एक महिनाको अवधिमा पेट्रोलियम पदार्थको मूल्य दोस्रो पटक घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले अगस्ट १ मा पठाएको नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य घटेर आएको हो । जुलाई १६ र अगस्ट १ को मूल्यसूची घटेर आउँदा प्रतिलिटर पेट्रोलमा ३२ रुपियाँ ५७ पैसा र डिजेलमा २५ रुपियाँ ७४ पैसा घटेको छ ।
रुपन्देहीको सैनामैना नगरपालिका–११ को बिचौवापुर र कञ्चन गाउँपालिका–१ को बीचमा पर्ने कञ्चन नदीमा पुल बन्ने भएको छ। सो पुलको सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले एक कार्यक्रमका बीच शिलान्यास गर्नुभयो। पुल निर्माण भएपछि सैनामैना नगरपालिकाको दक्षिण क्षेत्र र कञ्चन गाउँपालिकाको दानापुर क्षेत्रबीच भावनात्मक सम्बन्ध अझै प्रगाढ हुने विश्वास गरिएको छ।
रुकुमपूर्वमा मगर सङ्ग्रहालय निर्माण गरिएको छ । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका–१०, तकमा मगर सङ्ग्रहालय निर्माण भएको हो । गत आर्थिक वर्षमा यस सङ्ग्रहालयको भवन निर्माण गरिएको हो । यस वर्ष थप व्यवस्थापन गरेर सञ्चालनमा ल्याइएको छ । मगर समुदायको कला, संस्कृति, रहनसहन, परम्परागत संस्कार, वेशभूषा, भाषा, सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै पुस्तान्तरण गर्न सङ्ग्रहालय निर्माण गरिएको पुथा उत्तरगङ्गा गाउँपालिकाका अध्यक्ष पुनीराज घर्तीले बताउनुभयो ।
बाजुराको पूर्वीउत्तर क्षेत्रमा रहेको जगनाथ गाउँपालिका–२ को लुमा र हुनीका दलित बस्तीमा वर्षौंदेखि खानेपानीको समस्या भए पनि राज्यका कुनै निकायको ध्यान पुग्न सकेको छैन । जगनथा गाउँपालिका–२ को लुमा, हुनी, माथिल्लो हुनी, बसेना, तल्लो आसवाडा लगायतका टोलमा ३६० भन्दा बढी दलित परिवार बसोवास गर्दै आएका छन् । जगानाथ गाउँपालिका–२ हुनीकी बुङ्गची लुहारले बस्तीमा रहेका दुई चार धाराले ठूलो गाउँमा पानी नपुग्ने गरेको बताउनुभयो ।
कर्णाली नदी छेउमा रोपाइँको काम सकेर साउन ८ गते लेकको घर फर्केकै राति तुर्माखाँद गाउँपालिका–२, भुलुमा तीन जनाले ज्यान गुमाए । घर माथिबाट आएको पहिरोले पुरेर एकै परिवारका तीन जनाको मृत्यु भएको थियो । यो पहिरोको कारण थियो, जथाभावी खनिएको सडक ।
म्याग्दीको मालिका गाउँपालिका २ रुम गाउँको हल्लेपानीमा गयराती पहिरोले घर पुरिदा दुई जनाको मृत्यु हुनुका साथै तिनजना वेपत्ता भएका छन् । घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिदा १३ वर्षका छोरा राजन विक र १५ वर्षको नविन विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।
