बागलुङको बडिगाड गाउँपालिका–४, जलजलाका ६६ वर्षीय गादरे बुढाथोकी चैत्राष्टमी मेला अवलोकन गर्न विगत ४५ वर्षदेखि निरन्तर आउने गर्नुभएको छ। कोरोना कालबाहेकका सबै मेलामा उहाँ उपस्थित हुनुभएको छ। बागलुङ बजारस्थित कालिका मन्दिर परिसरमा सञ्चालन हुने ऐतिहासिक मेलामा उहाँ केवल मेलाको दर्शक र मन्दिरको भक्तजन मात्रै भएर आउनुभएको होइन। गाउँमा वर्ष दिनभरि निर्माण गरिएका डाला, नाङ्ला, थुन्सेजस्ता घरायसी सामग्री लिएर बिक्रीका लागि आउनुभएको हो।
गण्डकी प्रदेश सरकारले सांसद विकास कार्यक्रमलाई निरन्तरता दिएको छ। यसअघि ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ शीर्षक राखिएकोमा अहिले नाम फेरिएर ‘पूर्वाधार विकास कार्यक्रम’ ल्याइएको हो। चालु आर्थिक वर्ष २०७९/८० मा पूर्वाधार विकास कार्यक्रमका लागि प्रत्येक निर्वाचन क्षेत्रमा दुई करोड रुपियाँ विनियोजन भएको थियो। यो कार्यक्रमको कार्यविधि फागुन २१ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट पारित भइसकेको छ।
मधेश प्रदेशबाट यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ७९ हजार ९४ जना विद्यार्थी सहभागी हुने भएका छन्। परीक्षालाई मर्यादित, अनुशासित र निष्पक्ष रूपमा सम्पन्न गराउन प्रदेशभरका जिल्लामा २७८ वटा परीक्षा केन्द्र निर्धारण गरेको शिक्षा विकास निर्देशनालय जनकपुरधामले जनाएको छ।
लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एफको प्रथम डिस्ट्रिक्ट महाधिवेशनबाट डिस्ट्रिक्ट गभर्नर, पहिलो भाइस डिस्ट्रिक्ट गभर्नर एवं द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नरलाई निर्वाचित गरिएको छ। जनकपुरधाममा आयोजित महाधिवेशनले डिस्ट्रिक्ट गभर्नरमा शिवकुमार कटुवाल, पहिलो भाइस डिस्ट्रिक्ट गभर्नरमा शङ्करकुमार शारदा र द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नरमा केशरबहादुर भण्डारीलाई निर्वाचित गरेको हो। डिस्ट्रिक्ट गभर्नर कटुवालले डिस्ट्रिक्ट क्याबिनेट सचिवमा मनोजकुमार सापकोटा, डिस्ट्रिक्ट क्याबिनेट कोषाध्यक्षमा भुवनप्रसाद नेपाल र चिफ डिस्ट्रिक्ट सल्लाहकारमा प्रणिता शर्मा बराललाई मनोनयन गर्नुभएको छ।
वैदेशिक रोजगारीमा जाने तयारी रहेका र विदेशमा स्वरोजगारमा रहेका श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध हुनेको सङ्ख्यामा उच्च वृद्धि भएको छ । सामाजिक सुरक्षा कोषले औपचारिक रूपमा सुरु गरेको एक सातामै १५ हजार ६८५ जना श्रमिक आबद्ध भएका हुन् ।
वन्यजन्तु अवलोकनका लागि आउने पर्यटकका लागि चितवन उत्कृष्ट गन्तव्य हो । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा र अन्य वन्यजन्तु हेर्नका लागि देश विदेशबाट पर्यटक आउने गर्छन् ।
भारतको नयाँ दिल्लीको सफ्टवेयर इन्जिनियरको आकर्षक जागिर छाडेर पर्सा पकहामैनपुर गाउँपालिका–१, धोरेका श्यामवदन यादव गाईपालन व्यवसायमा रमाउनुभएको छ । मासिक दुई लाख भारतीय रुपियाँको जागिर छाडेर आफ्नै गाउँघरमा व्यवसाय गर्ने गरी फर्कनुभएका यादवले पाँचवटा गाईबाट १५ वर्षअघि सुरु गर्नुभएको थियो । अहिले उहाँले ठोरी गाउँपालिका–५, सुवर्णपुरमा कलश क्याटल फार्मिङको नाममा १५० वटा गाईपालन गरिरहनुभएको छ ।
ताप्लेजुङमा अविवाहित पुरुषको सङ्ख्या उन्नाइस हजारभन्दा बढी छ। राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लामा महिलाको तुलनामा अविवाहित पुरुषको सङ्ख्या बढी पाइएको हो। अविवाहितको सङ्ख्या ३४ हजार ८४७ रहेको छ। उक्त सङ्ख्यामध्ये यहाँ अविवाहित पुरुष १९ हजार ३३४ जना छन्। अविवाहित महिलाको सङ्ख्या भने १५ हजार ५१३ छ। पुरुषभन्दा विवाहित महिलाको सङ्ख्या बढी रहेको तथ्याङ्क सार्वजनिक भएको छ। विवाहित सङ्ख्या ५९ हजार १९५ रहेकोमा महिलाको सङ्ख्या ३० हजार ६१९ देखिएको छ। त्यस्तै विवाहित पुरुषको सङ्ख्या २८ हजार ५७६ मात्र रहेको छ।
