अनुकूल मौसम, रोग र कीराको प्रकोपमा कमी आएका कारण यो वर्ष धान उत्पादन बढ्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यो वर्ष धान उत्पादन पाँचदेखि ८ प्रतिशतसम्म बढ्ने आकलन छ। यो वर्षअनुकूल मनसुनी सक्रियता देखिएको, उन्नत बीउ र रासायानिक मलको आपूर्ति पनि सहज भएका कारण उत्पादन वृद्धि हुने देखिएको दाबी मन्त्रालयले गरेको हो। मन्त्रालयले अहिले सातै प्रदेशको धान उत्पादनको तथ्याङ्क अद्यावधिक गरिरहेको छ। मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशको तथ्याङ्क भने आउन बाँकी छ। यो वर्ष मुलुकभर १५ लाख चार हजार ४८६ हेक्टर क्षेत्रफलमा ९४ प्रतिशत धान रोपाइँ भएको थियो। यो वर्ष खेतीयोग्य जमिनको क्षेत्रफल र उत्पादन दुवै बढ्ने देखिएको मन्त्रालयले जनाएको छ।
राष्ट्रिय योजना आयोगले प्रदेश र स्थानीय तहमा सङ्घीय समपूरक अनुुदान तथा विशेष अनुदानका लागि प्रस्ताव आह्वान गरेको छ। समपूरक अनुदानसम्बन्धी कार्यविधि, २०७७ र विशेष अनुदानसम्बन्धी कार्यविधि, २०७७ को व्यवस्थाबमोजिम प्रदेश सरकार र स्थानीय तहबाट सङ्घीय समपूरक अनुदान तथा सङ्घीय विशेष अनुदानअन्तर्गत आव २०८०/८१ मा कार्यान्वयन हुने आयोजना/कार्यक्रमका लागि प्रस्ताव आह्वान गरिएको हो। आगामी पुस मसान्तभित्र राष्ट्रिय योजना आयोगले सञ्चालनमा ल्याएको विद्युतीय (अनलाइन) प्रणालीमार्फत पठाउन आयोगले सूचित गरेको छ।
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा कलम उद्योग सञ्चालनमा आएको छ। शुक्रबारदेखि सञ्चालनमा आएको वीणाशक्ति पेपर एन्ड स्टेसनरी प्रोडक्ट नामक कलम उद्योगमा २५ करोड रुपियाँ लगानी भएको बताइएको छ। बारा जिल्लाको चैनपुरमा स्थापना भएको यस कलम उद्योगले २४ घण्टामा चार लाखसम्म विभिन्न प्रकारका कलम उत्पादन गर्ने सो उद्योगका सञ्चालक मनोजकुमार मरोदियाले बताउनुभयो। यो उद्योगले मुलुकमा खपत हुने कलमको ४० देखि ५० प्रतिशत माग पूरा गर्ने उहाँले बताउनुभयो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२’ सार्वजनिक गरेको छ। नेपालमा श्रम आप्रवासन, श्रम आप्रवासनको स्थितिलगायतका विषय समेटिएको प्रतिवेदन सार्वजनिक गरिएको हो। अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा मूल समारोह समितिद्वारा आइतबार आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र सचिव एकनारायण अर्यालले संयुक्त रूपमा प्रतिवेदन सार्वजनिक गर्नुभयो। सो अवसरमा श्रममन्त्री कुँवरले श्रमिकबारे राज्य गम्भीर हुनुपर्ने बताउनुभयो। श्रम गन्तव्य देशका समस्या केलाउने र श्रमिकका दुःखमा मलम लगाउन सरकार तयार रहेको उहाँको भनाइ थियो। विदेशबाट फर्किएका श्रमिकको सामाजिक सुरक्षादेखि उनीहरूको मर्यादित पुनस्र्थापनामा सरकार अगाडि बढ्ने पनि उहाँले बताउनुभयो।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनील सम्मानित हुनुभएको छ। नेपाल हृदयरोग निवारण प्रतिष्ठानले यस वर्षको ‘मृगेन्द्र सम्झना चिकित्सा गुठी वक्ता (ओरेसन) सम्मान–२०७९’द्वारा उहाँलाई सम्मानित गरिएको हो। प्रतिष्ठानको ३१औँ वार्षिक साधारण सभामा आयोजित कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, मृगेन्द्र सम्झना चिकित्सा गुठीका अध्यक्ष डा. मृगेन्द्रराज पाण्डे र प्रतिष्ठानका अध्यक्ष बलराम न्यौपानेले डा. अनीललाई सम्मान गर्नुभयो। प्रतिष्ठानका अध्यक्ष न्यौपानेले मुटुरोग नियन्त्रण गर्न डा. अनीलले ठूलो सहयोग गरेको बताउँदै सामान्य नागरिकलाई पनि मुटुरोगबारे सचेत गराइरहने भएकाले सम्मान गरिएको बताउनुभयो।
दोलखाको सैलुङ गाउँपालिका–५ का किसानहरू नगदे बाली तोरी खेतीप्रति आकर्षित भएका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिसमक्ष पेस भएसँगै सङ्घीय संसद् सचिवालयले अधिवेशनको तयारीलाई तीव्रता दिएको छ । निर्वाचन परिणाम बुझाएको ३० दिनभित्र अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ । मङ्सिर २९ गते अन्तिम परिणाम बुझाएपछि सचिवालयले तयारीलाई तीव्रता दिएको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय अधिकारीलाई पूर्वस्वीकृतिबिना बिदा नबस्न परिपत्र गरेको छ। स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय अधिकारीलाई कार्यालय समयमा कार्यालयमा भेट्न सकिँदैन। मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय समितिले पूर्वस्वीकृतिबिना बिदा बस्ने गरेकाले कार्यालय समयमा कर्मचारी भेटिन छाडेका कारण सो परिपत्र गरेको हो।
