• १३ असोज २०८१, आइतबार

मोरङमा हुलाकी राजमार्ग

निर्माण सुस्त भएपछि नागरिक दबाब

blog

नवराज कट्टेल

विराटनगर, चैत १६ गते । मोरङमा हुलाकी राजमार्ग निर्माण सुस्त हुँदा सास्ती बढेको भन्दै नागरिकले स्थानीय तहमा दबाब बढाएका छन्। विराटनगर महानगरपालिका र कटहरीका बासिन्दाले ठेकेदारले सडक भत्काएर छोडेपछि सास्ती बढेको भन्दै निर्माण पहल माग गर्दै दबाब बढाएका हुन्। 

कटहरी गाउँपालिकामा चार राजनीतिक दल र उद्योग वाणिज्य सङ्घले अध्यक्ष देवराज चौधरीलाई बुधबार ज्ञापनपत्र बुझाउँदै तत्काल सडक निर्माणको कामबारे चासो लिइदिन माग गरेका छन्। कटहरी गाउँपालिकाको १, २, ३ र ४ नम्बर समेट्ने जुडी खोलादेखि सिङ्घिया खोलासम्मको सडक भत्काएर निर्माण नगरिएपछि त्यसले सास्ती बढाएको भन्दै ज्ञापनपत्र बुझाइएको हो। निर्माण कम्पनीले काम रोकेको भन्दै गाउँपालिका अध्यक्ष चौधरीलाई नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी र नेकपा (माओवादी केन्द्र) तथा उद्योग वाणिज्य सङ्घ कटहरीले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन्। 

उनीहरूले स्थानीय तहले आफ्नो समस्याका रूपमा बुझेर सडक निर्माणको कामलाई नियमित गराउन पहल लिनुपर्ने माग गरेका छन्। सडक तथा सडकका कल्भर्ट र पुल भत्काएर सम्पर्कविहीन भएका ठेकेदारलाई काममा फर्काउने र संभावित जोखिम पूर्वानुमान गरेर प्राथमिकीकरण माग गरिएको छ। 

सडक निर्माण गर्नुपर्ने भन्दै गठन गरिएको सङ्घर्ष समितिले तत्काल काम अगाडि नबढाए ढाट लगाएर सवारी आवागमन रोक्नेसम्मको चेतावनी दिएको छ। नागरिक सङ्घर्ष समितिका संयोजक मृत्युञ्जय झाले सर्वदलीय र सर्वपक्षीय हितका लागि सङ्घर्ष समिति गठन गरेर विकास निर्माणको कामका लागि दबाब दिने उद्देश्य राखिएको बताउनुभयो। 

कटहरी गाउँपालिका अध्यक्ष चौधरीले कटहरी गाउँपालिका क्षेत्रको जुडिखोला–सिङ्घिया चार किलोमिटर सडक निर्माणको ठेक्का श्रेष्ठ कन्स्ट्रक्सनले तीन वर्ष अगाडि लिएको जानकारी दिँदै काम रोकिनुको कारण सम्बन्धित कार्यालयमा बुझ्ने र यथाशीघ्र पहल लिने आश्वासन दिनुभएको थियो। मोरङ जिल्लाभित्र निर्माणाधीन हुलाकी राजमार्गको ठेकेदार कम्पनीको ढिलासुस्तीले नागरिकलाई सास्ती दिएको छ। ठेक्का सम्झौता गरेका निर्माण कम्पनीले भत्काएर लथालिङ्ग पारेपछि समयमै काम नगर्दा त्यसको असर नागरिकको दैनिक जीवनमा परेको हो। यस अगाडि विराटनगर–५ को गणेशचोक–केशलियाखण्डको ३ किलोमिटर १९५ मिटर सडकखण्ड स्थानीयले अवरोध गरेका थिए। 

हुलाकी राजमार्गअन्तर्गत सेवा क्षेत्रभित्रका स्थानीय तहका जनप्रतिनिधिले निर्माणमा गम्भीर लापरवाही भएको आरोप लगाउँदै आएका छन्। विराटनगर–रङ्गेली सडकखण्ड भत्काएर काम नगरेको भन्दै बारम्बार गुनासो पोख्ने गरिएको छ। 

