विदुर आचार्य
चौतारा, असार १९ गते । नेपाल र चीनको मुख्य सीमा तातोपानी नाका हुँदै पहिलो पटक हेलिकाेप्टर नेपालमा आयात भएको छ । नेपालको माउन्टेन हेलिकाेप्टर प्रालिले खरिद गरेको फ्रान्सेली कम्पनीको हेलिकाेप्टर चीनको ‘तिया जिन’ सहरबाट कन्टेनरमार्फत ल्याई तातोपानी भन्सारको सुख्खा बन्दरगाहमा अवतरण गरिएको हो ।
भूकम्पपछि चीनबाट विभिन्न सामानहरू ट्रान्सपोर्ट गर्दैआएको ‘आडो ट्रान्सपोर्ट’ कम्पनीले उक्त हेलिकाेप्टरलाई ४० फुटे टेलरमा राखेर तातोपानी नाका ल्याएको हो । हेलिकाेप्टरको पङ्खा खोलेर ल्याइएको थियो । पङ्खाको पुनः जडानको काम अहिले भन्सार जाँचसँगै भइरहेको छ ।
माउन्टेन हेलिकाेप्टर प्रालिले कूल पाँच वटा चिनियाँ हेलिकाेप्टर खरिद गरेको जनाएको छ । सबै हेलिकाेप्टर तातोपानी नाकामार्फत काठमाडौँ ल्याइँदैछ । तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालका अनुसार भन्सारमा अहिले हेलिकाेप्टरको कागजात, लागत मूल्य, नागरिक उड्डयन प्राधिकरणबाट प्राप्त अनुमति लगायतका विवरणको जाँच भइरहेको छ ।
तातोपानी भन्सारका सूचना अधिकारी सूर्य काफ्लेले हेलिकाेप्टरको मूल्यका आधारमा करिब ४ करोड १२ लाखभन्दा बढी राजस्व लाग्ने जानकारी दिनुभयो । हेलिकाेप्टर आयातकर्ताले १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र १ प्रतिशत भन्सार महसुल तिर्ने छ । भन्सार जाँचपछि, प्राविधिक टोलीले हेलिकाेप्टरको अवस्था परीक्षण गरी तातोपानीबाट उडाएरै काठमाडौँ लगिने आयातकर्ताले जनाएको छ ।
हेलिकाेप्टर आयातले तातोपानी नाका र सिन्धुपाल्चोक क्षेत्रका लागि एउटा नयाँ उपलब्धी र सम्भावनाको ढोका खोलेको छ । हालसम्म लत्ता कपडा, फलफूल, तरकारी, इलेक्ट्रोनिक सामान, विद्युतीय सवारी साधन मात्र आयात हुने यस नाकाबाट हेलिकाेप्टर लगायतका प्राविधिक र उच्च मूल्यको सामग्री पनि सहजै भित्र्याउन सकिन्छ भन्ने पुष्टि भएको छ । प्राविधिक र उच्च मूल्यका सामग्री आयातले नेपाल–चीन व्यापारिक सम्बन्धलाई नयाँ उचाइ दिने विश्वास गरिएको छ ।