प्रतिनिधि सभा निर्वाचनमा बैतडीमा गठबन्धन दल, नेकपा (एमाले) र स्वतन्त्र उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का नरेन्द्र कुँवर र एमालेका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारीबीच मुख्य प्रतिस्पर्धा हुने भए पनि गठबन्धनविरुद्ध बागी बनेका नेपाली कांग्रेसका नेता एवं पूर्वसहायकमन्त्री केशव चन्दसमेत चुनावी मैदानमा उत्रिएपछि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको हो। यद्यपि बागी उम्मेदवारी दिनुभएका चन्दलाई कांग्रेसले पार्टीबाट निष्कासन गरेको छ।
यो वर्षको बर्खा सकिएसँगै ग्रामीण क्षेत्रमा सञ्चालनमा आएका कच्ची सडकमा दुर्घटनाको जोखिम बढेको छ। ग्रामीण सडकमा सञ्चालनमा रहेका यातायातका साधनले सामानसँगै क्षमताभन्दा बढी यात्रु बोक्नाले दुर्घटनाको जोखिम बढेको हो। सुनकोसी गाउँपालिका–७, मझुवा निवासी गणेश भण्डारीले बर्सातको मौसममा पानीले खोलेर अधिकांश ग्रामीण सडक बिग्रेकाले दुर्घटना जोखिम बढेको बताउनुभयो। तिनै बिग्रेका ग्रामीण सडकमा चल्ने यातायातका साधनले क्षमताभन्दा बढी मानिस बोक्दा दुर्घटना जोखिम झन् बढेको धारणा उहाँको छ।
अन्तर्राष्ट्रिय बालिका दिवसका सन्दर्भमा शिल्पी नाटकघरले छोरीको महत्व झल्काउन ‘सहअस्तित्व’ शीर्षकमा नाटक मञ्चन गरेको छ । सञ्चारिका समूहद्वारा विभिन्न साझेदार संस्थासँगको सहकार्यमा आयोजित कार्यक्रममा घिमिरे युवराजको लेखन तथा निर्देशन रहेको नाटक ‘सहअतिस्त्व’ मञ्चन गरिएको हो । नाटकले लिङ्ग पहिचान गरी छोरी भए गर्भपतन गर्नु अपराध हो भन्ने जनचेतनामूलक सन्देश दिएको छ । नाटकमा पात्रहरूले मन छुने अभिनयमार्फत छोराछोरीबीचको विभेद हटाएर समानताको वकालत गर्न अझै ढिला भए धेरै छोरीले जन्मनै नपाउने प्रस्ट पारेका थिए ।
रामबाबु गुरुङको निर्देशन रहेको चलचित्र ‘फूलबारी’ फागुन ५ बाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । चलचित्रमा दयाहाङ राई, विपिन कार्की, प्रियङ्का कार्की, अरुणा कार्की, सृजना सुब्बा, शिल्पा मास्के, गौमाया गुरुङलगायतको अभिनय छ ।
तिहारमा ढाकाटोपी लगाउँदा माइतीको मानप्रतिष्ठा बढ्छ भन्ने विश्वासले हरेक चेलीले आफ्ना दाजुभाइलाई उपहारका रूपमा स्नेहपूर्वक ढाकाटोपी दिने प्रचलन रहेको छ । तिहार नजिकिएसँगै बजारमा ढाकाटोपी छ्यापछ्याप्ती देखिन्छन् । अहिले सहरबजार ढाकाटोपीले ढाकिएको छ ।
हास्य कलाकार अपूर्वक्षितिज सिंह धरौटीमा रिहा हुनुभएको छ । काठमाडौँ जिल्ला अदालतले बिहीबार सिंहलाई दुई लाख ५० हजार रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले सिंहलाई धरौटीमा छाड्ने आदेश दिएको अपूर्वका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले जानकारी दिनुभयो ।
सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण हुने स्वास्थ्यसम्बन्धी भ्रामक विज्ञापन गर्नेलाई कारबाही हुने भएको छ । नेपाल मेडिकल काउन्सिलले त्यस्ता भ्रामक सूचना दिने स्वास्थ्य संस्थालाई कारबाही गर्ने तयारी गरेको छ । काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीले उपत्यका तथा उपत्यकाबाहिरका एफएम रेडियोमा स्वास्थ्यसम्बन्धी भ्रामक विज्ञापन फैलिरहेको भन्दै त्यसलाई नियमन गर्न लागिएको बताउनुभयो । एफएम, पत्रपत्रिका, सामाजिक सञ्जालमा यौन समस्या समाधान गरिने, लिङ्गको आकार सानो ठूलो बनाउने, स्तनको आकार ठूलो सानो बनाउनेजस्ता भ्रामक सूचना तथा विज्ञापन आइरहेका हुन्छन् । त्यस्ता सूचनाले जनतामा भ्रम फैलिएको र धेरै सर्वसाधारण ठगिएको भन्दै यसलाई नियमन गर्नुपर्ने उहाँले बताउनुभयो ।