नेपाल वायुसेवा निगमले तत्काल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नगर्ने भएको छ । यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले हिउँदे उडान तालिकाअनुसार सोमबारदेखि काठमाडौँ–दोहा–भैरहवा–काठमाडौँ सातामा दुई दिन र काठमाडौँ–क्वालालम्पुर–भैरहवा–काठमाडौँ साताको एक दिन उडान तालिका स्वीकृत गरेको थियो। तर निगम सञ्चालक समितिको बोर्ड बैठक बस्न नसक्दा र सम्बन्धित गन्तव्यमा उडान गर्नका लागि ओभरफ्लाइङको अनुमति नपाउँदा उक्त गन्तव्यमा कहिलेदेखि उडान हुन्छ भन्नेबारे टुङ्गो लाग्न सकेको छैन।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४, साब्लाखुका किसानले सामूहिक प्याज खेती सुरु गरेका छन्। साब्लाखुमा रहेको नुमाफुङ कृषक समूहमा आबद्ध किसानले पहिलो पटक सामूहिक प्याज खेती सुरु गरेका हुन्। आत्मनिर्भर बन्ने प्रयासस्वरूप उक्त समूहमा आबद्ध किसानले सामूहिक प्याज खेती सुरु गरेको जनाएका छन्। सिदिङ्वा गाउँपालिकाको प्राविधिक सहयोगमा पहिलो पटक सामूहिक खेती सुरु गरिएको हो।
महिलाको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको सुरुवाती उपचार दमकका दुई अस्पतालमा निःशुल्क हुने भएको छ। दमक नगरपालिकाको पहलमा दमकस्थित सामुदायिक आम्दा अस्पताल र सरकार मातहतको दमक अस्पतालमा यसको उपचार निःशुल्क हुने भएको हो। दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईका अनुसार नगरपालिकाले यी दुई अस्पताललाई निःशुल्क रूपमा क्रायोथेरापीका लागि प्रयोग गरिने मोबाइल थर्मोकोबिलेटर मेसिन उपलब्ध गराएको हो। केही समयअघि स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य व्यवस्थापन महाशाखाले यो नगरपालिकालाई उपलब्ध गराएको थियो।
खोटाङका दुई स्थानीय तहले वडामै पुगेर योजना तथा कार्यक्रम सम्झौता गरेका छन्। पालिकासम्म आउँदा नागरिकलाई सास्ती भएको भन्दै वडामै पुगेर दिप्रुङ चुइचुम्मा र खोटेहाङ गाउँपालिकाले योजना तथा कार्यक्रम सम्झौता गरेका हुन्। चालू आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन भएका योजना तथा कार्यक्रम सञ्चालनका लागि दिप्रुङ चुइचुम्मा गाउँपालिकाले मङ्सिर २६ गतेबाट वडामा पुगेर सम्झौता गर्न सुरु गरेको थियो। पुस २ गतेसम्ममा पालिकाभित्रका सातवटै वडामा योजना सम्झौता सम्पन्न भएको पालिका अध्यक्ष लोकेन्द्र राईले जानकारी दिनुभयो।
दोलखाको सदरमुकाम चरीकोटमा लाग्ने हाटबजार जिल्लाकै पुरानो हाटबजार हो। तर, अहिलेसम्म बजार व्यवस्थित हुन नसक्दा गाउँबाट स्थानीयले उत्पादन गरेको हरियो तरकारी, फलफूल, मकै, कोदोलगायतका खाद्यवस्तु सडक ओगटेर बिक्री गरिँदै आएको छ। हरेका शनिबार चरीकोट सातदोबाटो चोकमा लाग्ने हाटमा बिक्री र खरिदकर्ताको भीड लाग्दा सवारीसाधन अस्तव्यस्त भई सडक नै अवरुद्ध हुने गरेको छ। भीमेश्वर नगरपालिकाले हाट बजार व्यवस्थित गर्न सकेको छैन।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा मौसमी श्रमिक पठाउने कार्यविधि स्वीकृत भएको जानकारी दिनुभएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अब सरकारले बेलायत, क्यानडा, दक्षिण कोरियालगायतका आकर्षक गन्तव्य मुलुकमा मौसमी श्रमिक पठाउने कार्यविधि स्वीकृत गरेको हो।
नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुनवल नगरपालिका–७ मा निर्माण गरिएको सुनवल १३२ केभी सबस्टेसन सञ्चालनमा आएको छ। परासीमा रहेका र भविष्यमा आउने उद्योग र स्थानीयवासीलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि सुनवल १३२ केभी सबस्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। परासी क्षेत्रका सिमन्ट, स्टिललगायतका ठूला उद्योग र गार्हस्थ्य उपभोक्तालाई विद्युत् आपूर्तिका लागि सुनवल सबस्टेसन मेरुदण्ड बन्ने प्राधिकरणको भनाइ छ।