• १६ असार २०८१, आइतबार

कृविविलाई अनुसन्धान केन्द्रका रूपमा विकास गरिने

blog

भरतपुर समाचारदाता

चितवन, साउन १७ गते  । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कृषि, वन तथा विज्ञान विश्वविद्यालयलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ।

कृषि, वन र पशुपन्छीको विषयमा अध्ययन, अध्यापन, अनुसन्धान र विस्तारको अधिकार पाएको चितवनको रामपुरमा केन्द्रीय कार्यालय रहेको उक्त विश्वविद्यालयको आगामी १० वर्षे रणनीतिक योजना निर्माणसम्बन्धी कार्यशालाको उद्घाटन गर्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो। नेपाल सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै मन्त्री पौडेलले उक्त विश्वविद्यालयको पठनपाठन र अनुसन्धान उच्चस्तरको बनाउने र अन्तर्राष्ट्रिय आकर्षणको केन्द्र बनाउनुपर्ने उहाँको भनाइ थियो। उक्त विश्वविद्यालय नेपाली विद्यार्थीका लागि मात्र नभएर विदेशी विद्यार्थीलाई समेत आकर्षण गर्नुपर्ने बनाउन उहाँको आग्रह थियो।

मन्त्री पौडेलले शिक्षामा राजनीति नगर्न अनुरोध गर्दै जायज माग पूरा गर्न र समस्यालाई समाधान गर्नका लागि आन्दोलन गर्ने विषयमा भने आफू सकारात्मक रहेको बताउनुभयो। आफ्ना माग पूरा गर्न आन्दोलन गर्नुहोस् तर आन्दोलनको नाममा विश्वविद्यालयमा तालाबन्दी नगर्नुहोस्। आज एउटा विश्वविद्यालयमा तालाबन्दी भएको सुनिन्छ, भोलि अर्को विश्वविद्यालयमा तालाबन्दी भएको सुनिन्छ। यो संस्कारको अन्त्य गर्नुपर्छ। वार्ताको माध्यमबाट नै समस्याको समाधान गर्नुपर्छ। सोही कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिक्षा क्षेत्रमा राजनीतीकरण गरिनु गलत भएको बताउनुभयो। 

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राडा. पुण्यप्रसाद रेग्मी, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, नास्टका उपकुलपति सुनिलबाबु श्रेष्ठ, विश्वविद्यालय सेवा आयोग प्रमुख प्रा.डा. कल्याणी मिश्रलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।