प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सकिएको छ। निर्वाचन नजिता राष्ट्रप्रमुख र प्रदेशप्रमुखसमक्ष पुगिसकेको छ। सङ्घ र प्रदेशमा नयाँ सरकार बन्ने संवैधानिक प्रक्रिया आरम्भ हुँदै छ र दलहरू गृहकार्यमा छन्। मूलभूत रूपमा मुलुकी अर्थतन्त्र सङ्कटको डिलमा छ। यो निर्वाचनको जनादेश कुनै एक दललाई मात्र प्राप्त छैन। कम्तीमा दुई र त्योभन्दा बढी दल तथा स्वतन्त्र विधायक मिलेर सरकार बनाउनुपर्ने अवस्था छ ।
विश्वमा करिब सात लाख मानिसको एन्टिबायोटिक रेजिस्टेन्सका कारण मृत्यु भइरहेको छ । नियन्त्रणका लागि ठोस कदम नचाले सन् २०५० सम्ममा मृत्यु हुनेको सङ्ख्या बर्सेनि एक करोड पुग्ने विश्व स्वास्थ्य सङ्गठनको आकलन छ । मानवीय क्षतिका साथै विश्वभर बर्सेनि करिब एक सय खर्ब अमेरिकी डलरबराबरको आर्थिक क्षति हुनेछ । प्रत्यक्ष असर नेपालजस्ता मुलुकमा बढी पर्नेछ ।
घोराही उपमहानगरपालिका–५ निवासी सावित्रा डाँगी केही वर्षअघिसम्म ढिकीमा धान, गहुँ, जौ र बेसार कुट्नेदेखि जाँतोमा चामल, मकैलगायतको पिठो पिस्ने काम गर्नुहुन्थ्यो । यसरी पिसेको पिठोबाट बनाएको खाने परिकार स्वादिलो हुने गर्दथ्यो । पूजाआजामा चढाउन तथा चोखो शुद्ध परिकार बनाउनका लागि समेत ढिकीमा कुट्नेदेखि जाँतोमा पिठो पिस्ने गर्नुहुन्थ्यो ।
दाङको टरिगाउँ विमानस्थलमा छ दशकपछि इन्धन डिपो सञ्चालनमा ल्याई हवाई उडान सेवा थप गरिएको छ । प्रत्येक सोमबार र बुधबार गरी दुई दिन मात्रै हुने उडान सेवा अब सातामा पाँच दिन हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका–१२, टरिगाउँ विमानस्थलमा इन्धन डिपो सञ्चालनपछि पाँच दिन हवाई सेवा भएको विमानस्थलका प्रमुख गणेश अर्यालले जानकारी दिनुभएको छ । बिहान ९ देखि ११ बजेसम्म विमान उड्ने गरेको छ ।
म्याग्दीको मालिका गाउँपालिका–७, बीमस्थित डाँडाखेतमा म्याग्दी नदी र सहायक नदीमा निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न सबस्टेशन निर्माण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले बीमदेखि रघुगङ्गा गाउँपालिका–३, राहुघाटको अम्बाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइन र सबस्टेसन निर्माण थालेको हो ।
पोखराको छिनडाँडामा अवस्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा बाधक बनेपछि पोखराको ल्यान्डफिल साइटमा आइतबारदेखि फोहोर फ्याँक्न रोक लगाइएको छ । पोखरा महानगरपालिकाले तत्कालका लागि फोहोरको व्यवस्थापन गर्न विभिन्न वडामा अल्पकालीन व्यवस्था मिलाइएको जनाएको छ । महानगरपालिकाका प्रवक्ता मोतीलाल तिमिल्सिनाका अनुसार तत्कालका लागि क्षेत्रगत रूपमा फोहोर व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
विश्वकप फुटबल प्रतियोगिता व्यावसायिक फुटबलका लागि ठूलो मञ्च हो। विश्वकपमा विश्वकै नजर रहेको हुन्छ। त्यसैले विश्वकपमा चम्कने खेलाडीलाई युरोपेली क्लबहरूले पनि आँखा लगाइरहेका हुन्छन्। आगामी जनवरीमा ट्रान्सफर विन्डो खुल्दै छ। त्यसैले उदीयमान खेलाडीका लागि कतार विश्वकप आफूलाई सही साबित गर्ने सबभन्दा उपयुक्त मञ्च बनेको छ। यस विश्वकपबाट पनि केही खेलाडी ठूला क्लबमा ठूला रकममा अनुबन्धित हुने पक्का छ।
फिफाका अध्यक्ष जियानी इन्फाटिनोले अबदेखि क्लब विश्वकप फुटबलमा ३२ टिम सहभागी गराउने निर्णयको स्पेनी फुटबल लिगले कडा विरोध गरेको छ। फिफाको यस निर्णयबाट रिसाएको स्पेनी लिगले आइतबार यसले राम्रोभन्दा बढी हानि पु-याउने जनाएको छ। विश्वकप फुटबलमा फिफाले क्लब र खेलाडीहरूको सानो समूहलाई मात्र सहभागी गराउँछ तर व्यावसायिक फुटबलको कुरा गर्ने हो भने त्यहाँ थुप्रै व्यावसायिक लिग छन्, हजारौँ क्लब र खेलाडी छन्, जसले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका हुँदैनन्। फिफाले ४८ टिम सहभागी गराएमा व्यावसायिक फुटबलमा पार्ने प्रतिकूल प्रभावलाई बेवास्ता गरेको हुनेछ– स्पेनी क्लबको भनाइ छ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले प्रकाशित गरेका कलाका विविध आयाम, तथ्य र अभ्याससम्बन्धी पुस्तक तथा चित्रकला प्रदर्शनी आयोजना गरिएको छ। प्रतिष्ठानद्वारा शनिबार ‘समृद्ध नेपाल, सुखी नेपाल’ शीर्षकमा आयोजित प्रदर्शनीको पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो ।
