरकार, राजनीतिक दल, निजी क्षेत्र, सार्वजनिक प्रशासनको संयुक्त प्रयासबाट सम्भव हुने बताउनुभयो ।
नेपालगन्ज नाकाबाट झन्डै अठार अर्बको वैदेशिक व्यापार
पश्चिम नेपालको प्रमुख नाका नेपालगन्जबाट गत तीन महिनामा २१ देशसँग १७ अर्ब ९३ करोड रुपियाँ बराबरको वैदेशिक व्यापार भएको छ । नेपालगन्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असोजसम्म यो नाकाबाट २१ देशसँग १७ अर्ब ९३ करोड १३ लाख ८३ हजार रुपियाँको वैदेशिक व्यापार भएको हो ।
दोलखाबाट करोडौँको कुट्की निर्यात
मार्वुबाट वर्षमा करोडौँको कुट्की निर्यात हुने गर्दछ । दोलखाको गौरीशङ्कर गाउँपालिका–७ मार्वुबाट करोडभन्दा बढीको कुट्की निर्यात हुँदै आएको छ ।
जग्गा लिजमा लिएर व्यावसायिक स्ट्रबेरी खेती
दाङको घोराहीमा व्यावसायिक रूपमा स्ट्रबेरी खेती सुरु गरिएको छ । घोराही उपमहानगरपालिका–१४, झिङ्गौरामा करिब नौ कट्ठा जग्गामा व्यावसायिक स्ट्रबेरी खेती गरिएको हो । रोल्पा र म्याग्दी जिल्ला निवासी दुई जना युवा मिलेर दाङको घोराहीस्थित झिङ्गौरामा रहेको स्वर्गद्वारी आश्रमको जग्गा लिजमा लिएर व्यावसायिक स्ट्रबेरी खेती गरेको सञ्चालक वीरेन्द्र खड्काले बताउनुभएको छ ।
हवाईजहाजको स्वरूपमा स्वागतद्वार निर्माण
‘उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्धन’ नारासहित भैरहवामा हुने छैटौँ लुम्बिनी प्रादेशिक महोत्सव २०८० को तयारी पूरा भएको छ । उद्योग व्यापार सङ्गठन रुपन्देहीको आयोजनामा भैरहवाको अञ्चलपुरमा मङ्सिर ६ देखि १८ सम्म हुने महोत्सवको तयारी पूरा भएको हो । मङ्गलबार पत्रकार सम्मेलन गरी सङ्गठनका अध्यक्ष दर्पण श्रेष्ठले महोत्सवको ९५ प्रतिशत काम पूरा भएको बताउनुभयो । महोत्सवको आकर्षणका रूपमा मुख्यद्वारलाई हवाईजहाजको स्वरूपमा निर्माण गरिएको छ । उहाँले लुम्बिनीको आर्थिक विकासको आधार पर्यटन मान्दै सरकारबाट निर्माण भएको अर्बौं रुपियाँ लगानीमा विमानस्थल तयार भएर चल्न नसकेको, होटल व्यवसाय धराशायी भएका बेला सरकारलाई दबाब दिने गरी विमानको आकृति र स्थलका रूपमा महोत्सव स्थल बनाएर विरोध देखाउन खोजिएको बताउनुभयो ।
चाँदनी दोधारामा आइसिपी निर्माण गर्न डिपिआर तयार
पाँच अर्ब ७५ करोड रुपियाँ लागतमा भारतको सहयोगमा कञ्चनपुरको चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी (आइसिपी) निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । भारत सरकारले आइसिपी निर्माणका लागि डिपिआर तयार गरेर पठाएको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । आइसिपी निर्माणका लागि भारत सरकारले नै ठेक्का प्रव्रिmया अगाडि बढाउने छ ।
छात्रवृत्तिका लागि आवेदन माग
वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । बोर्डको सचिवालयले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका वा पूर्ण रूपमा अशक्त वा गम्भीर बिरामी भएका श्रमिकको छोराछोरीका लागि छात्रवृत्ति प्रदान गर्न आवेदन माग गरेको हो ।
ऋण नतिर्नेलाई राज्यले छोड्दैनः अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकबाट ऋण लिएर ऋण नतिर्नेलाई राज्यले नछोड्ने बताउनुभएको छ।