नेपाल सरकारले आर्थिक वर्ष २०६५/०६६ मा दुई वर्षभित्र देशबाट निरक्षरता उन्मूलन गर्ने योजनासहित अभियान सुरु गरेको भए पनि कर्णाली प्रदेशमा ३८ प्रतिशत जनसङ्ख्या साधारण लेखपढ गर्नसमेत जाँदैनन् । कर्णालीमा कुल जनसङ्ख्याको ६२ प्रतिशत मात्रै साक्षर छन् । जसअनुसार कर्णालीमा अझै चार लाख बढी जनसङ्ख्या निरक्षर छन् । कर्णालीका कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पा पूर्ण साक्षर हुुन बाँकी छन् । प्रदेशका १० जिल्लाका ७९ स्थानीय तहमध्ये ३० भन्दा बढी साक्षर घोषणा हुनसकेका छैनन् । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत व्यक्ति साक्षर भएमा पूर्णसाक्षर जिल्ला घोषणा गर्ने गरिएको छ ।
हिल्सा जोड्ने कर्णाली कोरिडोर बन्द भएको आठ दिनपछि पचालझरना गाउँपालिकाले सो सडक सञ्चालनको प्रयास थालेको छ । सो कोरिडोरका विभिन्न ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । अहिले स्काभेटर लगाएर पहिरो पन्छाउने काम भइरहेको छ । पचालझरना गाउँपालिका–८, लाफा खण्डमा अघिल्लो आइतबार पहिरो आएको थियो । ठाउँठाउँको हिलाम्मे सडक पार गरे पनि सयौँ यातायातका साधान लाफा पहिरोमा थुनिएका थिए । कोरिडोर बन्द भएको समाचार गोरखापत्रमा प्रकाशित भएपछि गाउँपालिकाले पहिरो पन्छाउन थालेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कृषि, वन तथा विज्ञान विश्वविद्यालयलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ। कृषि, वन र पशुपन्छीको विषयमा अध्ययन, अध्यापन, अनुसन्धान र विस्तारको अधिकार पाएको चितवनको रामपुरमा केन्द्रीय कार्यालय रहेको उक्त विश्वविद्यालयको आगामी १० वर्षे रणनीतिक योजना निर्माणसम्बन्धी कार्यशालाको उद्घाटन गर्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो। नेपाल सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै मन्त्री पौडेलले उक्त विश्वविद्यालयको पठनपाठन र अनुसन्धान उच्चस्तरको बनाउने र अन्तर्राष्ट्रिय आकर्षणको केन्द्र बनाउनुपर्ने उहाँको भनाइ थियो। उक्त विश्वविद्यालय नेपाली विद्यार्थीका लागि मात्र नभएर विदेशी विद्यार्थीलाई समेत आकर्षण गर्नुपर्ने बनाउन उहाँको आग्रह थियो।
कमलामाई नगरपालिका–४, दोभानटारमा एक दशकअघि जापानी दूतावासको आर्थिक सहयोगमा निर्माण गरिएको जुनार शीतभण्डार प्रयोगविहीन बनेको छ। समितिका अध्यक्ष दीपक कोइरालाका अनुसार उक्त भवन एक करोड रुपियाँको लागतमा २०६६ सालमा जुनार भण्डारणलाई लक्षित गरी बनाइएको थियो। जापानी राजदूतावासको अनुदान ६० लाख रुपियाँ र बाँकी रकम तत्कालीन जिल्ला विकास समिति, गाउँ विकास समिति र जुनार उत्पादक किसानबाट जुटाइएको हो। ३६० मेट्रिक टन क्षमताको उक्त शीतभण्डार सुरुका दुई वर्ष प्रयोगमा आए पनि त्यसपछि प्रयोगमा नआएको उहाँले बताउनुभयो।
बर्खाको बेला गाउँघरतिर खेती किसानीको चाप छ तर धनकुटाको दक्षिणी र मोरङको उत्तरी सिमानामा पर्ने गाउँका बासिन्दालाई भने अर्कै कामको धपेडी छ। घर वरिपरि असरल्ल छरिएका कोक, पेप्सी, फेन्टालगायतका प्लास्टिक बोतलमा पानी भर्दै नसुक्ने ठाउँमा थन्क्याउनु दिनचर्या बनेको छ। त्यसरी पानी जम्मा गर्नेमा मोरङको पाटीगाउँको थामडाँडाका मोहन राई हुनुहुन्छ। उहाँको आँगन र घर वरिपरि करिब दुई हजार बोतल लडेका छन्। उहाँ बर्खामा घर आसपास जम्मा भएको पानी ती बोतलमा भरेर हिउँदका लागि जोहो गर्दै हुनुहुन्छ।