नेपालको साङ्गीतिक सम्पदाको अभिलेखीकरण नभए मौलिक सङ्गीत लोप हुने भन्दै सङ्गीत अध्येता तथा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। फोल्क लोकले ललितपुर पाटन सङ्ग्रहालय परिसरमा आयोजना गरेको साताव्यापी दाफा पुकार कार्यक्रमअन्तर्गत ‘नेपालको साङ्गीतिक सम्पदाको अभिलेखीकरण’ शीर्षकको अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताले पुस्तान्तरण हुँदै आएको मौलिक सङ्गीतको अभिलेखीकरणमा ढिला गर्न नहुने बताए। कार्यक्रममा राजन श्रेष्ठले नेपाल सङ्गीत अभिलेखालयमार्फत मौलिक/लोपोन्मुख गीत/सङ्गीतको डिजिटाइजेसन, सङ्गीतसँग सम्बन्धित पुस्तकालय व्यवस्थापन, वृद्ध अवस्थाका सर्जक, स्रष्टाको स्वरमा गीत रेकर्डसमेत गरिरहेको जानकारी दिनुभयो। अभिलेखालयले लोपोन्मुख मौलिक सङ्गीतका ज्ञाता चार सयभन्दा बढी कलाकारको सिर्जना, स्वर रेकर्ड गरेको जानकारी उहाँले दिनुभयो।
आख्यानकार डा. ध्रुवचन्द्र गौतमको ८०औँ जन्मोत्सवका अवसरमा उहाँलाई ‘आविष्कारी आख्यानकार’ उपाधि प्रदान गरिएको छ। वसन्त चौधरी फाउन्डेसनद्वारा आइतबार राजधानीमा आयोजित बृहत् कार्यक्रममा उहाँलाई उक्त उपाधि प्रदान गरिएको हो। फाउन्डेसनका अध्यक्ष वसन्त चौधरीले करिब सात दशकदेखि सिर्जनाकर्ममा संलग्न रहेर साहित्यमा नयाँ विधाको आविष्कार र प्रयोग गर्न सफल सर्जक गौतमले नेपाली साहित्य क्षेत्रलाई पु-याउनुभएको योगदानको कदर गर्दै उपाधिद्वारा अभिनन्दन गरिएको बताउनुभयो। उहाँले सर्जक गौतमसँग ४३ वर्षदेखि सानिध्यमा रहेर काम गर्दा नम्र बोली, मीठो स्वभाव र सधैँ लेखिरहने बानीसँग परिचित हुने अवसर मिलेको बताउनुभयो।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा असहयोग गरेको भन्दै केन्द्रीय सदस्यद्वय मधुप्रसाद आचार्य र गणेश लामा तथा प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सभापति महेश खरेललाई साधारणसमेत नरहने गरी कारबाही गर्न केन्द्रीय कार्यसमितिमा सिफारिस गरेको छ।
दोलखाको मेलुङ गाउँपालिकाभित्रका अभिभावकविहीन बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिइने भएको छ। चालू आर्थिक वर्षमा यहाँका ३३ जना बालबालिकालाई मासिक दुई हजार रुपियाँका दरले वडा कार्यालयमार्फत भत्ता दिन लागिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जय सिवाकोटीले जानकारी दिनुभयो।
निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को अन्तिम परिणामसहितको प्रतिवेदन बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष प्रस्तुत गरेसँगै प्रदेश सभाको अधिवेशन आह्वान गरी प्रदेश सभा सदस्यको शपथलगायतका प्रक्रिया सुरु गर्न सकिने भएको छ। आयोगले सातै प्रदेशमा प्रतिवेदन बुझाउने क्रममा आयोगका सचिव गोकर्णमणि दुवाडीले प्रदेश प्रमुखको कार्यालय हेटौँडामा शनिबार आयोजित कार्यक्रममा बागमती प्रदेशको निर्वाचन परिणामको प्रतिवेदन प्रदेश प्रमुख शर्मासमक्ष पेस गर्नुभएको हो।
डिजिटल मुद्राको प्रयोग र कार्यान्वयनका सन्दर्भमा दक्षिण एसियाली मुलुकले समेत चासो र प्रयत्न अगाडि बढाएका छन्। भौतिक मुद्राको साटोमा केही देशले प्रयोगमा ल्याइसकेको यस्तो मुद्राको कार्यान्वयन र त्यसका चुनौतीका सन्दर्भमा सदस्य देशबीच कम्तीमा बहस सुरु भएको छ। सँगै डिजिटल मुद्रा र कर प्रणालीका विषयमा समेत पूर्वतयारीका उपाय खोज्ने क्रममा सदस्य राष्ट्र जुटेका छन्।