नेप्से परिसूचकमा २३ दशमलब ८२ अङ्कको गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २३ दशमलव ८२ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव २८ प्रतिशतले घटेर एक हजार आठ सय २९ दशमलव ६५ को बिन्दुमा कायम भएको हो ।
६ करोडभन्दा बढी राजस्व सङ्कलन
करदाता सेवा कार्यालय ओखलढुङ्गाले चार महिनाको अवधिमा छ करोड बढी राजस्व सङ्कलन गरेको छ ।
साढे दुई करोडको लागतमा खानेपानी योजना निर्माण सुरु
वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका उत्तरी मकवानपुरको थाहा नगरपालिका–१२, लितीका बासिन्दालाई लक्षित गरी लिती खानेपानी आयोजना निर्माण सुरु भएको छ । थाहा नगरपालिका, मानवीय सेवा तथा अन्तरसांस्कृतिक आदानप्रदान केन्द्र (च्वाइस नेपाल) नामक संस्था र स्थानीयको श्रमदानमा डेढ वर्षभित्रमा आयोजना सम्पन्न गर्ने गरी निर्माण सुरु भएको हो ।
दाङमा सुन्तलाको व्यावसायिक खेती
दाङको बङ्गलाचुलीमा गरिएको व्यावसायिक सुन्तला खेतीले उत्पादन दिन सुरु गरेको छ । बङ्गलाचुली गाउँपालिका–५, साकिने गाउँमा गरिएको सुन्तला खेतीले उत्पादन दिन सुरु गरेको हो । पाँच वर्षअघि साकिने गाउँलाई सुन्तला पकेट क्षेत्रका रूपमा विकास गर्नका लागि बङ्गलाचुली गाउँपालिकाले १० लाख रुपियाँ र प्रदेश सरकारले कृषि ज्ञान केन्द्रमार्फत ४० लाख रुपियाँ सहयोग गरेपछि स्थानीय सुन्तला खेतीमा जोडिएका हुन् । प्रदेश र स्थानीय सरकारको सहयोगमा सुन्तला खेती गरेका स्थानीय बोटमा सुन्तला फल्न थालेपछि खुसी भएका छन् ।
चौँरी बिक्री नहुँदा सास्ती
जङ्गलको बीचमा वर्षौँदेखि व्यावसायिक चौँरीपालन गरिरहेका मिक्वाखोला गाउँपालिका–५ का ४६ वर्षीय मिलनदोर्जे शेर्पा । त्यहाँ मानव बस्ती, सडक, बिजुली, सञ्चारको पहुँच छैन । अनकन्टार जङ्गलको बीचमा एकोहोरो कुकुर भुकेको आवाजमात्रै सुनिन्छ । चकमन्न जङ्गलको बीचमा छाप्रो अनि सँगै फैलिएको विशाल चौँरीखर्क । कलकल सुसाइरहेको हिमाली खोल्सो । चाँदीजस्तै टल्किने हिमालका चुचुरा नियाल्दै उहाँको दिन बितिरहेको छ ।
सामाजिक सुरक्षा योजना प्रभावकारी बनाउन पहल
सरकारले सबै प्रकारका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने योजनालाई थप प्रभावकारी बनाउन स्थानीय तहलाई सहजीकरणका लागि पत्राचार गरेको छ । कोषका प्रवक्ता विवेक पन्थीका अनुसार पालिकाले औपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध हुुनेलाई सहयोग गर्ने र अनौपचारिक क्षेत्रका श्रमिकका लागि पहल गरिदिने अपेक्षासहित अनुरोध गरिएको हो । अनौपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन पाइलटका रूपमा चालु आर्थिक वर्षमा दुई हजार श्रमिकलाई योजनामा आबद्ध गराउने लक्ष्य कोषले लिएको छ ।
न्यूनतम समर्थन मूल्यमा करिब नौ हजार मेट्रिक टन धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा हालसम्म तीन जिल्लाबाट आठ हजार ९३३ मेट्रिक टन धान खरिद गरेको हो । कम्पनीले बर्दियाको राजापुरबाट आठ हजार चार सय क्विन्टल, धनगढीबाट ४८० र महेन्द्रनगर कार्यालयबाट ५३ मेट्रिक टन धान खरिद गरेको हो । अन्य जिल्लामा भने धान खरिद गर्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । कम्पनीले दसैँअघिदेखि बर्दियाको राजापुरबाट धान खरिद सुरु गरेको थियो । यो वर्ष ५० हजार दुई सय मेट्रिक टन धान खरिद गर्न लागिएको बताइएको छ ।