• २९ चैत २०८२, आइतबार

डिजिटल भुक्तानी नहुँदा अस्पतालका सेवाग्राही समस्यामा

blog

प्रदेश अस्पताल बेँसीसहरमा उपचार गर्न आएका बिरामी । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, चैत २९ गते । दैनिक चार सय बढी बिरामीको चाप हुने प्रदेश अस्पताल लमजुङमा डिजिटल (क्युआर) भुक्तानी हुने व्यवस्था नहुँदा सेवाग्राहीहरू समस्यामा परेका छन् । 

डिजिटल भुक्तानी नहुँदा सेवाग्राहीलाई नगद नै बोक्नु पर्ने बाध्यता रहेको हो । धेरै बिरामीले डिजिटल भुक्तानीको सुविधा नहुँदा सास्ती खेप्नुपरेको छ । प्रविधिको युगमा अस्पतालमा पनि प्रविधिको विकास हुनुपर्ने सेवाग्राहीले माग राख्दै आएका छन् । प्रदेश अस्पताल लमजुङले डिजिटल भुक्तानीको व्यवस्था नगर्दा समस्या हुने गरेको बेँसीसहर नगरपालिका–२ का कृष्ण केसीले बताउनुभयो ।

टिकट लिन, चेकजाँचको बिल भुक्तानी तथा औषधी खरिदका लागि अस्पतालमा हुने भिड व्यवस्थापनमा डिजिटल भुक्तानी गर्दा छिटो हुने भए पनि अस्पातलले अहिलेसम्म यो सुविधा लागु गर्न नसकेको हो । अस्पतालका सूचना अधिकारी अनिल रेग्मीले कोष तथा लेखा नियन्त्रणको कार्यालयमार्फत आम्दानी बाध्नुपर्ने भएका कारण डिजिटल भुक्तानीको व्यवस्था हुन नसकेको बताउनुभयो ।  

प्रदेश अस्पताल लमजुङमा दैनिक रूपमा बिरामीको भिड हुने गर्दछ । गत साउनदेखि माघ मसान्तसम्म करिब ७० हजार सेवाग्राहीले अस्पतालबाट विभिन्न प्रकारका उपचार सेवा लिएका छन् । आर्थिक वर्ष २०८१–८२ मा समेत यो अस्पताल प्रदेशभर सबैभन्दा बढी सेवाग्राहीले सेवा लिएका थिए । 

पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क विश्लेषण गर्दा, उक्त अस्पतालले लगातार शीर्ष स्थान कायम राख्न सफल हुँदै आएको छ । अस्पतालमा गत आर्थिक वर्ष २०८१–८२ मा एक लाख १३ हजार आठ सय ३७ जना बिरामीले सेवा लिएको अस्पतालले जनाएको छ । 

त्यसैगरी आर्थिक वर्ष २०८०–८१ मा एक लाख १३ हजार चार सय ५९ जना र आर्थिक वर्ष २०७९–८० मा एक लाख सात हजार नौ सय ८३ जनाले सेवा लिएका थिए ।