• १३ असोज २०८१, आइतबार

अविवाहित पुरुष बढी

blog

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, चैत १६ गते । ताप्लेजुङमा अविवाहित पुरुषको सङ्ख्या उन्नाइस हजारभन्दा बढी छ। राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लामा महिलाको तुलनामा अविवाहित पुरुषको सङ्ख्या बढी पाइएको हो। 

अविवाहितको सङ्ख्या ३४ हजार ८४७ रहेको छ। उक्त सङ्ख्यामध्ये यहाँ अविवाहित पुरुष १९ हजार ३३४ जना छन्। अविवाहित महिलाको सङ्ख्या भने १५ हजार ५१३ छ। पुरुषभन्दा विवाहित महिलाको सङ्ख्या बढी रहेको तथ्याङ्क सार्वजनिक भएको छ। विवाहित सङ्ख्या ५९ हजार १९५ रहेकोमा महिलाको सङ्ख्या ३० हजार ६१९ देखिएको छ। त्यस्तै विवाहित पुरुषको सङ्ख्या २८ हजार ५७६ मात्र रहेको छ। जनगणनाको प्रतिवेदनअनुसार ३३ हजार ५५१ महिला र ३० हजार २५६ पुरुष गरी ६३ हजार ८०७ जनाले एक पटक विवाह गरेका छन्। विवाह गरेका सो सङ्ख्यामध्ये ५३६ जना छुट्टिएर बसेको पाइएको छ। छुट्टाछुट्टै बस्नेमा २८० महिला र २५६ जना पुरुष छन्। त्यस्तै एकल महिला दुई हजार ५७८ र एकल पुरुष एक हजार ३३७ जना रहेका छन्। 

यसैगरी १० वर्ष उमेरभित्रै २२९ जना महिला र ६० जना पुरुषले विवाह गरेका प्रतिवेदनमा उल्लेख गरिएको छ। त्यस्तै १० देखि १४ वर्षभित्र आठ हजार ४९ महिला र दुई हजार ३२९ जना पुरुष, १५ देखि १७ वर्ष उमेरभित्र २४ हजार ७५१ महिला र नौ हजार ३९४ जना पुरुषले विवाह गरेका छन्। सबैभन्दा बढी १८ देखि २० वर्ष उमेर समूहकाले वैवाहिक सम्बन्ध सुरु गरेका पाइएको छ। उमेर समूहअनुसार १८ देखि २० वर्षभित्र युवायुवतीमध्ये २८ हजार २११ महिला र २३ हजार ८८० जना पुरुषले विवाह गरेका छन्। यस्तै २१ देखि २४ वर्ष उमेर समूहका १३ हजार ८२१ पुरुष र आठ हजार ४५८ महिला, २५ देखि २९ वर्ष उमेरभित्र पाँच हजार ५०२ महिला र दुई हजार ३६४ जना पुरुषले विवाह गरेका छन्।