विश्वभरि छरिएर रहेका हिन्दुहरूको सपना जीवनमा कम्तीमा एक पटक काठमाडौँस्थित पशुपतिनाथ मन्दिरको दर्शन गर्ने हुन्छ। पशुपतिनाथको दर्शनअघि बागमती नदीमा स्नान स्वाभाविक मनोकाङ्क्षासमेत रहन्छ। प्रदूषित बागमती नदीको अवस्था हेर्दा भने यो कहिल्यै पूरा नहुने मनोकाङ्क्षाजस्तै थियो। तर अहिले अवस्थामा केही परिवर्तन भएको छ। बागमती नदीको पूरै क्षेत्र नभए पनि केही क्षेत्रमा विगत केही समययतादेखि स्वच्छ जल प्रवाह हुन थालेको छ। यो असाध्य सुखद खबर हो। बागमतीको मुख्य भाग अर्थात् गुह्येश्वरीदेखि पशुपतिसम्मको क्षेत्रमा बग्ने बागमती नदीको जललाई प्रदूषणमुक्त बनाई भक्तजनले स्नान गर्न सक्ने सम्भव तुल्याइएको छ। वातवरणीय तथा धार्मिक दृष्टिकोणबाट यसलाई एक महत्वपूर्ण उपलब्धिका रूपमा लिन सकिन्छ।
दक्षिण एसियाली मुलुकमा राजनीतिलाई यदाकदा खेलका नियमसँग दाँजेर टिप्पणी गर्ने गरिन्छ। क्रिकेट खेलका नियम राजनीतिक वृत्तमा बढी नै प्रयोग हुन्छ। बेलायतीहरूले भारतलाई उपनिवेश बनाएका बेला क्रिकेट लोकप्रिय बनाइयो। त्यसैको सिको गर्दै राजनीतिक क्षेत्रमा क्रिकेटका नियम आकर्षित गर्ने प्रचलन छ। नेपालमा पनि यस्तो शब्दको प्रयोग हुने गरेको छ। हालै मात्र नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भन्नुभएको छ, “राजनीतिक जीवनको ‘लास्ट इनिङ’ मा छक्का हान्ने इच्छा छ।” त्यसले अबको प्रतिनिधि सभा निर्वाचनपछि बन्ने सरकारको प्रधानमन्त्री बन्ने उत्कट अभिलाषा प्रचण्डमा देखापरेको सङ्केत गर्छ। प्रचण्ड जतिको नेतामा प्रधानमन्त्री बन्ने आकाङ्क्षा रहनु गलत वा अस्वाभाविक होइन। अहिलेको राजनीतिक शक्ति सन्तुलनमा माओवादी एक्लैको त्यो ल्याकत देखिँदैन। प्रचण्डको मनोकाङ्क्षा पूरा गर्न गठबन्धन नै चाहिएको छ।
चितवनको मुग्लिन नारायणगढ सडकखण्डको चार स्थानमा पहिरो खस्दा गएराति ११ बजेदेखि राजमार्ग अवरुद्ध भएको छ ।
पछिल्ला साढे दुई वर्षको विश्व आर्थिक परिदृश्य टिठलाग्दो देखियो। झन्डै पहिलो विश्व युद्धलगत्तै पछिको विश्व व्यवस्थाको छनक दिने गरी विश्व शासन गर्ने संस्था एकाएक शिथिल बन्न पुगे। त्यस्ता शासकीय संस्थाको शिथिलताका कारण आर्थिक मन्दीले विश्व बजारसमेत थलाइदियो। बितेका अढाई दशकमा विकासको उकालो निरन्तर चढेको विश्व अर्थतन्त्रले एकाएक सङ्कुचन खेप्ने अवस्था आइपर्नु पक्कै पनि सामान्य कुरा थिएन। भौतिक दूरीलाई बढाउनुपर्ने बाध्यात्मक अवस्थाले देशका सीमा बन्द गर्नुपर्ने अवस्था सिर्जना भयो। कोरोना भाइरसकै कारण कतै विश्वव्यापीकरण नै खतरामा परेको वा यसले अवसानको मार्ग अँगालीसकेको त होइन भन्ने सवाल पनि पेचिलो बन्न पुग्यो।