• ९ पुस २०८१, मङ्गलबार

रैथाने बालीका उत्पादन सहरमा

blog

राजन रावत

हुम्ला, चैत १६ गते । हिमाली जिल्ला हुम्लाका रैथाने बालीका परिकार सहरमा पुग्न थालेका छन् । सहरी क्षेत्रमा माग बढेपछि निजीस्तरमा स्थापना भएका खाद्य उद्योगले ती खाद्यवस्तु सुर्खेत, नेपालगञ्ज, पोखरा र काठमाडौँलगायतका सहरमा बिक्री गर्न थालेका हुन् ।

रैथाने बालीका उत्पादन प्रशोधन र प्याकेजिङ गरेर सहरमा पु-याउने काममा संलग्न सुवर्ण सिमकोट खाद्य उद्योगका सञ्चालक मुकुन्द रोकायाले मागका आधारमा रैथाने उत्पादन सहरमा पठाउने गरिएको जानकारी दिनुभयो । उहाँले ‘अर्डर’अनुसार हुम्लाबाट ती खाद्यवस्तु पठाउने गर्नुभएको छ । 

हुम्लाबाट अन्यत्र लैजाने गरिएका रैथाने बालीका उत्पादनमा चिनोको बिस्कुट, सिस्नोको चाउमिन, चिनो र कागुनोको चामल, उवा र जौको सातु, तिते र मिठे फापरको पिठो, सिमी, मह, ढँटेला, चुली, खाँबुको तेललगायतका २० भन्दा बढी वस्तु रहेका छन् । यी खाद्यवस्तु हुम्लामै प्रशोधन र प्याकेजिङ गरेर पठाइने गरेको छ । 

कच्चा पदार्थ तयारी अवस्थामा राख्ने र अर्डर आउनेबित्तिकै प्रशोधन गरेर प्याक गरी पठाउने गरिएको रोकायाले बताउनुभयो । यी सामानको मूल्य ५० रुपियाँदेखि साढे तीन सय रुपियाँसम्म रहेको छ । 

उहाँले हालसम्म ४० क्विन्टल प्रशोधित खाद्यवस्तु हुम्लाबाहिर पठाइएको र यसबाट २० लाख रुपियाँको कारोबार भएको बताउनुभयो । यी उत्पादन देशका ठूला सबै सहरमा पु-याउने योजना रहेको रोकायाले बताउनुभयो ।

सोह्र वर्षअघि कुटानी पिसानी मिल चलाउन सुरु गर्नुभएका रोकाया अहिले हुम्लाका रैथाने बालीका उत्पादनलाई प्रशोधन गरी ठूला सहरमा बिक्री गर्न थाल्नुभएको हो । 

सडक यातायात नजोडिएका कारण हवाई मार्गबाट ढुवानी गर्नुपर्ने भएकाले सामानको मूल्य भने केही महँगो पर्ने गरेको उहाँले स्वीकार गर्नुभयो । उहाँको यस कार्यलाई जिल्लामा आयआर्जनका क्षेत्रमा काम गर्ने निकायबाट सहयोग पनि प्राप्त हुन थालेको छ । यसबाट उहाँ अझै व्यवसायप्रति हौसिनुभएको छ । 

खरिद बिक्री सम्झौता

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय हुम्ला र अदानचुली गाउँपालिकाबीच रैथाने बाली खरिदका लागि सम्झौता भएको छ ।  शाखा कार्यालय सिमकोटका प्रमुख कृष्णप्रसाद अधिकारीले रैथाने बाली खरिदका लागि बुधबार शाखा र अदानचुली गाउँपालिकाबीच सम्झौता भएको जानकारी दिनुभयो । 

सम्झौतामा खाद्य कम्पनीका तर्फबाट शाखा प्रमुख कृष्णप्रसाद अधिकारी र अदानचुली गाउँपालिकाका तर्फबाट वडा नं. ५ का वडाध्यक्ष कमल छत्यालले हस्ताक्षर गर्नुभएको छ । 

सम्झौतामा छ प्रकारका रैथाने बाली खरिद बिक्री गर्ने उल्लेख छ । पहिलो चरणमा प्रतिकेजी १४० रुपियाँका दरले एक सय क्विन्टल सिमी, प्रतिकेजी १६० रुपियाँमा मास ३० क्विन्टललगायत फापर, कोदो, चिनो र कागुनो २० क्विन्टल खरिद गर्ने सम्झौता भएको छ । चिनो र कागुनो प्रतिकेजी ६५ रुपियाँ र फापर ९० रुपियाँ र कोदो ६० रुपियाँमा खरिद गर्ने सम्झौता गरिएको छ । खाद्य कम्पनीले अदानचुली गाउँपालिकाबाट पहिलो चरणमा १५० क्विन्टल रैथाने बाली खरिद गर्ने अधिकारीले जानकारी दिनुभयो ।