• १३ साउन २०८१, आइतबार

मौलिकता जोगाउन मगर सङ्ग्रहालय

blog

राजु लामिछाने 

रुकुमपूर्व, साउन १७ गते । रुकुमपूर्वमा मगर सङ्ग्रहालय निर्माण गरिएको छ । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका–१०, तकमा मगर सङ्ग्रहालय निर्माण भएको हो । गत आर्थिक वर्षमा यस सङ्ग्रहालयको भवन निर्माण गरिएको हो । यस वर्ष थप व्यवस्थापन गरेर सञ्चालनमा ल्याइएको छ । 

मगर समुदायको कला, संस्कृति, रहनसहन, परम्परागत संस्कार, वेशभूषा, भाषा, सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै पुस्तान्तरण गर्न सङ्ग्रहालय निर्माण गरिएको पुथा उत्तरगङ्गा गाउँपालिकाका अध्यक्ष पुनीराज घर्तीले बताउनुभयो ।

मगर समुदायको बाहुल्य रहेको रुकुमपूर्वमा सङ्ग्रहालय निर्माणको विशेष महत्त्व रहेको उहाँले उल्लेख गर्नुभयो । मगरले प्रयोग गर्ने भाँडाबर्तन, लत्ताकपडा, बाजागाजा र जीविकासँग सम्बन्धित सामग्री सङ्ग्रहालयमा राखिने र अवलोकनको व्यवस्था मिलाइने पुथा उत्तरगङ्गा गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्र बुढाले बताउनुभयो । 

मगर समुदायले उत्पादन गरेका सामग्रीसमेत सङ्ग्रहालयमा राखिने जानकारी उहाँले दिनुभयो । सङ्ग्रहालयमा परम्परागत धनुष, नरसिङ्गा, पञ्चेबाजा, घुँघरु, ढुन्डी, सुरही, हाते पिरुङ्गा, दिया टुक्की, ठेकी, जाबे झोला, तुलाजस्ता अन्य घरेलु उत्पादनका वस्तुलगायत मगर जातिले हातले बुनेका कपडा राखिने उपाध्यक्ष बुढाले उल्लेख गर्नुभयो । मगर समुदायसँग जोडिएका र प्रयोग गर्दै आएका वस्तु तथा सीप र उनीहरूसँग जोडिएका कला, संस्कृति, वेशभूषालगायतका सामग्री यहाँ राखिएका छन् ।

पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेको आर्थिक सहयोगमा सङ्ग्रहालयका लागि भवन निर्माण गरिएको छ । सो भवनमा टिकट कोठा, कर्मचारी कक्ष र हल निर्माण गरिएको छ । 

आर्थिक वर्ष २०७८÷७९ मा ५३ लाख ३६ हजार १५० रुपियाँको लागतमा भवन निर्माण गरिएको भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष बर्मप्रताप बुढाले बताउनुभयो । उहाँका अनुसार पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेको ४८ लाख र उपभोक्ताको पाँच लाख ३६ हजार १५० रुपियाँको श्रमदानबाट भवन निर्माण सम्पन्न गरिएको छ । गाउँपालिकाका सबइन्जिनियर नवीन दाहालका अनुसार पर्यटन डिभिजन कार्यालयले ५० लाख रुपियाँ बजेट छुट्याएको छ । उक्त बजेटबाट सङ्ग्रहालय व्यवस्थापन तथा सञ्चालन गरिनेसमेत उहाँले बताउनुभयो ।