• १३ साउन २०८१, आइतबार

बैतडीमा त्रिपक्षीय प्रतिस्पर्धा

blog

गोकर्ण दयाल 

बैतडी, कात्तिक ४ गते । प्रतिनिधि सभा निर्वाचनमा बैतडीमा गठबन्धन दल, नेकपा (एमाले) र स्वतन्त्र उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। 

गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का नरेन्द्र कुँवर र एमालेका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारीबीच मुख्य प्रतिस्पर्धा हुने भए पनि गठबन्धनविरुद्ध बागी बनेका नेपाली कांग्रेसका नेता एवं पूर्वसहायकमन्त्री केशव चन्दसमेत चुनावी मैदानमा उत्रिएपछि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको हो। यद्यपि बागी उम्मेदवारी दिनुभएका चन्दलाई कांग्रेसले पार्टीबाट निष्कासन गरेको छ। 

माओवादी केन्द्रका उम्मेदवार कुँवर र एमाले नेता दामोदर भण्डारीबीच यसअघि पनि प्रतिस्पर्धा भएको थियो। कुँवरले २०६४ को पहिलो संविधान सभा निर्वाचनमा भण्डारीलाई पराजित गर्नुभएको थियो। २०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा कुँवरलाई पराजित गर्दै भण्डारी विजयी हुनुभएको थियो। २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा कुँवरले भण्डारीका लागि मत माग्नुभएको थियो। कांग्रेसका चन्द बागी उम्मेदवार बनेपछि रोचक भिडन्त हुने आकलन गरिएको छ। चन्द २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा पाटन नगरपालिकाको प्रमुखमा विजयी हुनुभएको थियो। उहाँ २०५३ सालमा सहायक मन्त्रीसमेत हुनुभएको थियो।  

बैतडीका १० स्थानीय तह र ८४ वडामध्ये २०७९ को स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारले पाँच पालिका र ४४ वडामा निर्वाचन जितेका थिए। कांग्रेसले चार स्थानीय तह र ३२ वडा तथा माओवादी केन्द्रले एक स्थानीय तह र १२ वडामा निर्वाचन जितेका थिए। एमालेले चार स्थानीय तह र ३६ वडामा स्थानीय तहको निर्वाचन जितेको थियो भने स्वतन्त्र उम्मेदवारले एक पालिका प्रमुखसहित तीन वडा र राप्रपाले एक वडामा स्थानीय तहको निर्वाचन जितेका थिए। 

बैतडीमा २०४८ देखि २०७४ सालसम्मका निर्वाचन परिणाम मिश्रित आएको देखिन्छ। २०४८ सालमा नेपाली कांग्रेसले तीनवटै क्षेत्र जितेको थियो। २०५१ सालको मध्यावधि निर्वाचनमा दुईवटै निर्वाचनबाट राप्रपाका लोकेन्द्रबहादुर चन्द विजयी हुनुभएको थियो। लोकेन्द्रबहादुर चन्दले एउटा क्षेत्र छोड्नुभएपछि लगत्तै भएको उपनिर्वाचनमा भने कांग्रेसबाट वर्तमान स्वतन्त्र उम्मेदवार केशव चन्द विजयी हुनुभएको थियो। 

कांग्रेसले २०५६ सालको निर्वाचनमा फेरि आफ्नो वर्चस्व फिर्ता गरेको थियो। सो निर्वाचनमा कांग्रेसले दुईवटै क्षेत्र जितेको थियो। २०६४ सालको संविधान सभामा माओवादी केन्द्रका उम्मेदवार दुईवटै क्षेत्रबाट विजयी हुनुभएको थियो। २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा क्षेत्र नं. १ बाट एमाले र क्षेत्र नं. २ बाट कांग्रेसका उम्मेदवार विजयी हुन भएको थियो। २०७४ मा बैतडीमा प्रतिनिधि सभामा एउटा मात्र निर्वाचन क्षेत्र कायम गरिएको थियो। 

प्रदेश सभा निर्वाचन क्षेत्र रहेको बैतडीमा प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’बाट कांग्रेसका वीरबहादुर विष्ट, नेकपा समाजवादीका नरेन्द्र विष्ट, एमालेका सुरेन्द्र पाल र गठबन्धनविरुद्ध बागी उम्मेदवार हरिमोहन भण्डारीबीच प्रतिस्पर्धा हुनेभएको छ। प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’बाट कांग्रेसका शिवराज भट्ट र एमालेका लीलाधर भट्टबीच प्रतिस्पर्धा हुने भएको छ।