विश्व बैङ्कले विश्वव्यापी आर्थिक मन्दी सन्निकट रहेको औँल्याएको छ । सन् २०२२ को सुरुवातसँगै विश्वको प्रक्षेपित आर्थिक वृद्धिदरमा ठूलो गिरावट आइरहेको भन्दै विश्व बैङ्कले विश्वव्यापी आर्थिक मन्दीको अवस्था आउने सङ्केत गरिरहेको जनाएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बैतडीका चार बिक्री केन्द्रमा दशैँअघि चामल नल्याउने भएको छ । बैतडी सदरमुकामको गोठालापानी, मेलौली नगरपालिका, पुरचौडी नगरपालिकाको हाट र पञ्चेश्वर गाउँपालिकाको कुलाउका लागि आउने चार हजार पाँच सय क्विन्टल चामल नआउने भएको हो । चामल ढुवानीका लागि बोलपत्र आह्वान गर्दा टेन्डर नपरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीका प्रमुख इन्दिरा बस्नेतले जानकारी दिनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगले वैयक्तिक स्वतन्त्रता र गोपनीयताको सम्मान गर्न सरकारलाई आग्रह गरेको छ । निलम्बनमा रहनुभएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आइतबार अदालत जाने तयारीका क्रममा सुरक्षाकर्मीले घरबाट निस्कन नदिएको भन्दै आयोगले आवतजावत गर्न पाउने हकको सम्मान गर्न आग्रह गरेको हो ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। आज देशभर हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सरकारले विराटनगर विमानस्थल विस्तारको काम तत्काल अघि नबढाउने भएको छ। गत भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले सो विमानस्थलका लागि अधिग्रहण गर्ने भनिएको करिब १२७ बिघा जमिन अधिग्रहण नगर्ने निर्णय गरेपछि विस्तारको काम तत्काल रोकिने भएको छ। जग्गा अधिग्रहणको काम तत्काल नगर्ने भएको जानकारी सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार जानकारी दिनुभयो।
प्रधानमन्त्री शेरबहादुर देउवाले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाइ गर्न नहुने बताउनुभएको छ। निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले तयार पारेको अध्ययन प्रतिवेदन आइतबार ग्रहण गर्नुहुँदै प्रधानमन्त्री देउवाले उक्त कुरा बताउनुभएको हो।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि करिब दुई लाख ४६ हजार निजामती कर्मचारी आवश्यक पर्ने आयोगले जनाएको छ। यो सङ्ख्या गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनभन्दा करिब ५० हजारले बढी हो। सरकारले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आवश्यक कर्मचारी पूर्ति गर्न कुनै समस्या नभएको जनाएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गर्नुभएको छ । कोइराला नेपालको संविधान जारी गर्दा देशको प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँकै नेतृत्वमा संविधान जारी भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संविधान दिवशका अवसरमा विभिन्न महानुभावहरुलाई मानपदवी अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गर्नुभएको छ । नेपाल रत्न नेपालको सर्वोच्च मानपदवी हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आमनिर्वाचनमा सक्रियतापूर्वक सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकारको सदुपयोग गर्न सबै मतदातामा हार्दिक अपिल गर्नुभएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवस २०७९ का अवसरमा शुभकामना दिँदै उहाँले शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र वातावरणमा मतदान गर्न पाउने नागरिक अधिकार सुनिश्चित गर्न नेपाल सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चार माध्यमका साथै सम्पूर्ण जनसमुदायमा आह्वान पनि गर्नुभएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको मर्म र भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले संविधानको कार्यान्वयन गर्दै साझा हक अधिकारलाई स्थापित गर्ने तथा मातृभूमिको विकास र समुन्नतिलाई सुनिश्चित गर्ने दिशामा सरकार लागिरहेको उल्लेख गर्नुभएको छ।
उपराष्ट्रपति नन्दबहादुर पुनले संविधान गतिशील दस्तावेज भएकोले संविधानभित्रै रहेर यसलाई अझै समृद्धि बनाउँदै लैजानुपर्ने बताउनुुभएको छ । संविधान दिवसका अवसरमा शुुभकामना सन्देश दिँदै संविधान कार्यान्वयनकै महत्त्वपूर्ण पक्षका रूपमा रहेको आउँदो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई महान् उत्सवका रूपमा लिएर सक्रिय सहभागिता जनाउन सबै मतदातालाई आग्रह गर्नुुभएको छ ।
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिबीच उच्चतम समझदारी बनाएर अघि बढ्नुपर्ने आवश्यकता अझै विद्यमान रहेको बताउनुभएको छ। संविधान दिवसका अवसरमा सन्देश दिँदै सभामुख सापकोटाले संविधान जारी भएपछि सङ्घीय संसद्, प्रतिनिधि सभाको पहिलो कार्यकालमा संविधान रक्षाका लागि अनेक पहल पनि भएका उल्लेख गर्नुभएको छ।
नेपाल सरकार गृह मन्त्रालय सम्मानित राष्ट्रपतिबाट २०७९ असोज ३ गते संविधान दिवसका दिन देहायका महानुभावहरुलाई ९९८ जनालाई मानपदवी अलङ्कार र पदकद्धारा विभूषित गर्ने घोषणा भएको छ ।
नेपाल बोटल वाटर उद्योग सङ्घको ‘१२ औँ वार्षिक साधारण सभा एवं दशैं, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम’मा आव २०७८र०७९ मा नेपालबाट रु ३० करोडको पानी निर्यात भएको जानकारी दिइएको हो।
गोरखापत्र संस्थानका प्रबन्धक जुजुकाजी रञ्जितलाई पत्नी शोक परेको छ ।