• ९ पुस २०८१, मङ्गलबार

फुकोट कर्णालीको एकाउन्न प्रतिशत सेयर एनएचपीसीलाई

blog

प्रेमराज सिम्खडा 

कालीकोट, चैत १६ गते । कालीकोटमा निर्माण गर्न लागिएको फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको बहुमत सेयर भारतीय कम्पनीलाई दिइने भएको छ । सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले फुकोट कर्णालीको सेयर भारती कम्पनी एनएचपीसीलाई दिने निर्णय गरेको हो । 

ऊर्जा सचिव दिनेशकुमार घिमिरे अध्यक्ष रहेको कम्पनीको सञ्चालक समितिले भारत सरकारको स्वामित्व रहेको एनएचपीसी इन्डिया लिमिटेडलाई ५१ प्रतिशत सेयर दिएर संयुक्त कम्पनी बनाउने गरी समझदारीपत्रको मस्यौदा स्वीकृत गरेको जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सूचना अधिकारी बाबुराज अधिकारीले एनएचपीसी इन्डिया लिमिटेडलाई फुकोट कर्णालीमा सहलगानीका लागि आह्वान गरे पनि कम्पनीले आफूलाई ५१ प्रतिशत नै सेयर दाबी गरेकाले त्यहीअनुसार सहमति भएको जानकारी दिनुभयो । उहाँले ५१ प्रतिशत दिने सहमति भएको र अब नेपाली कम्पनीसँग लगानीका लागि समझदारीपत्र (एमओयू)को मस्यौदा तयार हुन भने बाँकी रहेको बताउनुभयो । 

एमओयू सक्नेबित्तिकै विद्युत् उत्पादन कम्पनी र एनएचपीसी मिलेर संयुक्त कम्पनी खडा हुनेछ । विद्युत् उत्पादन कम्पनीका प्रबन्ध सञ्चालक सूर्यप्रसाद रिजालले एक वर्षअघिदेखि कुराकानी भइरहेको र बल्ल सहमति भएको बताउनुभयो । 

गत वर्ष चैतमा दुई देशका प्रधानमन्त्रीबीच भएको ऊर्जा सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोणपत्रअनुसार सरकारी स्वामित्वका संस्थाहरूको संयुक्त लगानीमा फुकोट कर्णाली अर्धजलाशययुक्त परियोजना अगाडि बढाउन लागिएको मन्त्रालयले जनाएको छ । 

गत फागुनमा भारतको राजस्थानमा भएको नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा फुकोट कर्णालीमा भारतीय लगानी ल्याउन एनएचपीसी र विद्युत् उत्पादन कम्पनीबीच दुई महिनाभित्र एमओयू गरिसक्ने विश्वास नेपाली पक्षले भारतीय पक्षलाई दिलाएको थियो । समझदारीपत्रको मस्यौदाअनुसार आयोजनाबाट नेपालले मासिक रूपमा २१ दशमलव ९ प्रतिशत निःशुल्क ऊर्जा पाउनेछ । 

आयोजनामा विद्युत् उत्पादन कम्पनीको ४९ र एनएचपीसीको ५१ प्रतिशत सेयर स्वामित्व रहने गरी प्रस्ताव गरिएको विद्युत् उत्पादन कम्पनीका प्रबन्ध निर्देशक रिजालले बताउनुभयो । आयोजनामा ऋण लगानी जुटाउने जिम्मा एनएचपीसीकै हुने प्रस्ताव गरिएको छ । आयोजनाबाट उत्पादन हुने बिजुलीको बजार र आयोजना बनाउन आवश्यक ऋणको प्रबन्ध प्रवद्र्धक कम्पनीका तर्फबाट एनएचपीसीले नै गर्नुपर्ने मस्यौदामा उल्लेख छ । आयोजनाको बिजुली नेपालले आफैँ खपत गर्न चाहेमा किन्ने अधिकार रहनेछ । 

नेपालले खपत नगरेको अवस्थामा मात्रै आयोजनाको बिजुली निर्यात हुनेछ । बिजुली बङ्गलादेशमा पनि निर्यात गर्न सक्ने गरी प्रावधान प्रस्ताव गरिएको जनाइएको छ । आयोजनाको लाइसेन्स खर्च र अध्ययन र पहुँच मार्गलगायतमा भएका खर्च रकम आयोजना निर्माण गर्न खोलिने कम्पनीमा प्राधिकरणको सेयर लगानीमा पुँजीकरण गर्न प्रस्ताव गरिएको छ । 

फुकोट कर्णाली जलविद्युत् आयोजना कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–१ मा निर्माण हुन लागेको ४८० मेगावाटको परियोजना हो । अहिले आयोजनाले सम्भाव्यता अध्ययनका क्रममा ५२० मिटरको परीक्षण सुरुङ खन्ने काम अन्तिम चरणमा पु-याएको छ । आयोजनाको सिस्नेगडामा १८० मिटर अग्लो बाँध बनाएर १३ किलोमिटरको सुरुङबाट भौतेगडामा बन्ने विद्युत्गृहमा खसाल्ने योजना छ । करिब ९२ अर्ब रुपियाँ लागतको यो परियोजना निर्माण सुरु भएको पाँच वर्षमा निर्माण सक्ने लक्ष्य रहेको छ । 

सेयर पाउनुपर्ने स्थानीयवासीको माग 

आयोजना प्रभावित क्षेत्रका नागरिकलाई विद्युत् कम्पनीले यसअघि नै जग्गाको मुआब्जा दिइसकेको भए पनि स्थानीयवासीले भने आयोजनाको १० प्रतिशत सेयरमा दाबी गर्दै आएका छन् । मागअनुसार सेयर नदिए आयोजना अगाडि बढाउन नदिने अडान स्थानीयवासीको छ । 

कालीकोटका नागरिकले १० प्रतिशत सेयरको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्र दिएका छन् । कालीकोटका नागरिक अगुवा हिक्मत मल्लले स्थानीयवासीले पनि सेयर पाउनुपर्ने आफूहरूको माग रहेको बताउनुभयो ।