लागूऔषध नियन्त्रण ब्युरोले प्रतिबन्धित लागूऔषधसहित २१ जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यकामा लागूऔषध कारोबार भएको गोप्य सूचनापछि ब्युरोले विशेष अपरेसन सञ्चालन गरेको थियो । त्यस क्रममा खैरो हेरोइन, गाँजा तथा फर्मास्युटिकल ड्रग्स (औषधिजन्य लागूऔषध)सहित उनीहरू पक्राउ परेका हुन् । लागूऔषध नियन्त्रण ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले खैरो हेरोइन, गाँजा तथा नियन्त्रित लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगले केही दिनदेखि जुम्ला, मुगु, हुम्ला र डोल्पामा हवाई सेवा प्रभावित भई आवतजावतमा कठिनाइ उत्पन्न भएको अवस्थाप्रति ध्यानाकर्षण भएको जनाएको छ । ‘बाढीपहिरोका कारण कर्णाली प्रदेशको कर्णाली राजमार्ग असोज २१ गतेदेखि अवरुद्ध रहनुका साथै जुम्ला, मुगु, हुम्ला र डोल्पामा केही दिनदेखि हवाई सेवा प्रभावित भई नागरिकको आवतजावतमा कठिनाइ उत्पन्न भएको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,‘ विज्ञप्तिमा उल्लेख छ ।
वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्नका लागि भन्दै दाताबाट झिकिएको मिर्गौला अलपत्र छाडेर चिकित्सक हिँडेको घटनामा बिरामीको सम्पूर्ण उपचार अस्पतालले गर्ने सहमति भएको छ। बिरामीको हाल अरू नै अस्पतालमा भइरहेको डाइलासिस पनि वीरमा नै गर्ने सहमति भएको छ।
बेलायतकी प्रधानमन्त्री लिज ट्रसले बिहीबार पदबाट राजीनामा दिनुभएको छ । उहाँले नियुक्त हुनुभएको ४५ दिनमा नै बिहीबार सो पदबाट राजीनामा दिनुभएको हो । उहाँले पत्रकारहरूसँग कन्जरभेटिभ पार्टीले जुन म्यान्डेटका साथ आफूलाई निर्वाचित गरेको थियो सो पूरा गर्न नसक्ने अवस्था रहेको बताउनुभएको छ । उहाँले वर्तमान स्थिति हेर्दा आफूले जुन प्रतिबद्धता व्यक्त गरेको थिएँ सो पूरा गर्न नसकेको बताउनुभयो ।
नेपाली सेनाको शान्ति मिसनको टोली बोकेर बुधबार राति काठमाडौँबाट उडेको नेपाल वायुसेवा निगमको जहाज पश्चिम अफ्रिकी देश मालीमा ग्राउन्डेड भएको छ। कतारको दोहा हुँदै मालीका लागि उडेको निगमको न्यारोबडी एयरबस–३२० (नाइनएन–एकेडब्लु) जहाजको पाङ्ग्रा पन्चर भएपछि शुक्रबार नेपाल आइपुग्नुपर्ने जहाज उतै ग्राउन्डेड भएको हो। बिहीबार रातिसम्म पन्चर भएको टायरको अर्को व्यवस्था नभएपछि निगमले नेपालबाट दोहा हुँदै अर्को टायर पठाउने तयारी गरिरहेको छ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले दुई वर्षपछि कर्णालीमा भेट्ने वाचा गर्दै बिहीबार विश्राम लिएको छ। २०८१ सालमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने जिम्मेवारी कर्णालीले पाएको हो। दसौँ राष्ट्रिय खेलकुदको मिति २०८१ साल मङ्सिर २ देखि ९ गतेसम्म तोकिएको छ। पोखरा रङ्गशालामा भएको समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बीसीलाई दसौँ राष्ट्रिय खेलकुदको झन्डा हस्तान्तरण गरेर नवौँ राष्ट्रिय खेलकुद समापन गर्नुभयो।
आम निर्वाचनलाई विशेष महत्त्व दिँदै फेसबुकको मातृसंस्था मेटाले नेपालमै कर्मचारी खटाएर पहिलो पटक निर्वाचनसम्बन्धी सामग्रीको अनुगमन गर्ने भएको छ। सामाजिक सञ्जाल फेसबुकमा निर्वाचनसम्बन्धी मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति फैलाउने जोसुकैलाई निर्वाचन आयोग र मेटाले कडा अनुगमन गरी कारबाही गर्ने जनाइएको छ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले बिहीबार दुई वर्षपछि कर्णालीमा भेट्ने वाचा गर्दै विश्राम लिएको छ । २०८१ सालमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने जिम्मेवारी कर्णालीले पाएको हो ।