मोरङमा हाल कुल ९९.५ किलोमिटर लम्बाइको हुलाकी राजमार्ग निमार्णको चरणमा छ। सातखण्डमा ठेक्का लगाएर ४४ किलोमिटरको रतुवा–केशलिया सडक, ३० किलोमिटरको गान्धी मनमोहन मार्ग, २२ किलोमिटरको कानेपोखरी–रङ्गेली सडक र ३.५ किलोमिटरको विराटनगर–केशलिया सडक पर्दछ। 

तराईको जीवनमार्ग मानिएको हुलाकी राजमार्ग विस्तारमा ठेकेदार कम्पनीले आफूखुसी मापदण्ड निर्धारण गर्ने गरेको गुनासो छ । मोरङमा सातखण्डमा ठेक्का लगाएर निर्माण भइरहेको रतुवा–केशलिया सडकखण्डमा गजुरमुखी मोतीदान जेभी, कालिका–मैनाचुली–वेदान्सी जेभी र श्रेष्ठ कन्स्ट्रक्सनसँग सम्झौता भएको छ। यसैगरी गान्धी मनमोहन मार्गमा कान्छाराम कन्स्ट्रक्सन तथा विराटनगर केशलिया रोड सडकखण्डमा देव एन्ड सायर भूमिले ठेक्का लिएको छ। 

विराटनगर–५ को गणेशचोकदेखि केशलियासम्मको ३.१९५ किलोमिटर सडक निर्माणको सम्झौता २०७८ माघ २ गते भए पनि काम अझै सुरु भएको छैन। त्यसको दबाबले वडाध्यक्ष सन्तोष न्यौपाने दैनिक कामकाज गर्न समेत समस्या परिरहेको बताउनुहुन्छ।  मोरङको रतुवा–केशलिया सडकखण्डअन्तर्गत रतुवामाईदेखि झुँगी टोलसम्मको  १६.५ किलोमिटर सडकखण्डको निर्माण सम्झौता भएको अढाई वर्ष भइसकेको छ। २०७६ कात्तिक २४ मा सम्झौता भएको सो सडक २०७९ कात्तिक २३ सम्म सक्नुपर्ने लक्ष्य छ तर हाल सो सडकको भौतिक प्रगति २५ प्रतिशत मात्र छ। ७९ करोड ११ लाख ३५ हजार मा सम्झौता भए पनि काम सुस्त भएको स्थानीयवासीको गुनासो छ। पीएस/गजुरमुखी/मोतीदान जेभीले ठेक्का लिएको सडकमा पछिल्लो अढाई वर्षमा टेवापर्खाल तथा कल्भर्ट निर्माण र आंशिक रूपमा माटो पुर्नेबाहेक बाँकी काम यथावत् छ। 

यसैगरी रतुवा–केशलिया सडकखण्डको बेतौनादेखि कटहरीको नयाँ बजारसम्मको ११.९ किलोमिटर सडकखण्डको अवस्था पनि सुस्त छ। २०७६ कात्तिक २४ मा सम्झौता भएको सडकको भौतिक प्रगति न्यून छ। चालु वर्षमा सक्नुपर्ने सडक ७८ करोडको लागतमा निर्माण सम्झौता भएकोमा १४ करोड भुक्तानी भइसकेको छ। 

यसैगरी झुँगी टोलदेखि बेतौनासम्मको ७.६ किलोमिटर सडकखण्ड भने कालोपत्रे भइसकेको छ। कटहरीदेखि विराटनगरसम्मको छ किलोमिटरमा १५ प्रतिशत, गान्धी मनमोहन मार्गअन्तर्गत पथरी–डाँसपुल र डाँसपुल–रङ्गेलीसम्मको ३० किलोमिटरको ४० प्रतिशत काम भएको छ। विराटनगरको गणेशचोक–केशलिया खोलासम्मको ३.१९ किलोमिटर सडकको भौतिक प्रगति ५ प्रतिशत मात्रै छ। 

तराई–मधेशका २१ जिल्ला जोड्ने बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना आर्थिक वर्ष २०६२÷६३ सालबाट सुरु भएको हो। पूर्व–पश्चिमहुँदै तराईका बस्तीहरूमा यातायातको सहज पहुँच विस्तार गर्ने लक्ष्यसहित सुरु भएको राजमार्ग विस्तारको कार्य २०७४/७५ मा सम्पन्न हुने अनुमान गरिएको थियो। पूर्वको केचनादेखि पश्चिममा कञ्चनपुरको दोधारा चाँदनीसम्मको भू–भागलाई जोड्ने यो सडक निर्माणको काम मोरङमा भने अलमलमा परेको देखिएको छ।