बागमती प्रदेश सरकारले २०८० वैशाखबाट मन्त्रालय र मातहतका सबै कार्यालयमा कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाखबाट विद्युतीय हाजिरीको व्यवस्था गर्ने निर्णय गरेको हो। प्रदेश सरकार गठन भएको पाँच वर्ष बितिसक्दासमेत प्रदेश सरकारको मन्त्रालय र मातहतका कतिपय कार्यालयमा कर्मचारीको दैनिक हाजिर हाजिरीपुस्तिकामा हुँदै आएको थियो। प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले निर्णय वैशाख १ गतेबाट लागू गरिने जानकारी दिनुभयो।
मोरङमा हुलाकी राजमार्ग निर्माण सुस्त हुँदा सास्ती बढेको भन्दै नागरिकले स्थानीय तहमा दबाब बढाएका छन्। विराटनगर महानगरपालिका र कटहरीका बासिन्दाले ठेकेदारले सडक भत्काएर छोडेपछि सास्ती बढेको भन्दै निर्माण पहल माग गर्दै दबाब बढाएका हुन्। कटहरी गाउँपालिकामा चार राजनीतिक दल र उद्योग वाणिज्य सङ्घले अध्यक्ष देवराज चौधरीलाई बुधबार ज्ञापनपत्र बुझाउँदै तत्काल सडक निर्माणको कामबारे चासो लिइदिन माग गरेका छन्। कटहरी गाउँपालिकाको १, २, ३ र ४ नम्बर समेट्ने जुडी खोलादेखि सिङ्घिया खोलासम्मको सडक भत्काएर निर्माण नगरिएपछि त्यसले सास्ती बढाएको भन्दै ज्ञापनपत्र बुझाइएको हो। निर्माण कम्पनीले काम रोकेको भन्दै गाउँपालिका
कालीकोटमा निर्माण गर्न लागिएको फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको बहुमत सेयर भारतीय कम्पनीलाई दिइने भएको छ । सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले फुकोट कर्णालीको सेयर भारती कम्पनी एनएचपीसीलाई दिने निर्णय गरेको हो ।
यही शुक्रबारबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षाको तयारी बागमती प्रदेशमा अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालन गर्ने माध्यमिक शिक्षा परीक्षा (एसईई)का आवश्यक जनशक्ति परिचालनलगायतको काम अन्तिम चरणमा पुगेको हो । बागमती प्रदेशको शिक्षा विकास निर्देशनालय हेटौँडाका सूचना अधिकारी शारदा मैनालीले प्रदेशका १३ वटै जिल्लामा परीक्षाका लागि तयारी अन्तिम चरणमा पुगेको र कतिपय स्थानमा कर्मचारी खटिएर कार्यक्षेत्रमा गइसकेको जानकारी दिनुभयो।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख आर्थिक सल्लाहकारमा डा. चिरञ्जीवी नेपाल र कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले उहाँहरूलाई बुधबार सल्लाहकार नियुक्त गर्नुभएको हो । प्रमुख आर्थिक सल्लाहकार नेपाल पूर्वगभर्नर हुनुहुन्छ भने कानुनी सल्लाहकार कुँवर पूर्वप्रदेश प्रमुख हुनुहुन्छ ।
राष्ट्रिय सभामा प्रस्तुत राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ मा तीनवटा संशोधन प्रस्ताव दर्ता भएको छ । उक्त विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने ७२ घण्टाको समयसीमा बुधबार समाप्त भएको छ । सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले राष्ट्रिय सभाका ११ जना सदस्यले तीन समूहमा विभिन्न १८ बुँदामा तीनवटा संशोधन प्रस्ताव दर्ता गराएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “संशोधनको बढी भाग अनुसूची १ सँग सम्बन्धित छन् ।” विधेयकको अनुसूची १ मा सरकारी एवं सार्वजनिक पदाधिकारी तथा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा योगदान पु¥याएका अति विशिष्ट व्यक्ति तथा महानुभावहरूको कदर एवं सम्मानका लागि मर्यादाक्रम तोकिएका छन् ।
हिमाली जिल्ला हुम्लाका रैथाने बालीका परिकार सहरमा पुग्न थालेका छन् । सहरी क्षेत्रमा माग बढेपछि निजीस्तरमा स्थापना भएका खाद्य उद्योगले ती खाद्यवस्तु सुर्खेत, नेपालगञ्ज, पोखरा र काठमाडौँलगायतका सहरमा बिक्री गर्न थालेका हुन् । रैथाने बालीका उत्पादन प्रशोधन र प्याकेजिङ गरेर सहरमा पु-याउने काममा संलग्न सुवर्ण सिमकोट खाद्य उद्योगका सञ्चालक मुकुन्द रोकायाले मागका आधारमा रैथाने उत्पादन सहरमा पठाउने गरिएको जानकारी दिनुभयो । उहाँले ‘अर्डर’अनुसार हुम्लाबाट ती खाद्यवस्तु पठाउने गर्नुभएको छ ।